PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

आफ्नो योग्यता पनि मूल्याङ्कन गरियोस् भन्दै सर्वोच्च पुगेका डिआइजी अर्यालको रिट के हुँदैछ?



आफ्नो योग्यता पनि मूल्याङ्कन गरियोस् भन्दै सर्वोच्च पुगेका डिआइजी अर्यालको रिट के हुँदैछ?

काठमाडौं : प्रहरी महानिरीक्षक विवादमा सर्वोच्च अदालतले सरकारले गरेको नियुक्ति उत्प्रेषणद्वारा बदर गर्दै नयाँ नियुक्तिका लागि परमादेश दिएपछि आफ्नो योग्यता पनि मूल्यांकन गरियोस् भन्दै सर्वोच्च अदालत पुगेका डिआइजी प्रकाश अर्यालको रिट के हुँदैछ?

डिआइजी नवराज सिलवालले दायर गरेको रिटबारे फैसला आउने दिन नै उनको रिटको पनि पेशी तोकिएको थियो। तर न्‍यायाधीश हरिकृष्ण कार्कीको इजलासले त्यो दिन रिट हेर्न नभ्याउने भयो।

त्यसपछि उनको रिटको पेशी चैत १३ गतेका लागि तोकिएको छ। 

यसअघि आइतबार सर्वोच्चले अर्यालको रिट दर्ता गर्न अस्वीकार गरेको थियो। सरकारले तेस्रो वरियतामा रहेका जयवहादुर चन्दलाई प्रहरी प्रमुखमा नियुक्त गरेपछि उनको नियुक्तिमा प्रश्न उठाउँदै सर्वोच्चमा मुद्दा परेको थियो। अर्का डिआइजी नवराज सिलवालले वरिष्ठता मिचेर नियुक्त गरिएको भन्दै सरकारलाई विपक्षी बनाउँदै सर्वोच्चमा रिट हालेका थिए।

चन्दको नियुक्तिमा मुद्दा परेपछि सर्वोच्चले कार्य सम्पादन मूल्यांकन फाइल माग गरेको थियो।

इन्सपेक्टरमा अब्बल नम्बरसहित आफू नियुक्त भएको र त्यसै अनुसार माथिल्लो पदमा पनि नियुक्त हुँदै गएकाले प्रहरी प्रमुख नियुक्तिमा आफ्नो पनि मूल्यांकन हुनु पर्ने माग राख्दै अर्याल आइतबार बिहान अदालत पुगेका थिए। तर आइतबार दिनभर दर्ता नभएको रिट भोलिपल्ट सोमबार दर्ता भएको थियो। 

सर्वोच्चले कार्यसम्पादन मूल्याङ्कनमा डिआइजीमा बढुवा भइसकेपछिको चार वर्षमा नवराज सिलवाल एक नम्बर, प्रकाश अर्याल दुई नम्बर, बमबहादुर भण्डारी तीन नम्बर र जयबहादुर चन्द चौथो नम्बरमा रहेको उल्लेख गरेको छ।

प्रहरी नियमावलीको नियम ३० मा बढुवाका आधार स्पष्ट पारिएको छ -

३०. बढुवाका आधार : 
(१) बढुवा समितिले प्रहरी कर्मचारीलाई कार्यक्षमता वापत पाएको कूल अङ्कको आधारमा बढुवाका लागि सिफारिस गर्नेछ ।
(२) उपनियम (१) बमोजिम कार्य क्षमताको मूल्याङ्कन गर्दा देहाय बमोजिम बढीमा एकसय अङ्क दिइनेछ ।
(क) कार्यसम्पादन मूल्याङ्कन वापत – ४० अङ्क
(ख) ज्येष्ठता वापत – २० अङ्क
(ग) भौगोलिक क्षेत्रमा काम गरेको अनुभव वापत – ८ अङ्क
(घ) शैक्षिक योग्यता वापत – १० अङ्क
(ङ) तालीम वापत – ७.५ अङ्क
(च) चुनौतीपूर्ण वा विशेष जिम्मेवारी वापत – ५ अङ्क
(छ) विभूषण (मानपदवि, अलंकार तथा पदक) वापत – २ अङ्क
(ज) बढुवा समितिले दिने – ७.५ अङ्क 

सर्वोच्चको फैसलामा जेष्ठता र कार्यसम्पादन दुवैमा सिलवाल एक नम्बरमा रहेको उल्लेख छ। बढुवाका आधारमा यो ६० अङ्क हो। फैसलामा शैक्षिक योग्यता, तालिम, विभुषण र प्रशंसामा पनि जयबहादुर चन्द भन्दा सिलवाल अगाडि रहेको भनी चन्द र सिलवालको मात्र तुलना गरिएको छ। अर्यालले यी सबवापत आफ्नो पनि मूल्याङ्कन हुनुपर्ने भन्दै रिट दायर गरेका हुन्।  अब यस विषयमा सर्वोच्चले चैत १३ गते सुनुवाई गर्नेछ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell