PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

माओवादी निष्कर्ष- 'पुनर्वास गोलीकाण्डमा भारतले माफी माग्नुपर्छ'



पहिलोपोस्ट

माओवादी निष्कर्ष- 'पुनर्वास गोलीकाण्डमा भारतले माफी माग्नुपर्छ'
फोटो : रासस

काठमाडौं : नेकपा माओवादी केन्द्रले पुनर्वास काण्डमा भारतले माफी माग्नुपर्ने जनाएको छ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले कञ्चनपुरको सीमा पुनर्वासमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली प्रहारबाट ज्यान गुमाएका गोविन्द गौतमको स्मारक बनाउन पनि माग गरेको छ। 'नेपालको सार्वभौमिकता, अन्तर्राष्ट्रिय सीमा सम्बन्धी महासन्धि र प्रचलनविरुद्ध एसएसबीद्वारा नेपाली भूमिमा गरिएको गोली प्रहार बारेमा यो बैठक विरोध गर्दै नेपाल सरकारमार्फत भारत सरकारसँग आवश्यक कूटनीतिक पहल गरी बैठकको निर्णय कार्यान्वयन गर्न नेपाल सरकारसमक्ष माग गर्दछ,' बैठकको निर्णयमा भनिएको छ।

साथै बैठकले फागुन २३ गते सप्तरीमा प्रहरीको गोली लागि ज्यान गुमाएका पाँच जनाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। मृतक परिवारलाई उचित क्षतिपूर्ति दिन र सहिदको रुपपमा सम्मानका निम्ति सरकारसँग माग गरेको छ। फागुन २७ गते जाजरकोटमा भएको बस दुर्घटनामा परी ज्यान गुमाएका २७ जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैठकले घाइतेको उपचार व्यवस्था गर्न पनि माग गरेको छ।

राजविराज नगरपालिकालाई उपमहानगरपालिकामा र फत्तेपुर गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गर्नका लागि बैठकले सरकारसमक्ष माग गर्ने निर्णय गरेको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण बारे पनि छलफल भएको थियो। सांसद रामनारायण बिडारीले चीन भ्रमणको क्रममा नयाँ सम्झौता केही नगर्ने र पहिला भएको सम्झौतालाई कार्यान्वयन गर्न पहल गर्नुपर्ने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell