PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कोलोनीको पर्खाल सिभिल होम्सले भत्काएपछि विवाद चुलियो, विरोधपछि खानेपानी बन्द



अमर बडुवाल

कोलोनीको पर्खाल सिभिल होम्सले भत्काएपछि विवाद चुलियो, विरोधपछि खानेपानी बन्द

काठमाडौं : सिभिल होम्सको ललितपुर सुनाकोठीमा रहेको सामुहिक आवासमा सीमा जोडिएको घरलाई भित्र मिसाउन खोज्दा तनाव उत्पन्न भएको छ। सिभिल होम्स व्यवस्थापनले कोलोनीको पर्खाल भत्काएर खानेपानीको स्रोतमा ताला लगाएपछि विवाद प्रशासनसम्म पुगेको हो।
 
२०७२ सालमा नै सबै घर बेचेको सिभिल होम्सले कागज गरेर व्यवस्थापनबाट हात झिकेको थियो। आफूहरुले आन्तरिक व्यवस्थापनबाटै सुरक्षादेखि अन्य कुराको प्रबन्ध मिलाइरहेको कोलोनीमा बस्नेहरुको आवासीय समाजका अध्यक्ष प्रमोद प्रधानले बताए।
 
यही क्रममा सिभिल होम्सका कर्मचारी जबरजस्ती भित्र पस्न खोजेपछि समस्या आएको उनले दाबी गरेका छन्। ‘सिभिल होम्सले सम्पत्ति हस्तान्तरण गरिसकेपछि हामीले सुरक्षा व्यवस्थापन आफैँ गर्दै आएका थियौं,' उनले भने, 'हाम्रो सुरक्षा गार्डले कसैलाई पनि अनुमतिबिना प्रवेश गर्न दिँदैन, उनीहरुलाई पनि नदिएको हो।’
 
गार्डले कामबिना प्रवेश गर्न दिदैनौँ भनेपछि सिभिल होम्सका कर्मचारी पर्खाल भत्काएर प्रवेश गरेको प्रधानले आरोप लगाए।
 
शुक्रबार दिउँसो प्रहरीको भ्यान सहित गएर सिभिल होम्स कर्मचारीले पर्खाल भत्काएको समाजको भनाइ छ। भित्र छिरेर उनीहरुले खानेपानीको स्रोतमा ताला लगाइदिएको प्रधानले बताए। प्रहरी सहितको टोलीले सामूहिक आवासमा बसेका सदस्यलाई चोरीको झुटो मुद्दा चलाई नियन्त्रणमा लिएको समेत उनले दाबी गरे।
  
उक्त विषयमा ध्यानाकर्षण गराउन समाजका प्रतिनिधि आइतबार दिउँसो ललितपुर जिल्ला प्रशासन कार्यालय पुगेका थिए। प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले समाजको तर्फबाट ज्ञापनपत्र आएको र थप अनुसन्धान गरी निष्कर्षमा पुग्ने जानकारी दिए।
 
घर बेचे पनि त्यहाँभित्र रहेका स्विमिङ पुल, क्लब, साउना लगायतका सम्पत्ति भाडामा दिएको सिभिल होम्सको भनाइ छ। ‘त्यो सम्पत्ति भित्र बस्नेहरुले भोगचलन गरे पनि त्यसमा हाम्रो स्वामित्व छ,' सिभिल होम्सका सहायक प्रबन्धक ओमकृष्ण महर्जनले भने, 'हामीलाई भित्र प्रवेश गर्नै नदिए पछि पर्खाल फोरेर छिरेको र आफ्नो सम्पत्तिमा ताला लगाएका हौँ।’
 
सुनाकोठीमा रहेको उक्त कोलोनीमा १९४ युनिट घर रहेका छन्। करिब एक हजार जनसंख्या रहेको कोलोनीमा सिभिल होम्सले ताला लगाए पछि दुई दिनदेखि खानेपानी नपाएको समाजको भनाइ छ।
 
कोलोनीसँगै सिमाना जोडिएको एउटा घरलाई पर्खाल भत्काएर सिभिल होम्स व्यवस्थापनले भित्र पार्न खोजेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell