PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

औद्योगिक कारखानामा किन हुन्छ आगलागी?



पहिलोपोस्ट

औद्योगिक कारखानामा किन हुन्छ आगलागी?

अनन्तराज न्यौपाने
विराटनगर :
यस वर्ष मोरङको औद्योगिक क्षेत्रमा आगलागीका दुई भयानक दुर्घटना भए।

टङ्कीसिनवारीको दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्स नामको कारखानामा कात्तिक २४ गते साँझ ६ बजेदेखि भीषण आगलागी भयो। पूर्वाञ्चलका विभिन्न स्थानका सात दमकललाई यो आगो निभाउन सात दिन लाग्यो।

उद्योगका सञ्चालक मोती दुगडका अनुसार आगलागीबाट औद्योगिक कच्चा पदार्थ र तयारी मालसमेत गरी ३० करोडको नोक्सानी भएको छ। 

टङ्कीसिनवारीमै अर्को आगलागी चैत ४ गते भयो। विराटनगरको म्याजिक ग्रुपको सञ्चालनमा रहेको जयश्री पियु टेक, जयश्री कम्पनी र आनन्द सप्लायर्स गरी तीन उद्योगका नाममा रहेका तीन कारखाना आगलागीबाट ध्वस्त भए।

यो आगलागीबाट कारखाना र मेसिनमात्र नभई दुई वटा मालवाहक गाडी, करोडौँका कच्चा पदार्थ र तयारी मालसमेत गरी ४५ करोड बराबरको भस्म भएको म्याजिक ग्रुपका सूचना प्रमुख महेश बाहेतीले बताए।

आगलागीको कारण एउटै ‘विद्युत् सर्ट’
दुवै उद्योगका सञ्चालकले आगलागीको कारण विद्युत् सर्ट नै भएको बताएका छन्।

तर कारखाना क्षेत्रमै काम गरिरहेका विशेषज्ञ इन्डस्ट्रियल इन्जिनियर अच्युत खतिवडा भन्छन्, ‘कारखानाका मालिकले होस पुर्याउने हो भने उद्योगमा विद्युत् सर्ट हुँदैन। प्राविधिक पक्षलाई चुस्त राखिएको छ भने कहिल्यै विद्युत् सर्ट हुँदैन।’

किन हुन्छ विद्युत् सर्ट?
इन्जिनियर खतिवडाका अनुसार कमसल खालका तार र स्विच गियरको प्रयोग हुनु सर्ट हुनुको एउटा कारण हो।

कारखाना यस्तो ठाउँ हो, जहाँ हजारौँ वाटको विद्युत्को प्रवाह भइरहन्छ तर त्यो प्रवाहलाई थेग्ने खालका स्विच गियर र तारको प्रयोग गरिएको हुँदैन।

अर्को कारण, वस्तुको विक्री र लोकप्रियतासँगसँगै उद्योगले उत्पादन बढाउँछ। यसका लागि उपकरणहरू थपिन्छन् तर विद्युत् क्षमता थपिन्न। तार र स्विचको भार क्षमता पहिलेकै जस्तो हुन्छ तर विद्युत् प्रवाह बढी हुन्छ। यस्तो अवस्थामा पनि सर्ट हुन्छ र आगलागीको खतरा आउँछ।

‘अर्को मुख्य कुरा मेन्टेनेन्स र रेगुलर मोनिटरिङ छैन’, इन्जिनियर खतिवडा भन्छन्, ‘मुसाले भित्रभित्र तार खाइसकेको हुन्छ। तर उद्योगले विशेषज्ञलाई ल्याएर कारखाना ‘भिजिट’ नगराएको महिनौँ भइसकेको हुन्छ। वायरिङमा प्रयोग गरिएका कुन सामान पुराना भए भन्नेतर्फ ध्यान नै दिइएको हुन्न। कारखानाको विद्युतीकरणको छुट्टै लगबुक हुँदैन।’

उनका अनुसार धेरै कारखानाले अर्थिङ गरेका छैनन् र गरे पनि विशेषज्ञ नराखी सामान्य मिस्त्रीका भरमा झारा मात्र टारेका छन्। थ्री पिन टपको सिद्धान्त भनेकै एउटा प्वाल अर्थिङका लागि हो। तर नाम मात्रको अर्थिङ गरेका कारण विद्युत् सर्ट र आगलागीको सम्भावना धेरै हुन्छ।

सिलिन्डर त राखिएको हुन्छ तर...
सबैजसो कारखानाका भित्ता–भित्तामा अग्नि नियन्त्रक सिलिन्डर त राखिएका हुन्छन्। दुगड र म्याजिक ग्रुप दुबैका कारखानामा सिलिन्डर राखिएका थिए तर तिनले काम गरेनन्।

सम्बद्ध स्रोतका अनुसार यी सिलिन्डर वीमा कम्पनीलाई देखाउन मात्र राखिएका हुन्। यस्ता अग्नि नियन्त्रक सिलिन्डर नराखी वीमा कम्पनीले कतिपय केसमा वीमा नै गर्दैनन्।

दुगडको स्वीकारोक्ति थियो, ‘ठूलो आगलागीमा यस्ता सिलिन्डरले काम गर्दा रहेनछन्।’

फोमले आगो निभाउने दमकल 
मोरङका उद्यमीले भने फोमले आगो निभाउने दमकलको माग गरेका छन्। मोरङ व्यापार सङ्घका अध्यक्ष एवम् सांसद् पवनकुमार शारडा र उद्योग सङ्गठनका अध्यक्ष मुकेश उपाध्यायले सरकारले औद्योगिक क्षेत्रमा फोमबाट आगो निभाउने दमकलको व्यवस्था गर्नुपर्ने माग गरेका हुन्।

फोमबाट आगो निभाउने दमकल विराटनगर विमानस्थलमा तैनाथ भए पनि यसबाट काम लिन नसकिने स्पष्ट भएको छ।

कात्तिक महिनामा दुगडको कारखानामा आगलागी हुँदा विमानस्थलबाट ल्याइएको दमकल सञ्चालन गर्न सक्ने दक्ष जनशक्ति नै थिएनन्। दमकलको पाइपबाट उत्तरतिर फोम फ्याँक्न खोज्दा दक्षिणतिर जान्थ्यो।

म्याजिक ग्रुपको कारखानामा भएको आगलागीमा भने विमानस्थलले दमकल दिन मिल्दैन भनेर आफ्नो कमजोरी नै लुकायो।

फोम फ्याँक्ने दमकल नै किन?
दुगडको कारखानामा गोदामभित्र प्रज्वलनशील भनिने प्लास्टिकका सामानको थुप्रो बढी थियो। त्यस्तै म्याजिक ग्रुपको कारखानामा आगो लाग्दा पनि प्रज्वलनशील प्रकारकै कच्चा पदार्थ र तयारी जुत्ताचप्पल थिए।

प्लास्टिक लगायतका पेट्रोलियम पदार्थ र जुटका सामानमा आगो लाग्दा पानी छ्याप्यो भने आगो झन् बढ्ने समस्या देखिएको छ।

इन्जिनियर खतिवडा भन्छन्, ‘आगो लागेका ठाउँमा पाइपबाट बेस्सरी पानी छ्याप्ता पानीभित्र भएको अक्सिजन निस्कन्छ। अक्सिजन आफैँमा ज्वलनशील तत्त्व हो। त्यसैले यस्ता कारखानामा आगो लाग्यो भने पानी हैन फोम फ्याँक्ने दमकलबाट निभाउनुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell