PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एसिसी इमर्जिङ टिम्स कप : तीन नयाँ अनुहारसहित नेपालको लक्ष्य दोस्रो चरण



गोविन्दराज नेपाल

एसिसी इमर्जिङ टिम्स कप : तीन नयाँ अनुहारसहित नेपालको लक्ष्य दोस्रो चरण

काठमाडौं : एशोसिएट राष्ट्रको हैसियतमा नेपालले खेल्ने विश्वकपपछिको ठूलो प्रतियोगिता एसिया कप हो। तर एसिया कप खेल्न नपाउने नेपाल जस्ता राष्ट्रको लागि एसीसीले इमर्जिङ टिम्स एसिया कप नामको अर्को प्रतियोगिता आयोजना गर्दैछ।

पछिल्लो पटक सन् २०१३ मा इमर्जिङ कप सिंगापुरमा भएको थियो। त्यसको करिब चार वर्षपछि इमर्जिङ कप बंगलादेशमा आयोजना हुँदैछ। जहाँ एसियाका टेस्ट खेल्ने चार राष्ट्रका यू-२३ टीमसँगै नेपाल जस्ता एशोसिएट राष्ट्रहरुले प्रतिस्पर्धा गर्दैछन्।

यसपटक इमर्जिङ कपले नेपालको हकमा ठूलो अर्थ राख्न सक्छ। त्यसका विभिन्न कारणहरु छन्। 

पहिलो त नेपालको कप्तानी ज्ञानेन्द्र मल्लले गर्दैछन्। यसपटक टोलीमा परेका खेलाडीमध्ये तीन नयाँ अनुहार छन् भने चार खेलाडीले डेब्यु गर्न बाँकी छ। यस्तोमा ती खेलाडीले डेब्यु गर्ने सम्भावना बढी छ।

यस्तै प्रशिक्षक जगत टमाटाको पनि प्रशिक्षकको रुपमा यो पहिलो इमर्जिङ कप हुनेछ। पछिल्लो पटक नेपालले इमर्जिङ कप खेल्दा पुबुदु दासानायकेले प्रशिक्षण सम्हालेका थिए। 

२०१३ मा नेपाल समूह चरणको तीन वटै खेलमा पराजित भएको थियो। यसपटक भने टेस्ट नेशनको समेत सहभागिता रहने यस प्रतियोगितालाई नेपालले सकेसम्मको सदुपयोग गर्ने योजना बनाएको छ।

टेस्ट खेल्ने राष्ट्र भए पनि एसियाका चार क्रिकेट हस्ती भारत पाकिस्तान श्रीलंका र बंगलादेशको यू २३ टोली हुनेछ तर त्यसमा सिनियर टीम अथवा २३ वर्षमाथिका पनि चार खेलाडी राख्न पाउने प्रावधान रहेको छ।

चार टेस्ट राष्ट्रबाहेक प्रतियोगितामा नेपाल, अफगानिस्तान हङकङ र मलेसियाले प्रतियोगितामा आफनो दाबेदारी पेस गर्नेछन्।

एशोसिएट राष्ट्रहरुको टोलीमा पनि पूरै राष्ट्रिय खेलाडी समावेश छैनन्। यो पटक जुन नेपालको हकमा पनि लागू हनेछ।

नेपालका नियमित कप्तान पारस खड्का सहित स्पिनरहरु बसन्त रेग्मी, शक्ति गौचनसँगै फास्ट बलरद्वय सोमपाल कामी र करण केसी यसपटक नेपाली टिममा हुने छैनन्।

यसको विकल्पमा ज्ञानेन्द्र मल्लले नेपालको कप्तानी सम्हाल्नेछन्। यसबाहेक नेपाली टोलीमा यसपटक युवा खेलाडीहरुको बाहुल्य रहेको छ। जसमा तीन नयाँ खेलाडीले अन्तिम १५ मा स्थान बनाएका छन् भने अन्य दुई खेलाडीले पुनरागमन गरेका छन्।

प्रशिक्षक टमाटाले यसलाई सिनियरलाई रेस्ट दिँदै नयाँलाई पनि स्थान दिने नयाँ सिस्टमको थालनी समेत भएको बताए। 'नेपालको बेन्च बलियो भएन भन्ने गुनासो आइरहन्छ, त्यसैले नयाँ खेलाडीलाई थप एक्सपोजर दिएर राम्रो क्रिकेटर बनाउनेछौं,' उनले भने।
 
पछिल्लो पटक इमर्जिङ कप खेलेका पाँच खेलाडी मात्र यसपटक नेपाली टीममा छन्। त्यसमा कप्तान ज्ञानेन्द्र मल्लसँगै उपकप्तान शरद भेषावकर, विनोद भण्डारी, सागर पुन र अभिनाश कर्ण छन्।

दोस्रो चरण पुग्ला नेपाल?

प्रशिक्षक जगत टमाटा र कप्तान ज्ञानेन्द्र मल्लले नेपालको लक्ष्य बढीभन्दा बढी एक्पोजर हासिल गर्ने र दोस्रो चरणमा प्रवेश गर्ने बताएका छन्। नेपालले समूह चरणमा आयोजक बंगलादेशसँगै पकिस्तान र हङकङसँग खेल्नेछ।

'यो एउटा अवसर हो नेपालको लागि। नेपालले राम्रो टीमसँग खेल्ने चान्स पाएको छ,' प्रशिक्षक टमाटाले भने, 'हाम्रो समूहमा दुई वटा टेस्ट राष्ट्रसँगै हङकङ पनि छ। हामी बेटरभन्दा बेटर क्रिकेट खेल्छौं।' यदि समूह चरणमा दुई टीमलाई हराउन सक्यो भने दोस्रो राउण्ड प्रवेश गर्ने सम्भावना रहेको उनले बताए।

टमाटाले पारस र ज्ञानेन्द्रले राम्रो टीमसँग खेल्न पाएकै कारण राम्रो क्रिकेटर भएको उदाहरण दिँदै भने, 'यदि नयाँ खेलाडीले पनि राम्रो टिम र राम्रो प्लेयरसँग खेल्न पाए डेफिनेट्ली राम्रो हुन्छ।'

प्रशिक्षकको जस्तै छ कप्तान ज्ञानेन्द्रको भनाइ पनि। 'विपक्षी टेस्ट टिम भए पनि नेपालले हराउन नसक्ने भन्ने होइन। समूह चरणमा दुई खेल मात्र जित्न सक्यो भने पनि दोस्रो चरण पुग्न सक्छौं,' उनी भन्छन्, 'नयाँ खेलाडीलाई पनि मौका दिनुपर्छ जसले उनीहरुले पनि माथिल्लो लेभलमा कसरी खेल्ने भनेर सिक्छन्।' उनले टेस्ट राष्ट्रको टिमसँग खेल्दा खेलाडीले अनुभव र एक्सपोजर हासिल गर्न सक्ने बताए।

गत मार्च ११ र १३ मा डब्लुसिए अन्तर्गत घरेलु मैदानमा केन्यासँग खेलेको नेपालले लगत्तै इमर्जिङ कप खेल्नु परेकोले यसपटक धेरै तयारी गर्न पाएन। तर डब्लुसिएल अगाडी डेढ महिना तयारी गरेको कारण नेपालले राम्रो प्रदर्शन गर्ने प्रशिक्षक टमाटाले प्रतिक्रिया दिए।

कस्तो छ नेपाली टोली?

यसपटक नेपाली टोलीमा पुराना र नयाँ खेलाडीको मिश्रण रहेको छ।

ज्ञानेन्द्रले केन्याविरुद्ध घरेलु मैदानमा भएको दुवै खेलमा नेपालको नेतृत्व गर्दै आफ्नो कप्तानीमा पनि आफ्नो क्षमता देखाइसकेका छन्। यस्तै केन्याविरुद्ध राष्ट्रिय टोलीमा डेब्यु गरेका दीपेन्द्रसिंह ऐरीले पनि उत्कृष्ट प्रदर्शन गरे।

यसबाहके भेट्रान अलराउण्डर मेहबुब आलमले पनि केन्या विरुद्ध दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरे।

केन्यासँग खेलेको नेपाली टोलीमा तीनदेखि चार खेलाडीसम्म फेरबदल हुन सक्ने सम्भावना रहेको छ। स्पिनरहरु बसन्त र शक्ति तथा सोमपालको स्थानमा नयाँ खेलाडीले खेल्नेछन्। 

केन्याविरुद्ध ज्ञानेन्द्रसँगै ओपनिङ गरेका सुनिल धमलाले राम्रो खेल्न सकेका थिएनन्। त्यसैको विकल्प हुन सक्छन् पहिलो पटक टोलीमा अटाएका दीलिप नाथ र आसिफ शेख। तर केन्या सँगको खेलमार्फत नै सिनियर टीममा डेब्यु गरेका सुनिललाई थप मोकौ दिने संकेत प्रशिक्षक टमाटाले त्यसबेलै देखाएका थिए।

यसबाहेक सागर पुन, दीपेन्द्र सिंह ऐरी र शरद भेषावकरले नेपालको मिडर अर्डर सम्हाल्ने पक्का जस्तै छ। केन्याविरुद्ध विकेटकिपिङ सम्हालेका विनोद भण्डारीले नै निरन्तरता पाउने सम्भावना छ।
 
यस्तै प्रशिक्षक टमाटाले बसन्त र शक्तिको सट्टा स्पिनरमा भुवन कार्की र सुशन भारी रहेको बताए। सुशन यसअघि टीममा परे पनि डेब्यु गर्न भने पाएका छैनन्।

फास्ट बलिङमा पनि अभिनाश कर्णसँगै दिपेश श्रेष्ठ टोलीमा छन्। दीपेश यसअघि नेपालको यू १९ वर्ल्ड कप खेल्ने टीममा थिए तर खेल्न भने पाएका थिएनन्। यसबाहेक अलराउण्डर आलमले पनि फास्ट बलिङ गर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell