PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

हिउँझैँ बर्सियो असिना : फोटोमा सेताम्मे भेडेटार

हिउँझैँ बर्सियो असिना : फोटोमा सेताम्मे भेडेटार


  • अनन्तराज न्यौपाने/पहिलोपोस्ट
विराटनगर : चैतको पहिलो हप्ता बितिसक्दा पनि चिसो महसुस भइरहेको छ। ठाउँठाउँमा पानी परेको छ भने भारी असिनाले कतिपय ठाउँमा क्षति पनि पुगेको छ।
 
पूर्वको प्रसिद्ध पर्यटकीय गन्तव्य भेडेटारमा पनि सोमबार परेको असिनाले हिमपात भएको अनुभव गरायो। विराटनगरबाट ६१ किलोमिटर उत्तर धनकुटा जिल्लामा पर्ने भेडेटारमा १८ वर्षपछि भारी असिना परेको हो।
 
‘ठूला–ठूला असिना परेर सबैतिर हिउँझैँ जमे’, नेपाल पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले भने, ‘सडकमा साढे दुई फिटसम्म असिना जम्दा हिउँ जमेकोजस्तो देखियो।’
 
काफ्लेका अनुसार स्थानीय बासिन्दाले यसलाई मोटो हिउँ भन्ने गरेका छन्। हिमाली क्षेत्रमा पर्ने हिउँ हावासँगै फुस्फुस पर्छ तर भेडेटारमा ठूल्ठूला असिना भएर झर्छ अनि हिउँझै सर्वत्र जम्छ। 

अवलोकन गर्नेको भिड

दिउँसो १२ बजेदेखि भारी असिना परेसँगै भेडेटारमा हिउँ पर्‍यो भन्ने खबरले टेलिफोनदेखि सामाजिक सञ्जाल पनि भरिए। यसपछि भेडेटार पुग्नेको भिड बढ्न थाल्यो।
 
‘भारतीय नम्बर प्लेटका मात्र ५ सय जति गाडी थिए’, काफ्लेले भने, ‘थामिनसक्नुको भिड थियो, पूर्वाञ्चलका मोरङ, सुनसरी, झापा, उदयपुर, सिराहा र सप्तरीसम्मका मान्छेको भिड थियो।’ 

डोजरले हटायो असिना

सडकमा परेको असिना हिउँझैँ जमेपछि सडक विभागको डोजरले सफा गरेको थियो। सडकमा असिना जमेका कारण तीन घण्टासम्म यातायात समेत अवरूद्ध भएको थियो।
सडकमा जमेको असिना डोजरले सफा गरे पनि भेडेटारका डाँडापाखा तथा घरघरका छत र छाना रातिसम्मै सेताम्मे थिए।
 
यो सेताम्मे दृश्य अझै दुई दिन रहन सक्ने स्थानीय हीरा शाक्यले बताए। शाक्यका अनुसार १८ वर्षअघि पनि यस्तै भएको थियो र तीन दिनसम्म डाँडापाखा सेताम्मे थिए। फोटो : अविनाश बोहरा


ट्रेन्डिङ पोस्ट

Ncell