PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कविता : अन्तिम पत्र



पहिलोपोस्ट

कविता : अन्तिम पत्र

  • भावना शर्मा
     
म भेटिन्न!
उभिन्न तिमी सामु
तिमीले चाहे जसरी
नदेख रूमानी सपना!
तिम्रा शब्दका इन्द्रेणीसम्म
कुनै उडान भर्ने छैन
 
लेखक नसोध्नु कहिल्यै
धर्ती र आकाशबीच
'प्रेम किन असम्भव छ!'
 
प्रेम तब पनि थियो
जब तिमी थियौ न म
रहनेछ तब पनि
जब हराउनेछन् यी पदचिह्नहरू
क्षितिज यस्तै मुस्कुराइरहनेछ
बस् तिमीसँग म हुनेछैन
तिम्रै कथाको पात्र जसरी
तिम्रै शब्दका भाव जसरी
म तिमीमा पग्लिन सक्दिनँ!
लेखक नभन्नु कहिल्यै
'बग्दैन तिम्रो रगतमा तरंग...?'
 
तिम्रै कथामा आफूलाई धमिल्याउँछु
अभिशप्त
तिमीलाई छोइदिन्छु विस्मृतिमा
तिमीले लेखेनछौ
सत्य हो,
खड्किरहेछ कथामा अझै
तिम्रो परेला बिझाउने त्यो
आँसु थियो कि आवेग!
 
अन्तिम सास
तिम्रै शब्दमा उनिदिएर
बस् भाग्न चाहन्छु
कथाबाट फुत्त निस्केर
म बिलाउन चाहन्छु
लेखक!
मात्र यौटा समवेदना
लेखिदिनु है मेरो नाममा...



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell