PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आइजी नियुक्ति लम्बियो, मन्त्रिपरिषद् बैठक स्थगित



आइजी नियुक्ति लम्बियो, मन्त्रिपरिषद् बैठक स्थगित

काठमाडौँ :  सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षक तत्काल नियुक्त गर्न सरकारका नाममा मंगलबार परमादेश दिए पनि नियुक्ति प्रक्रिया लम्बिने देखिएको छ। 

आज साँझ ५ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएसँगै महानिरीक्षक नियुक्ति तत्काल नहुने देखिएको हो। 

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सुरेन्द्रबहादुर कार्कीले आजको मन्त्रिपरिषद् बैठक स्थगित भएको जानकारी दिँदै अर्को बैठक बस्ने मितिबारे अहिलेसम्म तय नभएको जानकारी पहिलोपोस्टलाई दिए। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि बिहीबारदेखि चीन भ्रमणमा जाँदैछन्। बोआओ फोरममा सहभागी हुन गएका प्रधानमन्त्री चैत १६ गते बल्ल फर्किने छन्। 

महानिरीक्षक नियुक्ति प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने मन्त्रिपरिषद्को बैठकले गर्ने व्यवस्था छ। उनको अनुपस्थितिमा महानिरीक्षक नियुक्तिको प्रक्रिया अघि बढ्ने देखिँदैन। 

यसअघि फागुन १ गते मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा डिआइजी जयबहादुर चन्दलाई बढुवा गर्ने निर्णय गरेको थियो। तर सर्वोच्च अदालतले निर्णय भएको केही घण्टामा नै अन्तरकालीन अन्तरिम आदेश दिएर निर्णय कार्यान्वयन गर्न रोक लगाएको थियो। 

मंगलबार सर्वोच्चले चन्दलाई नियुक्त गर्ने सरकारको निर्णय बदर गर्दै नयाँ नियुक्तिको प्रक्रिया अघि बढाउन सरकारका नाममा परमादेश जारी गरेको थियो। सर्वोच्चको फैसलामा नवराज सिलवाललाई कार्यसम्पादन मूल्याङ्कनमा एक नम्बरमा रहेको र वरिष्ठतामा पनि एक नम्बरमा रहेको व्याख्या छ। 

सर्वोच्चको फैसलालगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटी तत्काल प्रहरी महानिरीक्षक नियुक्त नगर्न आग्रह गरेका थिए। दुई नेताबीचको भेटमा सर्वोच्चको फैसला र प्रहरी नियमावलीलाई सूक्ष्म रुपमा केलाएर कानुन व्यवसायीहरुको सल्लाहपछि मात्र आगामी कदम चाल्ने सहमति भएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell