PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

हात जोड्दै राष्ट्रपतिले भने : मिलेर संविधान बनाउनुपर्छ



हात जोड्दै राष्ट्रपतिले भने : मिलेर संविधान बनाउनुपर्छ

  • नारायण अधिकारी/कालिका खड्का
चितवन : राष्ट्रपति डा रामवरण यादवले कुण्ठाको राजनीति छोडेर एकताबद्ध भई यथाशीघ्र संविधान निर्माण गर्न दलहरुलाई आग्रह गरेका छन्। 
नेपाल बार एसोसिएसनद्वारा आजदेखि पूर्वी चितवनको रत्ननगरमा सुरु १३औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले दलहरुका बीचको सबै विवाद सुल्झाएर संविधान बनाउनका लागि दबाब दिन कानुन व्यवसायीलाई आग्रह गरे।
 
जनतासँग दलहरुले गरेको वाचा पूरा गर्नुपर्ने भन्दै उनले आम नेपालीलाई स्वीकार्य हुने संविधान निर्माण गर्ने दायित्व दलहरुको भएको बताए। त्यसका लागि बारले थप जिम्मेवारीका साथ भूमिका खेल्नुपर्ने राष्ट्रपति यादवको आग्रह थियो।
 
उनले भने– “जनआन्दोलनका बेला एकढिक्का हुनुहुन्थ्यो, अन्तरिम संविधान पनि मिलेरै बनाउनुभयो फेरि संविधान निर्माण गर्ने समयमा पनि एकढिक्का भएर उभिइदिन आग्रह गर्दछु।” 
 
राष्ट्राध्यक्षको हैसियतले आम नेपालीले सुख पाएको हेर्न चाहेको भन्दै उनले दुई वर्ष, चार वर्ष र छ वर्ष बित्यो मलाई आनन्द भइरहेको छैन, ३५ लाख नेपाली विदेशमा छन्, देशको आर्थिक अवस्था कमजोर छ, सबै समस्याको समाधान संविधान हो, त्यसका लागि एकपटक आफूले सबैको सहयोग मागेको बताए।
 
मन्तव्यका क्रममा निकै भावुक बनेका राष्ट्रपति यादवले हात जोड्दै भने– “दश औँला जोडेर म आग्रह गर्न चाहन्छु, मिलेर संविधान बनाउनुपर्छ, त्यसमा तपार्इंहरुको सहयोग चाहिन्छ ।”
 
“देशभरका कानुन व्यवसायीको छलफलबाट अमृत निकाल्नुपर्छ त्यो अमृत दलहरुलाई दिनुपर्छ त्यसले देशको मूल कानुन बनाउन उत्प्रेरणा मिलोस्,” उनको आग्रह थियो। बिनामियोको दाइँ हुँदैन, मैले अहिले मियोको भूमिका निर्वाह गर्दैछु तर यसका लागि दलहरुको सहयोग र प्रतिबद्धता जरुरी छ भन्दै राष्ट्रपति यादवले भने – “संविधानको पालक र रक्षकको हैसियतले यो संस्थाको रक्षा गर्दै सबैले चाहेको संविधान निर्माण होस् भन्ने कामना गर्दछु।”
 

सरकारकै आलोचना

शिक्षा, स्वास्थ्य, जल, जमिन, न्याय यावत् क्षेत्र अस्तव्यस्त बन्दै गएकामा चिन्ता व्यक्त गर्दै राष्ट्रपति यादवले दुःख पोखे– “यी समस्या मैले सरकारलाई भन्छु तर सरकार सुन्दैन।”
 
न्यायपालिका स्वतन्त्र हुन नसके लोकतन्त्र पनि रहन नसक्ने भन्दै उनले स्वतन्त्र न्यायपालिकाको पक्षमा उभिन कानुन व्यवसायीलाई आग्रह गरे।
 
संविधानसभाका अध्यक्षको भूमिकाको प्रशंसा गर्दै बीचको बाटो खोजेर गतिरोधको निकास निकाल्न आग्रह गर्दै राष्ट्रपति यादवले यसमा काँग्रेस र एमालेको गहन भूमिका हुनुपर्ने बताए।
 
दलहरुले कानुनविद्, भूगोलविद्, जलस्रोतविद, संस्कृतिविद्को भूमिकालाई बिर्सिएको बताउँदै उनले सबै विज्ञहरुलाई एकै ठाउँमा जुटाएर सङ्घीयताजस्ता विवाद मिलाउनुपर्ने बताए।
 

नेताले काम गरेनन्

सोही कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सुवास नेम्वाङले दलहरुले संविधान निर्माण गर्न नसकेको नभई नगरेको बताए। उनले भने– “दलका शीर्ष नेताहरु दुई घन्टाभित्र, चुड्कीको भरमा कुरा मिल्छ भन्नुहुन्छ, तर मिलाउनु हुन्न। यसको अर्थ उहाँहरु संविधान निर्माण गर्न नसकेर नभई नगरिरहनुभएको छ।”
 
न्यायपालिका, निर्वाचन प्रणाली, सङ्घीयता र शासकीय स्वरुपजस्ता विवादित विषय पनि सहमतिको नजिक पुगेको बताउँदै सभामुख नेम्वाङले दलहरुले १० दिनमा सहमति हुन्छ भनेर संविधानसभा स्थागित गरेको एक महिना तीन दिन पुग्दा पनि सहमति हुन नसकेको बताए।
 
सभामुख नेम्वाङले आफूले दलहरुलाई सहमति गर्न पटक–पटक आग्रह गरेको स्मरण गर्दै सहमति नभएमा उनीहरुले नै सहमतिमा निर्माण गरेको अन्तरिम संविधानअनुसार प्रक्रिया अगाडि बढ्ने बताए। उनले भने, ‘दलहरु गम्भीर नहुँदा अहिले वार्ता र छलफलसमेत हुन सकेको छैन।'
 
सभामुख नेम्वाङले भने, ‘दलहरुलाई तपार्इंहरुले नसके म १० दिनभित्र मस्यौदा निर्माण गरेर दिन्छु भनेँ त्यो कुरा पनि उहाँहरुले स्वीकार गर्नुभएन। सहमति पनि गर्नुभएन।’
 
हिजो दलका प्रमुख नेताहरुलाई आफूले डाकेर कहिलेसम्म सहमति हुन्छ भनी सोध्दा त्यसको जवाफ पाउन नसकेको उनले गुनासो गरे।
रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell