PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मतदानस्थल धमाधम तोकिँदै : स्याङ्जामा १९९, पर्वतमा ७४ र चितवनमा १६१ मतदानस्थल



पहिलोपोस्ट

मतदानस्थल धमाधम तोकिँदै : स्याङ्जामा १९९, पर्वतमा ७४ र चितवनमा १६१ मतदानस्थल

वालिङ : आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि स्याङ्जामा एकसय ९९ वटा मतदानस्थल निर्धारण गर्न सिफारिस गरिएको छ। 

पाँच नगरपालिका र ६ गाउँपालिकाअन्तर्गत ९७ वडा रहेको जिल्लामा एकसय ९९ मतदानस्थल बनाउन निर्वाचन आयोगमा सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका निर्वाचन अधिकृत गुरुप्रसाद मरासिनीले बताए। २०७० मा संविधानसभाको निर्वाचनको बेला जिल्लामा एकसय ८९ मतदानस्थल कायम गरिएकोमा यसपटक भने दशवटा थप गरेर सिफारिस गरी पठाइएको मरासिनीले बताए। 

यसैगरी, मतदान केन्द्र सिफारिस समितिले आगामी वैशाख ३१ गते हुने निर्वाचनका लागि पर्वत जिल्लामा ७४ वटा मतदानस्थल तोकेको छ। 

पर्वतका दुई नगरपालिका र पाँच गाउँपालिकामा गरी ७४ मतदान स्थल तोकिएको हो । मतदान केन्द्र भने निर्धारण गर्ने तयारीमा रहेको जिल्ला निर्वाचन कार्यालय पर्वतले जनाएको छ। सबैभन्दा बढी कुश्मा नगरपालिकामा १७ र फलेवास नगरपालिकामा १४ वटा मतदानस्थल तोकिएको छ। 

त्यस्तै, जलजला गाउँपालिकामा १२, मोदी गाउँपालिकामा १० र विहादी गाउँपालिकामा सातवटा मतदानस्थल तोकिएको छ। यसैगरी, पैँयु गाउँपालिकामा सात, महायिशला गाउँपालिकामा पनि सातवटै मतदानस्थल तोकिएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए। 

२०७० सालको निर्वाचनमा ६८ वटा मतदानस्थल भएपनि यस वर्ष ६ वटा बढी निर्धारण गरिएको बताइएको छ। 

नगरपालिका र गाउँपालिकामा पायक पर्ने स्थानमा मतदानस्थल तोकिएको र मतदाताको सङ्ख्याका आधारमा मतदान केन्द्र तोक्ने तयारी भइरहेको कार्यालयले जानकारी दिएको छ। 

पर्वतमा करिब एकलाख मतदाता स्थानीय तहको निर्वाचनमा सहभागी हुने भएका छन्। जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार ९९ हजार ६ सय ७० मतदाताले निर्वाचनमा भाग लिने भएका छन्। 

स्थानीय तहको निर्वाचनका लागि पर्वतमा १६ वटा राजनीतिक पार्टीले निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन्। अघिल्लो निर्वाचनमा पर्वत क्षेत्र नं १ मा नेपाली काँग्रेस र क्षेत्र नं २ मा नेकपा (एमाले)ले विजयी हासिल गरेको थियो। स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा पर्वतमा चहलपहल सुरु भएको छ। राजनीतिक दल चुनावी प्रचारप्रसारमा लागेका छन् भने निर्वाचन कार्यालयले पनि आवश्यक तयारी भइरहेको जानकारी दिएको छ। 

यस्तै स्थानीय निकायको निर्वाचनका लागि चितवन जिल्लामा यस वर्ष २० वटा मतदान केन्द्र थपेर कुल मतदान केन्द्रको संख्या एकसय ६१ बनाइएको छ। 

संविधानसभाको दोस्रो निर्वाचनमा जिल्लामा कुल एकसय ४१ वटा मतदान केन्द्र थियो। यो पटक केन्द्र थपेर एकसय ६१ बनाइएको जिल्ला निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिए। 
उनका अनुसार चितवनको भरतपुर महानगरपालिकामा ६५ वटा मतदान केन्द्र तोकिएको छ । यस्तै, रत्ननगर नगरपालिकामा २१, खैरहनीमा १७, राप्ती नगरपालिकामा १८, कालिका नगरपालिकामा ११ र इच्छाकामना गाउँपालिकामा १४ वटा मतदान केन्द्र बनाइएको ढकालले जानकारी दिए। पहिलेका गाविस र नगरपालिका विभिन्न क्षेत्रमा गाभिएपछि सोही अनुसार थपेर केन्द्र बनाइएको हो। 

यसपटक भरतपुर महानगरमा पाँच, रत्ननगर नगरपालिकामा एक, खैरहनीमा चार, राप्तीमा चार, कालिकामा एक र इच्छाकामना गाउँपालिकामा पाँचवटा मतदान केन्द्र थपिएको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । माडी नगरपालिकामा भने साबिककै १५ वटा केन्द्र तोकिएको छ। 

जिल्लामा तीनलाख १५ हजार नौसय ३७ मतदाता रहेका छन्। २०७० सालमा दुईलाख ७३ हजार आठसय तीन मतदाता थिए। अब मतदाता शिक्षाका लागि तयारी सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख ढकालले जानकारी दिए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell