PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भैरहवा एयरपोर्ट निर्माणमा अवरोध पुर्‍याउने झलनाथ पुत्रको कम्पनीलाई हटाइयो*



उमेश पौडेल

भैरहवा एयरपोर्ट निर्माणमा अवरोध पुर्‍याउने झलनाथ पुत्रको कम्पनीलाई हटाइयो*

काठमाडौं : गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदारले ‘सब-कन्ट्र्याक्टर’बाट एमाले नेता झलनाथ खनालका छोराको कम्पनीलाई हटाएको छ। कबुल बमोजिम काम नगरेपछि चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएसन कन्सट्रक्सनले झलनाथ पुत्र निर्भिक चित्रकार खनालको कम्पनी नर्थ वेष्ट नेपाल इन्फ्रा प्रालिलाई ‘सब-कन्ट्र्याक्टर’बाट हटाएको हो।

आइतबार, सोमबार र मंगलबार चिनियाँ कम्पनी नर्थवेष्ट सिभिल एभिएसनका उपाध्यक्ष वान जीअन दयाङ, दाता एसियाली बिकास बैंक (एडिबी), नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रतिनिधि, पर्यटन मन्त्रालयका प्रतिनिधि तथा निर्भिकबीच वार्तापछि ‘सब-कन्ट्र्याक्टर’ हटाउने निर्णय भएको भैरहवा विमानस्थलका आयोजना प्रमुख ओम शर्माले बताए।

‘सब-कन्ट्र्याक्टर’को रुपमा निर्भिकको कम्पनीले गिट्टी, बालुवा लगायत निर्माण सामग्री सप्लाइको जिम्मा लिएको थियो। त्यस बापत पैसा लिए पनि कबुल बमोजिम सामान उपलब्ध नगराएको चिनियाँ ठेकेदारले गुनासो गर्दै आएको थियो।

'चिनियाँ निर्माण कम्पनीले लोकल सामाग्री सप्लायरलाई हटाएको छ र सप्लायर लगायतको सबैकाम आफै गर्छु भनेको छ,' शर्माले भने, 'कन्सल्ट्यान्ट राखेर सम्पूर्ण हरहिसाब गर्ने र दुबै पक्षको लेनदेन फरफारक गर्ने लिखित सहमति भएको छ।'

नेपाली कम्पनीलाई हटाएपछि चिनियाँ ठकेदार कम्पनीले स्वतन्त्र रुपमा काम गर्न सक्ने भएको छ ।

सहमित अनुसार पाँच दिनभित्र नेपाली कम्पनीको सबै काम र उ सँगको लेनदेनको हरहिसाब फाइनल गर्नु पर्नेछ। त्यसपछि सात दिन भित्र लेनदेन गरिसक्नुपर्ने शर्माले बताए।

‘चिनियाँ ठेकेदारले मार्च ३० देखि विमानस्थल निर्माणको काम पुनः सुचारु गर्नुपर्ने सम्झौता समेत प्राधिकरणसँग गरेको छ,' उनले भने।

निर्भिकको कम्पनीले १० करोड रुपैयाँ भुक्तान नदिएको भन्दै एक सातादेखि काम अवरुद्ध गरेको थियो। कम्पनीले आफुसँग भएको सम्पुण हेभि इक्युप्मेन्टलाई चिनयाँ ठेकेदारको गेटमा राखेर आवागमनै ठप्प पारेको थियो।

यसअघि चिनियाँ कम्पनीलाई प्राधिकरणले पहिलोपटक ५३ करोड रुपैयाँ र दोस्रोपटक ७८ करोड रुपैयाँ गरि कुल एक अर्ब ३१ करोड रुपैयाँ बैंक ग्यारेन्टी मार्फत भुक्तानी दिएको थियो। चिनियाँ कम्पनीले पनि नेपाली ‘सब-कन्ट्र्याक्टर’लाई  पटकपटक गरी ७६ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ।

चिनियाँ ठेकेदारले उक्त रकम बराबरको निर्माण सामग्री निर्भिकको कम्पनीले उपलब्ध नगराएको भन्दै थप रकम दिन अश्विकार गरेको थियो। तर, निर्भिकको कम्पनीले १० करोड रुपैयाँ चाहिने भन्दै काम ठप्प पार्योभ। सोही कारण कम्पनीका उपाध्यक्ष आइतबार नेपाल आएका थिए।

निर्भिकको कम्पनीले भने चिनियाँ ठेकेदारले रकम नदिँदा आफ्ना मजदुरलाई पारिश्रमिक तथा हेभि इक्युप्मेन्टको भाडा तिर्न नसकेर काम रोक्नु परेको दाबी गरेको थियो।

मार्च ३० सम्म काम रोकिने
‘सब-कन्ट्र्याक्टर’ले काम ठप्प पार्दा विमानस्थल निर्माणका लागि निर्धारित समयसीमा पछि सर्ने अवस्था आएको छ। चिनियाँ ठेकेदार कम्पनीले मार्च महिनाको अन्तसम्म ४० प्रतिशत काम सम्पन्न गर्नु पर्ने शर्त थियो। तर, अहिलेसम्म २५ प्रतिशत मात्र सम्पन्न भएको छ। यसले समयमा काम सम्पन्न हुनेमा आशंका बढाएको शर्माले बताए।

ठेकेदार र ‘सब-कन्ट्र्याक्टर’को हर हिसाब मिलाउने क्रममा अझै दुई साता काम रोकिनेछ। मार्च ३० पछि पनि काम सुरु नगरे चिनियाँ कम्पनीका बारेमा समेच प्राधिकरणले सोच्ने अवस्था आउने शर्माले बताए।
 
बिना सम्झौता ‘सब-कन्ट्र्याक्टर’ नियुक्त
चिनियाँ ठेकेदारले कुनै औपचारिक सम्झौता बिना ‘सब-कन्ट्र्याक्टर’ नियुक्त गरेको थियो। नेकपा एमालेको शीर्ष नेतृत्वको प्रत्यक्ष हस्तक्षेपमा झलनाथ पुत्रको कम्पनी ‘सब-कन्ट्र्याक्टर’ चयन भएको थियो। दाता एडिबीले समेत अन्तर्राष्ट्रिय मूल्य र मान्यता बिपरित ‘सब-कन्ट्र्याक्टर’ नियुक्त गरेको कारण काममा बाधा उत्पन्न भएको भन्दै सरकारलाई चिट्ठी लेखेको थियो। विधि नपुर्यागई नियुक्त ‘सब-कन्ट्र्याक्टर’ तत्काल हटाउन उसले माग गरेको थियो।

यसअघि प्राधिकरणले समयमा तोकिएजति काम गर्न नसकेको भन्दै चिनियाँ कम्पनीलाई चार पटक 'नोटिस अफ करेक्ट' लेखिएको चेतावनी दिइसकेको छ। आगामी दिनमा चिनियाँ कम्पनीले समयअनुसार काम अगाडि बढाउन नसके ऊसँग पनि ठेक्का तोड्ने प्रशस्त आधारहरु भइसकेको शर्माले बताए।

(सच्याइएको : यसअघि शीर्षकमा कम्पनी खारेज भएको शब्द परेकोमा संशोधन गरी हटाइएको राखिएको छ। कम्पनीसँगको सम्झौता खारेज भएको हो, कम्पनी खारेज भएको हैन। -स‌. )



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell