PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अनिल र नवयुगको अभावमा कर्णलाई प्रमाणित गर्ने चुनौती



गोविन्दराज नेपाल

अनिल र नवयुगको अभावमा कर्णलाई प्रमाणित गर्ने चुनौती

काठमाडौं : गतसाता आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्याविरुद्ध घरेलु मैदानमा भएको दुवै खेल नेपालका कप्तान पारस खड्काले पभेलियनमा बसेर हेरे। १४ सदस्यीय नेपाली टोली पारसकै कप्तानीमा घोषणा भए पनि खेल हुनु तीन साताअघि मात्र एपेन्डिक्सको शल्यक्रिया गराएका पारसले केन्याविरुद्ध खेलेनन्।
 
आखिर पारसले टिममा रहेर पनि किन खेलेनन् भन्ने रहस्य नै बन्यो।
 
फुटबलतर्फ पनि त्यस्तै भएको थियो केही महिनाअघि। गत नोभेम्बरमा मलेसियामा भएको एएफसी सोलिडारिटी कपको उपाधि जित्दा नेपालको कप्तान अनिल गुरुङ थिए। तर उनले पहिलो रोजाइमा खेल्ने मौका भने पाएनन्। नेपालले ४ खेल खेल्दा अनिलले टिमोर लेस्टेविरुद्ध समूह चरणको पहिलो खेल मकाउ विरुद्धको फाइनल खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्ने अवसर पाएका थिए।
 
अहिले एएफसी एसियन कप छनोट अन्तर्गत फिलिपिन्सविरुद्ध हुने पहिलो खेलका लागि अन्तिम टोलीमा घोषणा हुँदा उनै कप्तान अनिल गुरुङले स्थान बनाउन सकेनन्। अर्थात् उनी टिममा अटाएनन्। जापानी प्रशिक्षक ग्योतोकु कोजीले उनलाई टिममा राखेनन्। सोलिडारिटी कपमा पनि नेपालको प्रशिक्षण कोजीले नै सम्हालेका थिए।
 
नियमित कप्तान अनिलसँगै यसअघि नेपालले तीन उपाधि जित्दा नेपाली फुटबलमा नवयुग सुरु गराउने श्रेय पाएका नवयुग श्रेष्ठ पनि चोटका कारण यसअघि नै टिमबाट बाहिरिसकेका छन्।
 
यस्तोमा अर्को एक खेलाडीले नेपाली फरवार्ड लाइनमा स्थान बनाएका छन्। उनी हुन् कर्ण लिम्बु। घरेलु फुटबलमा कर्ण कुनै पुरानो नाम होइन। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उनलाई नचिन्ने सायदै होलान्।
 
उनी प्रतियोगितात्मक खेल खेल्ने नेपाली टोलीमा परेको यो पहिलो पटक हो।
 
यसअघि नेपालका लागि उनले सन् २०१४ मा यमनविरुद्ध एक मात्र मैत्रीपूर्ण खेल खेलेका थिए। त्यो पनि वैकल्पिक खेलाडीको भूमिकामा। कर्णले अन्तिम १५ मिनेटको लागि अनिल गुरुङलाई नै विस्थापित गरेका थिए। त्यो नै कर्णले नेपालको जर्सीमा खेलेको एक मात्र खेल हो।
 
फिलिपिन्सविरुद्ध खेल्ने २० सदस्यीय अन्तिम टोलीको फरवार्डमा कर्णसँगै भरत खवास, विमल घर्ती मगर र रन्जन विष्ट छन्। भरत र विमलले यसअघि नै नेपालका लागि राम्रा प्रदर्शन गरिसकेको भए पनि रन्जनले भने नेपाली टिममा विरलै स्थान पाएका छन्।
 
यस्तोमा नियमित कप्तान अनिल गुरुङ र नवयुगको अनुपस्थितिमा आफूलाई प्रमाणित गर्ने उपयुक्त अवसर कर्णलाई मिलेको छ।
 
पहिलो पटक नेपाली राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएपछि पहिलोपोस्टसँग कर्णले मिश्रित अनुभव भएको प्रतिक्रिया दिए, 'खासै नौलो लागेको छैन, तर गोल गर्ने चुनौती छ।'
 
तीन वर्षपछि कर्णले राष्ट्रिय टिममा पुनरागमन गरेका छन्।
 
प्रारम्भिक टोलीमा जहिल्यै बोलाइए पनि अन्तिम टोलीको घोषणा हुँदा कर्णको नाम हुँदैनथ्यो। जसले गर्दा कर्णले नेपाली टिममा पर्ने आस समेत मारिसकेका थिए कुनै बेला। उनी नेपालको सर्वोच्च फुटबल निकाय एन्फाविरुद्ध पनि आक्रोश पोख्थे, बेला बेलामा।
 
हाल मोफसलको क्लब झापा-११ बाट व्यावसायिक फुटबल खेल्ने कर्णले दुई वर्षअघि सम्पन्न होम एण्ड अवे राष्ट्रिय लिगमा नवयुग (१४) पछि सर्वाधिक १३ गोल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell