विश्वकप क्रिकेटको क्वार्टरफाइनलमा बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलमा प्रवेश गरेको छ। सेमिफाइनल प्रवेशसँगै २०१५ को विश्वकपमा भारतले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ। आजको जीतसँगै भारतले यो विश्वकपमा लगातार सात खेल जितेको छ भने सातै खेलमा विपक्षी टीमका सबै ब्याट्सम्यान आउट गरेको छ।
अष्ट्रेलियाको मेलबर्नमा बिहीबार भएको क्वाटरफाइनलमा टस जितेर ब्याटिङ गरेको भारतले बंगलादेशलाई १ सय ९ रनले पराजित गरेको हो।
भारतले सेमिफाइनलमा अष्ट्रेलिया र पाकिस्तानबीचको खेलको विजेतासँग सेमिफाइनल खेल्नेछ। आजको जीतसँगै महेन्द्रसिंह धोनीले भारतीय कप्तानको रुपमा एक सय खेल जितेका छन्।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय २ रन जोडेको थियो। जवाफी ब्याटिङमा उत्रेको बंगलादेशले ४५ औं ओभरमा सबै विकेट गुमाउँदै जम्मा १ सय ९३ रनमा अल आउट भयो। बंगलादेशका लागि सबैभन्दा बढी नासिर हुसेनले ३५ रन बनाए। त्यस्तै सविर रहमानले ३० रनको योगदान गरे।
बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा भारतका लागि उमेश यादवले ४ विकेट हात पारे। त्यस्तै मोहम्मद सामीले २ विकेट लिँदै विश्वकपको यो संस्करणमा सबैभन्दा बढी विकेट लिने बलरको सुचीमा पहिलो नम्बरमा पुगे। उनले १७ विकेट लिइसकेका छन्।
सुरुवाती ब्याट्सम्यान रोहित शर्माको शतकमा भारतले ३ सय रन कटाएको थियो। सुरुवाती २५ ओभरमा जम्मा सय रन मात्र जोडेको भारतले पछिल्ला २५ ओभरमा २ सय २ रन जोडेको थियो। भारतका लागि सुरुवाती ब्याट्सम्यान रोहित शर्मा र शिखर धवनले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए।
शिखर धबन व्यक्तिगत ३० रनको स्कोरमा शकिब अल हसनको बलमा स्टम्पिङ भएका थिए। धवन आउट भएपछि ब्याटिङमा आएका विराट कोहलीले तीन रन मात्र जोडे। १ सय १५ रनमा ३ विकेट गुमाएको भारतको इनिङ रोहित शर्मा र सुरेश रैनाले सम्हाले। शर्माले १ सय २६ बल खेल्दै १४ चौका र ३ छक्का प्रहार गर्दै १ सय ३७ रन बनाए। उनी आजको खेलमा म्यान अफ द म्याच भए।
त्यस्तै रैनाले ६५ रनको इनिङ खेले। बंगलादेशका लागि ताक्सिन अहमदले ३ विकेट लिए।