PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एमालेले तोक्यो स्थानीय तहका उम्मेद्‍वारको मापदण्ड



एमालेले तोक्यो स्थानीय तहका उम्मेद्‍वारको मापदण्ड
फोटो : रासस

काठमाडौँ : नेकपा एमालेले स्थानीय तह चुनावमा उठ्ने उम्मेदवारको मापदण्ड तय गरेको छ। ओली निवास बालकोटमा आज बसेको स्थायी कमिटी बैठकले उम्मेद्वारको मापदण्ड तय गर्दै महानगर र उपमहानगरमा केन्द्रले तथा नगर र गाउँमा सम्बन्धित जिल्ला कमिटीको परामर्शमा प्रदेश कमिटीले टुंगो लगाउने निर्णय गरेको हो। 

'महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखको टुंगो सम्बन्धित जिल्ला हुँदै प्रदेश कमिटीको सिफारिसमा केन्द्रले लगाउनेछ,' सचिव योगेश भट्टराईले भने, 'महानगरका वडाध्यक्षको टुंगो पनि केन्द्रले नै लगाउने गरी कार्यविधि बनेको छ।' 

सचिव भट्टराईले नगरपालिका र गाउँपालिका प्रमुख तथा उपप्रमुख उम्मेदवारको टुंगो सम्बन्धित गाउँ तथा नगर कमिटी, जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले लगाउने जानकारी दिए। 

एमालेले नगर तथा गाउँपालिकाका वडा अध्यक्ष र सदस्यको उम्मेदवार छनोट सम्बन्धी वडा कमिटीको सिफारिसमा गाउँ नगर कमिटीको राय सल्लाह लिएर टुंग्याउने अधिकार जिल्ला कमिटीलाई दिएको छ। 

भट्टराईका अनुसार पार्टीभित्र वरिष्ठता, निरन्तरता, पार्टीप्रति प्रतिवद्ध तथा पार्टीको नीति बोक्न सक्ने, अनुशासनको कारबाहीमा नपरेको र स्थानीय विकास निर्माणको नेतृत्व गर्न सक्ने स्थानीय स्तरमा लोकप्रिय व्यक्तिलाई उम्मेदवार हुने मापदण्ड बनाइएको बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell