PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

लाइसेन्सप्राप्त हतियार निर्वाचनको सुरक्षा चुनौति, काठमाडौँमा मात्रै १३ हजार हतियार



सविन ढकाल

लाइसेन्सप्राप्त हतियार निर्वाचनको सुरक्षा चुनौति, काठमाडौँमा मात्रै १३ हजार हतियार

काठमाडौः स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा सरकारको अनुमति लिएर राखिएका हातहतियार निर्वाचन अवधिभरका लागि सुरक्षा चुनौति बन्ने देखेपछि फिर्ता माग्न थालिएको छ।

यस्ता हातहतियारको निर्वाचन अवधिमा दुरुपयोग हुने शंका बढेपछि सम्बन्धित जिल्ला प्रशासनले हतियार बुझाउन भनेको हो।

बिहीबार मात्र जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ति जारी गर्दै लाइसेन्स प्राप्त व्यक्तिहरुलाई हतियार बुझाउन भनेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक सिडिओ प्रेमप्रसाद लुइँटेलले इजाजतप्राप्त हतियारको कारण निर्वाचनको शान्ति सुरक्षा व्यवस्था नखल्बलियोस् भनेर निर्वाचन आयोगको निर्देशनमा गृह मन्त्रालयको परिपत्रपछि हतियार फिर्ता मागेको बताए।

गृहमन्त्रालयको तथ्याङ्क अनुसार देशभर करिब ३५ हजार हतियारको लागि प्रशासनबाट स्वीकृति लिएको देखिन्छ। तथ्याङ्क अनुसार  पेस्तोल ३१२ वटा, रिभल्वर ११७ वटा, १२ बोरको बन्दुक १३,८९२ वटा, २२ बोरको बन्दुक ४६६१ वटा, भरुवा बन्दुक १२,०९१ वटा, हावादारी बन्दुक १०१० वटा र अन्य २२३१ वटा गरी हतियार दर्ता भएका छन्।

सबैभन्दा बढी काठमाडौं जिल्लाबाट हतियार राख्न अनुमति लिइएको छ। केही समयदेखि सरकारले पेस्तोल र अत्याधुनिक हातहतियार राख्न भने अनुमति दिएको छैन। काठमाडौं जिल्लामा मात्र १३ हजार ३ सय २२ वटा हातहतियार राख्न अनुमति लिइएको छ।

एक पटक हतियार राख्न अनुमति लिएपछि प्रत्येक दुई वर्षमा नवीकरण गर्नुपर्छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट चालु आर्थिक वर्षमा १ हजार ३५ वटा हतियारको मात्र नवीकरण भएको छ। एउटा जिल्लाबाट हतियार राख्ने अनुमति लिए पनि अरु जिल्लामा पनि नवीकरण गर्न मिल्ने व्यवस्था भएकाले कति हतियार नवीकरण भएका र कति नभएका भन्ने बारे यकिन तथ्याङ्क नहुने सहायक सिडिओ लुइँटेलले बताए।

देशका सीमा क्षेत्रमा निर्वाचनको अवधिमा यस्ता वैध हतियार झनै सुरक्षा चुनौतिका रुपमा हेरिएको छ। वैध हतियार राख्नेमा नेता, उद्योगी, गुन्डा नाइकेदेखि टोले गुन्डासम्म छन्।

 निर्वाचनको अवधिमा लाइसेन्स प्राप्प हातहतियारले सुरक्षामा चुनौति थप्ने नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्ल ठकुरी बताउँछन्। उनी भन्छन् 'हतियारको प्रयोग गरेर मनोवैज्ञानिक त्रास फैलाउने काम हुनसक्छ।'

विगतका निर्वाचनमा पनि यस्ता हतियारको प्रयोग गरेर शान्ति सुरक्षा खलल पुर्‍याउने काम भएको उनले बताए।

लाइसेन्स लिएका हतियारको दुरुपयोग

निर्वाचनको अवधिमा मात्र होइन अन्य समयमा समेत लाइसेन्स प्राप्त हातहतियारको प्रयोग आपराधिक गतिविधिमा हुने गरेको देखिएको छ।
२०७० साल फागुनमा प्रहरीले शंकरदेव क्याम्पसका स्ववियु सभापतिसमेत रहेका सुभराम बस्नेत सहित पाँच जनालाई तीन थान हतियार सहित नियन्त्रणमा लियो। तर उनीहरुबाट बरामद् भएको म्यागनम टु दुई थान र सर्टगन एक थान हतियार अनुमति प्राप्त थिए।

त्यस्तै अपहरण तथा शरीर बन्धक बनाएर पैसा असुल्ने गरेको आरोपमा प्रहरीले ललितपुरका महेशबहादुर सिंहलाई पक्राउ गर्‍यो। उनको साथबाट प्रहरीले ७ थान हतियार फेला पार्‍यो।

प्रहरीले फेला पारेका हतियार सबै इजाजत प्राप्त नै थिए। सिंहले हतियारको दूरुपयोग गर्दै  अपराध गरेको खुलेको थियो।

२०७० साल बैशाख ३ गते यमबहादुर थापाको डेराबाट अर्धस्वचालित हतियार भेटिएको थियो। त्यो हतियारको पनि इजाजत थियो।
प्रहरीका अनुसार यमबहादुरले धम्की, गुण्डागर्दी लगाएत विभिन्न आपराधिक क्रियाकलापमा हतियार प्रयोग गरेको खुलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell