PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रतिपक्षी गठबन्धन संकटमा, एमालेले धोका दिएको माले र नेमकिपाको आरोप



मनोज सत्याल

प्रतिपक्षी गठबन्धन संकटमा, एमालेले धोका दिएको माले र नेमकिपाको आरोप

काठमाडौँ : प्रमुख राजनीतिक दलहरुबीच राष्ट्रिय दलको मान्यताका लागि समानुपातिक तर्फ तीन प्रतिशत मत र प्रत्यक्षतर्फ एक सिट ल्याउनुपर्ने सहमति भएपछि एमाले नेतृत्वको प्रतिपक्षी गठबन्धन संकटमा परेको छ।

प्रमुख राजनीतिक दलहरुबीच राजनीतिक दल सम्बन्धी कानुनमा तीन प्रतिशत थ्रेसहोल्ड राख्ने सहमति जुटेको हो। सहमतिसँगै प्रतिपक्षी गठबन्धन संकटमा धकेलिएको हो।

संविधानसभाको दोस्रो निर्वाचनको मत परिणामलाई आधार मान्ने हो भने एमाले नेतृत्वको प्रतिपक्षी गठबन्धनमा रहेका बाँकी ८ दलको राष्ट्रिय मान्यता गुम्नेछ।

गठबन्धनमा नेकपा एमाले, नेकपा माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) नेपाल, बहुजन शक्ति पार्टी, नेपा: राष्ट्रिय पार्टी र मधेस समता पार्टी नेपाल छन्। 

आफ्नो अस्तित्व नै संकटमा पार्ने अजेण्डाको नेतृत्व गरेको भन्दै उनीहरुले गठबन्धन छाड्ने धम्की दिएका हुन्।

'एमालेले थ्रेसहोल्डको विषयमा नेतृत्व गरेको छ। संविधानसभा निर्वाचनमा समेत नभएको व्यवस्थालाई अहिले राख्न लागिएको छ। हामी यसको संसदमा विरोध गर्छौँ। वेल घेराउ गर्छौँ', नेकपा मालेका प्रमुख सचेतक अइन्द्रसुन्दर नेम्वाङले पहिलोपोस्टसित भने।

उनले एमालेसँगको गठबन्धन टुट्न सक्ने चेतावनी समेत दिए।

'एमालेले थ्रेसहोल्डको विषयमा नेतृत्व गरेकाले गठबन्धनप्रति नै प्रश्न खडा भएको छ', नेम्वाङले भने, 'हामीलाई सिध्याउने गरी थ्रेसहोल्डमा सहमति गरिएको छ।'

नेपाल मजदुर किसान पार्टीले पनि थ्रेसहोल्ड राख्ने विषयले एमालेसँगको गठबन्धन टुट्ने चेतावनी दिएको छ। 'अब यो थ्रेसहोल्डबाट कुरा नमिल्न थालेपछि त असर सबै ठाउँमा पर्छ नि', सुवालले भने, 'थ्रेसहोल्ड भनेको निरंकुश र तानाशाही व्यवस्था हो।'

सुवालले साना दलहरुसँग मिलेर संसदको राज्य व्यवस्था समिति र संसदमा पनि विरोधका लागि तयारी भइरहेको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell