PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

किन बस्न सकेन हिजो मन्त्रिपरिषद् बैठक? दुई उपप्रमको 'हैसियत'ले ल्यायो विवाद



रमेश वाग्ले

किन बस्न सकेन हिजो मन्त्रिपरिषद् बैठक? दुई उपप्रमको 'हैसियत'ले ल्यायो विवाद

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान १० बजेका लागि मन्त्रिपरिषद बैठक डाकेका थिए। तर उनले बैठक एकाएक स्थगित गरी साँझ पाँच बजेका लागि डाके। तर साँझ पाँच बज्नै लाग्दा प्रधानमन्त्री प्रचण्डले पुनः बैठक स्थगित गरे।

बिहान १० बजेका लागि मन्त्रिपरिषद बैठक डाकिएको र पछि पाँच बजेका लागि सारेको जानकारी आएपनि त्यसपछि कहिले बस्ने जानकारी बिना नै बैठक स्थगित भएको सूचना आएको महिला बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले पुष्टि गरे।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले पनि बैठक स्थगित भएको मात्र जानकारी भएको भन्दै कारणबारे सरकारका प्रवक्तासँग सोध्न आग्रह गरे। प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रबहादुर कार्कीले भने बैठक स्थगित भएको र अर्को बैठक बस्ने मिति तय भइनसकेको जानकारी मात्र दिए। 

स्रोतका अनुसार त्यसरी बैठक पटक-पटक सर्नुमा प्रधानमन्त्री आफैले दिएको उपप्रधानमन्त्रीको वरियता कारण थियो। अघिल्लो बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा दोस्रो वरियतामा रहेका कांग्रेस नेता विमलेन्द्र निधि भारत भ्रमणमा रहेका बेला बिना सल्लाह कमल थापालाई दोस्रो वरियतामा राखेका प्रधानमन्त्री प्रचण्ड त्यसपछि आफै समस्यामा छन्।
 
भारत भ्रमणबाट फर्किएलगत्तै वरियताका विषयमा असहमति राख्तै सरकार गठन हुँदाको सहमति पालना नभएर सरकारै छोड्ने चेतावनी दिएका थिए। गत शनिबार भारतबाट फर्किएका निधिले थाहा पाउनासाथ विमति राखेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाइट भने सच्याइएको छैन। 

शनिबार नै प्रचण्डको निर्णयप्रति असहमत भएका निधिले सोमबारसम्म पनि प्रचण्ड थापालाई नै दोस्रो वरियता दिने पक्षमा देखिएपछि असहमति सार्वजनिक गरेका थिए। 

त्यही कारण आजदेखि सुरु हुने चीन भ्रमणका विषयमा निर्णय लिन तथा कार्यवाहक दिन डाकिएको बैठक प्रधानमन्त्रीले पटक पटक स्थगित गर्नुपरेको हो। 

बुधबार मन्त्रिपरिषद बैठक राख्नका लागि नै मात्र प्रचण्डले राप्रपा अध्यक्ष समेत रहेका आफ्नै उपप्रधानमन्त्री कमल थापा र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरे। थापाले आफू निधिभन्दा पहिले उपप्रधानमन्त्री भइसकेको भन्दै स्वतः आफ्नो हैसियत माथि हुने जिकिर गरेपछि प्रधामन्त्री दाहालले देउवालाई भेटेका थिए। 

तर देउवाले दलको हैसियतसँग नेताको हैसियत तुलना गर्न सुझाव दिदै तेस्रो चौथो हैसियत लिएर कांग्रेस सरकारमा नबस्ने बताएपछि दाहालले साँझको बैठक समेत स्थगित गरेको उनी निकटका एक सहयोगीले जानकारी दिए।
 
'कांग्रेसले तेस्रो हैसियत स्वीकार गरेन, देउवाजी त प्रधानमन्त्रीसँग अलि रिसायर नै कुरा गर्नुभयो,' ती सहयोगीले भने, 'त्यसैले प्रधानमन्त्रीले अप्ठेरो महसुस गर्नुभएको छ।'  

'आज किन बैठक स्थगित भयो त थाहा भएन, तर उपप्रधान तथा गृहमन्त्री निधिले वरियता फेर्ने विषय सहमति विपरित भएको भन्दै पहिले नै विमति राख्नुभएको थियो,' निधिका संचार विज्ञ रामजी दाहालले भने, 'आज सभापति देउवासँग भेटेको विषय भने जानकारी छ कारण थाहा भएको छैन।' उनले निधिले पहिले नै विमति राखिसकेकाले फेरि राख्नुपर्ने आवस्यकता नरहेको बताए। 

पहिले उपप्रधानमन्त्री भइसकेका आधारमा कमल थापाले दोस्रो वरियता मागे पनि सरकारमा नजिर भने फरक बसिसकेको छ। विगतमा उपप्रधानमन्त्री बनिसकेका माओवादी नेता कृष्णबहादुर महरा पहिलोपटक उपप्रधानमन्त्री बनेका निधि भन्दा पछि अर्थात् सरकारमा तेस्रो वरियतामा छन्। निधि निकटहरुले निधिले विगतमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेको भन्दै अब अर्को सिनियर नहुने दावी गर्दै आएका छन्। 

चीन भ्रमण निर्णय मुख्यसचिवलाई मात्र उठाउन लगाउने संभावना
स्रोतका अनुसार चीन भ्रमणका विषयमा प्रधानमन्त्रीले मुख्य सचिवलाई टिप्पणी उठाउन लगाएर एकल निर्णय गर्ने र पछि त्यसलाई जानकारी गारउन पनि सक्नेबारे पनि मरामर्श गरेका छन्। उनले कर्मचारी तहबाट त्यस्तो सुझाव पाएका हुन। वरियता विवाद मिलाउन नसके उनले त्यसरी निर्णय गरेर जानसक्नेबारे पनि छलफल भएको छ। 

तर उनले कार्यवाहक कसलाई छोड्ने भन्ने विषयमा भने निर्णय लिइ नसकेको उनका सहयोगीले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell