PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

तेजाब आक्रमणको आरोपी पक्राउ



तेजाब आक्रमणको आरोपी पक्राउ

काठमाडौँ: संगीता मगर र सीमा बस्नेतमाथि तेजाब आक्रमणको आरोपीलाई प्रहरीले पक्राउ गरेको छ झोछेँ स्थित ए प्लस ट्युसन सेन्टरमा गत फागुन १० गते उनीहरुमाथि तेजाब आक्रमण भएको थियो।

२६ दिनपछि तेजाब आक्रमणकारी सार्वजनिक

तेजाब आक्रमणकारीलाई प्रहरीले खोज्दै आएपनि पक्राउ गर्न सकेको थिएन। प्रहरीले आरोपित नजिक पुगेको बताएको थियो।
प्रहरीले आक्रमणमा संलग्न भएको आशंकामा संगिता मगरको घरमै बस्ने जीवन बिकलाई पक्राउ गरेको हो। संगीताले प्रहरीको बयानमा आफ्नै घरमा बस्ने बिकले पछ्याउने र जिस्काउने गरेको भन्दै शंका व्यक्त गरेकी थिइन्। 

यसरी भएको थियो आक्रमण:

‘मम्मी, मम्मी !’ एकाबिहानै भय र आतंकमिश्रित किशोरीको चिच्याहटले राजधानीको एउटा टोलै थर्कियो। बिहानको छ बजेर १० मिनेटमात्रै गएको थियो। टोलवासीहरु भर्खर उठेका थिए। केही ओछ्यानमै बसेर एफएममा देशविदेशका समाचार सुन्दै थिए। आफ्नै टोलमा भएको घटनाबाट भने उनीहरु बेखबर थिए। सँगै घरका राकेशलाल श्रेष्ठ सम्झन्छन्, ‘एकाबिहानै एक जना बच्चीले ममी ममी भन्दै धेरै ठूलो स्वरमा चिच्याएको आवाज सुन्यौँ। सुरुमा त कहाँबाट आवाज आएको नै थाहा भएन। पछि बुझ्दै जाँदा ट्युसन सेन्टरमा तेजाब छ्यापेको थाहा भयो।‘
 
फागुन १० गते दिउँसो पहिलोपोस्ट संवाददाता झोछेँस्थित ए प्लस ट्युसन सेन्टर पुग्दा खुइलिसकेको गुलाबी रङ्ग पोतिएको एउटा कोठामा रहेका तीन वटा बेन्चमा तेजाब छरपष्ट थियो। 


यही तीन वटा बेन्चमा तीन किशोरी बसेर पढिरहेकी थिइन्। ट्युसन पढाउने शिक्षक नआएकाले उनीहरु आफै पढिरहेका थिए। अकस्मात् कक्षा कोठाको ढोका ड्याङ्ग खुल्यो। सुन्तले हुड लगाएको अग्लो अग्लो केटो भित्र छिर्‍यो र पछाडि लुकाएर राखेको हर्लिक्सको शिशी निकाल्यो र क्रिकेटको बल फ्याँके जस्तै गरी त्यसमा रहेको तेजाब छ्याप्यो अनि भाग्यो।

तेजाब पहिलो बेन्चमा बसिरहेकी रामेछाप खनियापानी गाविस–८ घर भएकी १६ वर्षकी संगीता मगरलाई धेरै लाग्यो। त्यसको पछाडि बसेकी रौतहट घर भएकी १५ वर्षकी सीमा बस्नेत र हेमुलाई पनि लाग्यो। संगीता गम्भीर घाइते छिन्। उनको सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ। सिमाको भने विर अस्पतालमा उपचार भइरहेको छ। 

संगीताले गरेकी थिइन् शंका

संगीताले प्रहरीलाई आफ्नो घरमा बस्ने केटाले आफूलाई जिस्काउने र पछ्याउने काम गरेको बयान दिएकी थिइन्। उनले अस्पतालको बेडबाट भनेकी थिइन्- 

'गृहमन्त्रीले पीडितको परिवारले अनुसन्धानका लागि सहयोग गरेको छैन भन्नुभयो रे। त्यस्तो होइन, हामीले प्रहरीलाई सबै कुरा भनिसक्यौँ। तर पनि वास्ता गरेको छैन। मैले प्रहरीलाई आफूलाई पिछा गर्ने मानिसको बारेमा पनि जानकारी गराएको तर प्रहरीले त्यसलाई आजसम्म पक्राउ गरेको छैन। उल्टै मलाई गाली गर्छन् प्रहरीले कि यी सबै कुराको दोषी तिमी नै हो भनेर' संगीताले भनिन्, 'म बस्दै आएको घरको माथिल्लो तल्लाको एक युवकले मलाई पिछा गर्थे तर प्रहरी त्यसको बारेमा अनुसन्धान नै गर्न मान्दैन।' 

एसएलसी दिदैँछन् संगीता र सीमा

एसएलसीको तयारीका लागि ट्युसन पढिरहेका बेला तेजाब आक्रमणमा परेका दुवै युवति हिजोदेखि एसएलसी परिक्षा दिइरहेका छन्। सिमा आफ्नै हातले एसएलसी परिक्षा दिदैँछिन् भने संगिता सहयोगि लिएर परिक्षा दिदैँछिन्। प्रधानमन्त्रीले निर्देशन दिएपछी दुवैले अस्पतालबाटै एसएलसी दिइरहेका छन्। 

घटनाबारे यसरी बताउँछिन् सीमा:  

एउटा मान्छे आयो। एकदम भुँइचालो आएको जस्तो ढोका घर्‍याक गर्‍यो। अनि पछाडिबाट एउटा एसिड भएको सिसी (आफ्नो पछाडि लुकाएर) हात उचालेर ड्याम्मै संगीता भएको ठाउँमा हान्यो। उसको पछाडि म बसेकी थिएँ। अनि मलाई पनि लाग्यो। विस्तृतमा पढ्नुहोस् 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell