PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

इमर्जिङ टिम्स कप : ज्ञानेन्द्रको नेतृत्वमा नेपाली टिमले थाल्यो तयारी



गोविन्दराज नेपाल

इमर्जिङ टिम्स कप : ज्ञानेन्द्रको नेतृत्वमा नेपाली टिमले थाल्यो तयारी

काठमाडौं : बंगलादेशमा मार्च २५ बाट सुरु हुने एसिसी इमर्जिङ टिम्स कप-२०१७ को लागि नेपाली टोलीले आइतबारदेखि तयारी सुरु गरेको छ।
 
आइसिसी डब्लुसिएल च्यामिपयनसिप अन्तर्गत केन्यासँगको दुई खेल खेलेको साता दिनपछि नेपालले त्रिवि मैदानमा तयारी सुरु गरेको हो। यो पटक नियमित कप्तान पारस खड्का, दुई भेट्रान स्पिनर बसन्त रेग्मी र शक्ति गौचन तथा नम्बर वन फास्ट बलर सोमपाल कामी नेपाली टिममा छैनन्। यस्तै अर्का फास्ट बलर करण केसी पनि टिममा अटेनन्।
 
यस्तोमा नेपाली टिमको कप्तनी ज्ञानेन्द्र मल्ले सम्हाल्नेछन् भने टिममा नयाँ र पुराना खेलाडीहरुको मिश्रण रहेको छ।

***
सन् २०१३ मा पछिल्लो पटक एसिसी इमर्जिङ टिम्स कप प्रतियोगिता सिंगापुरमा आयोजना भएको थियो। त्यसमा नेपालको तर्फबाट सबैभन्दा बढी रन सुवास खकुरेलले बनाएका थिए भने सबैभन्दा धेरै विकेट बसन्त रेग्मीले लिएका थिए।
 
चार वर्षपछि बंगलादेशमा हुन लागेको प्रतियोगितामा अहिले दुवै खेलाडी नेपाली टोलीमा छैनन्। सुवास केन्याविरुद्ध भएको आइसिसी डब्लुसिएलका लागि भएको छनोटको दोस्रो चरणबाटै बाहिरिएका थिए भने बसन्तलाई आराम दिइएको छ।
 
एसियाका चार टेष्ट राष्ट्रका यु २३ टिमले समेत खेल्ने प्रतियोगिता सुवास र बसन्त क्रमश: लिस्ट ए मान्यताप्राप्त खेलबाहेक प्रतियोगितामा सर्वाधिक रन बनाउने र विकेट लिने खेलाडी समेत हुन्।
 
बसन्तसँगै शक्ति गौचन र सोमपाललाई पनि आराम दिइएको छ भने नियमित कप्तान पारस खड्का र फास्ट बलर करण केसी एपेन्डिक्सको शल्यक्रियाका कारण टिममा छैनन्। यी पाँच खेलाडीको अनुपस्थितिमा अहिले राष्ट्रिय टिममा तीन नयाँ अनुहारले स्थान बनाएका छन् भने केहीले पुनरागमन गर्ने अवसर पाएका छन्।
 
इमर्जिङ कप खेल्ने नेपाली टीममा युवा खेलाडीको बाहुल्य रहेको छ भने केहीले यसै प्रतियोगिता मार्फत डेब्यु गर्ने सम्भावना पनि छ।
 
बंगलादेशमा मार्च २५ देखि अप्रिल ४ सम्म हुने यस संस्करणमा टेष्ट खेल्ने चार राष्ट्रको यु २३ टोलीसँगै एसोसिएटबाट नेपाल अफगानिस्तान हङकङ र मलेसियाको सहभागिता रहनेछ।
 
नेपाल, पाकिस्तान बंगालदेश र हङकङ एकै समूहमा रहेका छन्। सन् २०१३ मा सिंगापुरमा भएको प्रतियोगितामा पनि नेपाल र पाकिस्तान एउउटै समूहमा थियो।
 
सुवास खकुरेलले ७८ रन बनाएको उक्त खेल नेपालले ९ विकेट हारेको थियो। उक्त खेलमा पाकिस्तानका बाबर अजामले नटआउट शतक प्रहार गरेका थिए।
 
त्यति बेला नेपाली टिममा रहेका १५ सदस्यमध्ये अहिले पाँच खेलाडी मात्र टिममा परेका छन्। जसमा ज्ञानेन्द्र मल्ल कप्तान र शरद भेषावकर उपकप्तान छन्। यस्तै विनोद भण्डारी, सागर पुन, अभिनाश कर्ण पनि टिममा छन्।
 
यस पटक दीलिप नाथ, आसिफ शेख र दीपेश श्रेष्ठले पहिलो पटक टlममा स्थान पाएका छन् भने सुसन भारी र भुवन कार्कीले टिममा पुनरागमन गरेका हुन्। सुसन भारी यसअघि नेपाली टिममा परे पनि उनले डेब्यु गर्ने अवसर पाएका छैनन्।
 
त्यसबाहेक दीपेन्द्र सिंह ऐरी र सुनिल धमलाले केन्याविरुद्ध राष्ट्रिय टिममा डेब्यु गरेका हुन्। अन्य खेलाडीमा भेट्रान अलराउण्डर मेहबुब आलम, युवा लेगस्पिनर सन्दीप लामिछाने र युवा अलराउण्डर आरिफ शेख छन्।
 

पहिलो खेल पाकिस्तानसँग

समूह बी मा रहेको नेपालले पहिलो खेल मार्च २७ मा पाकिस्तानको यु-२३ टिमसँग खेल्नेछ। त्यस्तै दोस्रो खेलमा मार्च २८ मा आयोजक बंगलादेश यु-२३ तथा तेस्रो खेल मार्च ३० मा हङकङसँग खेल्नेछ।
 
नेपालले आफ्नो तीन वटै खेल शेख कमल स्टेडियममा खेल्नेछ।

समूह ए मा भारत यु-२३, श्रीलंका यु-२३ सँगै अफगानिस्तान र मलेसिया रहेका छन्। दुवै समूहबाट शीर्ष दुई स्थानमा रहने टिम सेमिफाइनलमा प्रवेश गर्नेछन्। भारत पछिल्लो संस्करणको विजेता हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell