PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रसारणलाइन बने पनि बिजुली आएन, प्रतिबद्धताअनुसार वीरगन्ज लोडसेडिङमुक्त भएन



राधेश्याम पटेल

प्रसारणलाइन बने पनि बिजुली आएन, प्रतिबद्धताअनुसार वीरगन्ज लोडसेडिङमुक्त भएन

वीरगन्ज : विहारको रक्सौलबाट वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरको लागि प्रसारण लाइनको काम सम्पन्न भइसक्दा पनि भारतले विद्युत नदिएको कारण प्रसारण लाइनको ग्रीडमा बिजुली आएको छैन।

भारतबाट खरिद गरी ५० मेगावाट विद्युत ल्याउन निर्माण भएको रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनको शतप्रतिशत काम सकिएको योजना प्रमुख लक्ष्मीनारायण मुखियाले जानकारी दिए। काम सकिए पनि बिजुली नआएको उनको भनाइ छ। ‘यो हाम्रो लेभलको कुरा होइन, त्यसैले जानकारी हुँदैन,’ उनले भने, ‘यस विषयमा माथिल्लो निकायमा संवाद र सहमतिको प्रक्रिया जारी छ।'
 
रक्सौल–परवानीपुर र कुशहा–कटैया सुनसरीको लागि भारत सरकारको सहयोगमा सुरु गरिएको हो। करिब २१ करोडको लागतमा १३२ केभीको प्रसारण लाइन निर्माणकार्य गत वर्ष सुरु गरिएको थियो। रक्सौल–परवानीपुरको प्रसारण लाइनको निर्माण कार्य भारतको मोहन इनर्जी कर्पोरेशन कम्पनीले ठेक्का पाएको थियो। कर्पोरेशनका इन्जिनियर प्रिन्सकुमार सिंहले काम सम्पन्न भई परीक्षण पनि भइसकेको बताए।

रक्सौलबाट बाराको मटिआर्वा, पुरैनिया, प्रसौनी, रामपुरटोकनी गाविस हुँदै नेपाल विद्युत प्राधिकरणको भलुही सब स्टेशनमा १३२ हजार किलो भोल्टको ५० मेगावाट विद्युत खरिद गर्ने नयाँ ग्रीड थपिएको हो।
 
मन्त्रीको आश्वासन पाए पनि उद्योगी निराश
एक महिनाअघि ऊर्जामन्त्री जनार्दन शर्मा र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ वीरगन्ज आँउदा वीरगन्ज चाँडै लोडसेडिङ मुक्त हुने आश्वासन पाएका वीरगन्जका व्यापारी हाल निराश भएका छन्। उनीहरु वीरगन्जमा लोडसेडिङ बढेर १० घण्टा पुगेको बताउँछन्। 
 
वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोध गुप्ताले आश्वासन अनुसार बिजुली नआएको बताए। मन्त्री शर्मा र कार्यकारी निर्देशक घिसिङको आश्वासनपछि खुसी भए पनि अहिले अवस्था प्रतिकूल हुन थालेको उनले गुनासो गरे।

'नेपालकै सबैभन्दा बढी राजश्व संकलन हुने वीरगन्ज हालसम्म धेरै समस्याबाट जुध्दैछ, त्यसमध्ये पहिलो लोडसेडिङ हो,' उनी भन्छन्, 'लोडसेडिङले फलाम उद्योग, मदिरा उद्योग, सिमेन्ट उद्योग, पेन्ट्स, बहुराष्ट्रिय कम्पनी डाबर नेपाल, सूर्य नेपाल लगायत उद्योगहरु धराशायी बन्दै गएका छन्।'

चाँडै माथिल्लो तहमा पहल गरी वीरगन्जलाई लोडसेडिङमुक्त बनाउनुपर्ने वीरगन्जका व्यापारीहरुको माग छ। साथै, वीरगन्ज कोरिडोरको लागि हाल खरिद भइरहेको रक्सौल प्रसारणलाइनलाई राष्ट्रिय ग्रीडमा समावेश नगरी मात्र वीरगन्जकै लागि छुट्याउन व्यापारीहरुले आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell