PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कविताको आयु



पहिलोपोस्ट

कविताको आयु

वासुदेव पाण्डेय 'प्रभाकर' 

भर्ने प्राण अमूर्त शब्द सबमा यो दूरदर्शी कवि
हो सच्चा कवि पुग्न सक्दछ जहाँ पुग्दैन होला रवि।
मान्छे,जीवन,मृत्तिका, प्रकृतिको जीवन्त फोटोकपी
भोगेझैॅ अनुभूतियुक्त रचना सिर्जन्छ सच्चा कवि।।


शैली शिष्ट र सुष्ठु,भाव गहिरो, भाषा बडो प्राञ्जल
छन्दोबद्ध भई अलङ्कृत बनोस् शब्दावली कोमल।
लेखेमा पनि उच्च गद्य कविता स्रष्टा नबिर्सोस् लय
थोरै शब्द सशक्त भाव गरिमा धेरै गरोस् सञ्चय।।
 

लेख्यो पुस्तक चाङ हो कवि ठुलो लाग्नेछ देखाइमा
शैली शिल्प, सशक्त भाव, लय पो हेरिन्छ लेखाइमा।
माटोको नभए सुगन्ध कविता टिक्दैन धेरै दिन
बन्छन् कालजयी सशक्त कविता जो बोक्दछन् जीवन।।


ल्याई सिन्धु सरक्क बिन्दु भरमा राखून् नमानी धक 
छल्कोस् सिन्धु समान काव्य सरिता पौडून् सबै पाठक।
केही वक्र भनाइ होस् मितव्ययी भै लक्षणा, व्यञ्जना 
सारा साधनको समन्वय हुने टिक्छन् युगौॅ सिर्जना।।

मौरी स्वार्थ भएर पुष्प रसको पुग्छन् उडी वागमा
मौरी पाठक, पुष्प तुल्य कविता छानोस् पढी लाखमा।
पढ्ने मानिसको जिती मन सधैॅ लाग्ने नयाँ, रोचक
त्यस्तै बन्दछ लोकको ढुकढुकी धेरै नहोस् घोचक।।


भाषा सभ्य, विचार भव्य, गुणले छन् पुष्ट जो सिर्जना 
केही तत्त्व छुटे कुपोषित भई तङ्ग्रिन्न रे सिर्जना।
ढाली शब्द र वाक्य आदि लयमा तानी सबैमा डिको
मात्रै शब्द र अर्थले त कविता बन्दैन होला दिगो।।

▶शार्दूलविक्रीडित◀



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell