PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

वैदेशिक रोजगारबाट फर्किएर च्याउ उद्योग खोलेका युवा भन्छन्- 'बैंकले नै पत्याउँदैन'



पहिलोपोस्ट

वैदेशिक रोजगारबाट फर्किएर च्याउ उद्योग खोलेका युवा भन्छन्- 'बैंकले नै पत्याउँदैन'

  • अनन्तराज न्यौपाने/पहिलोपोस्ट
विराटनगर : दुबईमा १४ महिनासम्म वैदेशिक रोजगारीको पीडा भोगेर २०१३ मा नेपाल फर्किए सरोज नेपाल। उनी जसोजतो विदेशी भूमिमा पसिना चुहाइरहेका थिए। तर भाइहरुले नै च्याउ खेतीबारे राम्रो सम्भावना देखाएपछि उनको मन फर्कियो र, आफैं आउन बाध्य भए। 'च्याउ खेतीमा राम्रै आर्जन हुन्छ भनेर उनीहरुले बोलाए,' सरोजले भने, ‘खेती सुरु गरेपछि वैदेशिक रोजगारतिर ध्यान गएन।’
  
नेपाल फर्किएपछि उनले विजय सापकोटासँगको साझेदारीमा मोरङको सिसबनी बडहरामा नेपाल च्याउ उद्योग स्थापना गरे। व्यावसायिक रूपमा च्याउको बीउ उत्पादन र खेती गरिरहेका दुई युवा यति बेला भने ठूला बैंकले नपत्याएपछि अन्य माध्यमबाट महँगो ब्याजमा ऋण लिन बाध्य छन्। 
 
बैंक तथा वित्तीय संस्थाले कृषि लगायत उत्पादनमूलक क्षेत्रमा सस्तो दरमा कर्जा लगानी गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन भए पनि आफूहरुले ऋण नपाएको उनीहरुको गुनासो छ।
 
सरकारी स्वामित्वका कृषि विकास बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्कले ऋण दिन आनाकानी गरेपछि उनीहरुले दुई सहकारी र एक विकास बैङ्कसँग महँगो ब्याजमा २० लाख रुपैयाँ ऋण लिएका छन्।
 
‘सप्तकोसी विकास बैङ्कको गछिया शाखाबाट १६ प्रतिशतमा ९ लाख लिएका छौँ’, विजयले भने, ‘त्यस्तै सिसबनी बडहराको ह्याप्पी फेमिली सहकारीबाट १६ प्रतिशतमै ४ लाख र इटहरीको संरक्षित वचत तथा ऋण सहकारीबाट १८ प्रतिशतमा ७ लाख लिएका छौँ।’
 
वाणिज्य बैंकहरुले पत्याइदिएको भए आफूहरुलाई व्यवसाय विस्तारमा अझ सजिलो पर्ने उनीहरुको अपेक्षा छ। ‘हामी प्रोजेक्ट रिपोर्ट र प्रोपोजल लिएर कृषि विकास बैङ्कको बनिगामा शाखामा गएका थियौँ,' उनीहरुको गुनासो छ, 'सुरुमा त शाखा प्रबन्धक हरि सुवेदी कर्जा दिन तयार हुनुभयो। तर, दुई दिनपछि कसरी मुड बदलियो, उहाँले अत्यन्तै नकारात्मक उत्तर दिनुभयो।’ त्यसपछि राष्ट्रिय वाणिज्य बैङ्क बेलबारी शाखामा गएको र त्यहाँ पनि सुरुमा राम्रो आश्वासन पाएर अन्त्यमा निराश हुनपरेको उनीहरुको भनाइ छ। अन्ततः केही नलागेपछि सहकारी र विकास बैङ्कको शरण परेर उनीहरुले महँगो ब्याजमा ऋण लिनुपर्‍यो।
 
विजय पनि चार वर्षअघि खाडी राष्ट्र जाने मुड बनाइरहेका थिए। तर, च्याउ र यसको बीउको व्यवसाय फस्टाउन थालेपछि उनको दिमागबाट पनि विदेश जाने चक्कर सेलायो।
 
चार वर्षअघि १ लाख ५० हजार रुपैयाँमा सुरु गरेको उनीहरूको व्यवसायमा हालसम्म ५० लाख रुपैयाँ हाराहारी लगानी भइसकेको छ। उनीहरू दैनिक कम्तीमा २२ हजार रुपैयाँको कारोबार गर्छन्।
 
‘प्रति पोका ३०० रुपैयाँका दरले दैनिक ५०० पोका बीउ बिक्री हुन्छ, यसको १५ हजार भयो,' विजयले सुनाए, 'प्रति किलोग्राम १५० रुपैयाँका दरले दैनिक ५० किलो च्याउ बेच्छौँ, यसको साढे ७ हजार भयो।'
 
उद्योगमा उत्पादित बीउ पूर्वका सुनसरी, मोरङ, झापा, सिरहा, सप्तरी, उदयपुरलगायत काठमाडौं उपत्यकासम्म पुग्ने गरेको छ। अझै पनि सस्तो ब्याजदरमा ऋण पाइएन भन्नेमै उनीहरुको चिन्ता छ। 'बीउ उत्पादन गर्ने ल्याबभित्र स्वच्छ हावा पठाउन र सङ्क्रमित हावा बाहिर निकाल्न दुई लाख रुपैयाँको लेमिनार एअर फ्लो खरिद गर्न नसकेर प्लास्टिक सिटले बेर्नुपरेको छ,’ विजयले प्राविधिक पक्षबारे जानकारी गराए, 'त्यस बाहेक प्रयोगशालाकै लागि तीन लाख रुपैयाँ पर्ने माइक्रोस्कोप र दुई लाख पर्ने इन्कुबेटर चाहिएको छ।'
 
सस्तो ब्याजमा कर्जा नपाएकै कारण यो योजना थाती रहेको बताउँछन् उनीहरु।
 
आफ्नो उद्योगले च्याउको बीउ आयातलाई घटाएको युवाद्वयको दाबी छ। पूर्वको काँकडभिट्टा नाकासित जोडिएको पानीटङ्की र सिलिगुडीबाट च्याउ र बीउ अहिले पनि आयात गरिन्छ। मोरङकै मङ्गलबारेका व्यवसायीले क्वारेन्टाइन जाँच नगरी र भन्सार महसुल समेत नतिरी च्याउ र बीउको अनधिकृत पैठारी गरिरहेका छन्।
 
विजय भन्छन्, ‘तर हाम्रो व्यवसाय फस्टाएपछि यस्तो पैठारीमा ८० प्रतिशत मन्दी आइसकेको छ।’
 
दुवै उद्यमीले आफ्नो उद्योगको नाम परिवर्तन गरेर ग्रिनिटी इन्टरनेशनल एग्रो रिसर्च सेन्टर राख्ने प्रक्रिया सुरु गरेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell