PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

ओलीले गरे बुद्धिजीवीलाई कुहिएको फर्सीसित तुलना



ओलीले गरे बुद्धिजीवीलाई कुहिएको फर्सीसित तुलना
फोटो साभार : आरसी लामिछाने

काठमाडौँ : मेची महाकाली अभियानको विषयमा फरक धारणा राख्ने बुद्धिजीवीप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यङ्ग्य गरेका छन्। उनले बुद्धिजीवीहरुलाई कुहिएको फर्सीसँग तुलना मात्र गरेनन्, पत्रिकाहरुमा समाचारको प्राथमिकतालाई लिएर सम्पादकहरुले आलोचना समेत गरे। 

अभियानको क्रममा सप्तरीको राजविराजमा सभा आयोजना भएको दिन बिथोल्न खोज्ने मधेसी मोर्चाका कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको थियो। यस क्रममा पाँच जनाले ज्यान गुमाए।

अभियानको क्रममा उग्र भाषणका कारण घटना भएको भन्दै बुद्धिजीवीहरुले एमालेको आलोचना गरेका थिए। सोही टिप्पणी प्रति ओलीले व्यङ्ग्य वाण हानेका हुन्। 

मधेसमा ‘नआऊ भनेपछि किन जाने?’ भन्ने ‘सोकल्ड बुद्धिजीवीहरु’ देख्दा आफूलाई ‘माया लाग्ने’ पनि उनले बताए। 

ओलीले बुद्धिजीवी बिग्रिएपछि 'श्रीमान् गम्भीर' लेख्न थाल्ने र सप्रिएको अवस्थामा 'यो नेपाली शिर उचाली' भनेर लेख्न थाल्ने बताए। 
उनले बुद्धिजीवीलाई व्यङ्ग्य गर्दै फर्सीको कथा समेत सुनाए। 
 

कोही कोही बुद्धिजिवी 'फर सी' मात्र छन्। 

एउटा अमेरिकनले रत्नपार्कमा देखेछ ठूलो फर्सी। किन्न खोजेछ। के हो यो भनेछ। बेच्ने मान्छेलाई त थाहा थिएन 'पम्पकिन' (फर्सी) भन्ने। 

उसले भन्यो – फर्सी।

अमेरिकनले भन्यो – 'फर सी।'

उसले लिएर गयो। जतनसँग हावा नआउने गरी सिसाको फ्रेममा राख्यो। अलि पछि बाहिरसम्म गन्ध आउन थाल्यो। के भएछ भनेर उसले छोइहेरेछ। फर्सी त भित्रभित्र खतम भएको रहेछ। 

अमेरिकनले सम्झियो - ए मलाई भन्न त भनेको थियो – फर सी,  मैले छोएँ। छोएपछि प्वाल पर्यो । त्यसकारण पो बेच्नेले 'फर सी' (हेर्नका लागि) भनेको रहेछ।

'नट टू टच। फर सी।'

उसले जानेछ - फर्सी। 

नेपालमा पनि 'फर सी' बुद्धिजीवीहरु छन्। फर्सी बुद्धिजिवीहरु चलाउनका काम छैन, छाड्दिनुहोस्। 

ती बुद्धिजीवी स्वस्ती श्री गिरिराज चक्र चुडामणि लेख्छन् कहिले श्रीमान् गम्भीर लेख्छन्। त्यो मजदुर किसानले लेखेको होइन, बुद्धिजीवीले लेखेको हो। 

ओलीले बुद्धिजिवीहरुलाई यो नेपाली शिर उचाली लेख्न आग्रह गरे। 'यो नेपाली शिर उचाली लेखुन्, स्वस्ति श्री होइन', उनले भने, 'हाम्रा बुद्धिजीवीहरुले देश लेखुन्, दलाली नलेखुन्।' 

'जनता चाहन्छन् बुद्धिजीवीहरुले बुद्धिको दुरुपयोग नगरुन्। सदुपयोग गरुन्।'

सम्पादकको आलोचना

ओलीले एमालेको मेची काली अभियानलाई अनलाइन, एफएम र केही सञ्चारमाध्यमहरुले राम्रो स्थान दिएको बताए। तर केही पत्रिकाहरुमा प्राथमिकतामा नपरेको भन्दै रोष प्रकट गरे। 

'यता केही टेलिभिजनहरुमा, पेपरहरुमा कञ्जुस्याँइ भयो। तपाँइहरुले (रिपोर्टरहरुले) पठाए पनि सम्पादन हुने', ओलीले भने, 'सम्पादकहरुमा पनि के गर्ने र कुन न्युज दिनुपर्छ जनताका लागि भेउ नेपाएपछि के लाग्छ। यस्ता कुराहरु भविष्यमा सप्रिँदै जानेछन् भन्ने मैले विश्वास लिएको छु।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell