PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

निशुल्क भ्वाइस र सस्तो डेटा दिने टेलिकम कम्पनी के नेपालमा पनि खुल्न सक्छ? भारतले यसरी सिकायो पाठ



उमेश पौडेल

निशुल्क भ्वाइस र सस्तो डेटा दिने टेलिकम कम्पनी के नेपालमा पनि खुल्न सक्छ? भारतले यसरी सिकायो पाठ

काठमाडौँ : भारतका सबैभन्दा धनीमध्ये एक धिरुभाइ अम्बानीका दुई छोरा सन् २००५ मा छुट्टिए। जेठा मुकेशको भागमा तेल, ग्यास, पेट्रोकेमिकल्स, रिफाइनरी र म्यानुफ्याक्चरिङ युनिट पर्‍यो। भाइ अनिलको भागमा विद्युत, टेलिकम र वित्तीय सेवा।

जेठा मुकेश टेलिकम बिजनेश आफूसँग राख्न चाहन्थे तर अंशबण्डामा भाइको हातमा पुग्यो। अंशबण्डाको एक शर्त थियो- पाँच वर्ष दुई भाइले एक अर्काको व्यापारमा हात नहाल्ने।

मुकेशले धैर्यतापूर्वक पाँच वर्ष कुरे र सन् २०१० मा इन्फोटेल ब्रोडव्याण्ड सर्भिस लिमिटेड कम्पनी ४८ अर्ब भारुमा किने। सेयर बजारमा सूचिकृत नभए पनि यो कम्पनीसँग भारतको २२ सर्कलका लागि फोरजी ब्रोडव्याण्ड स्पेक्ट्रम थियो।

मुकेशले यो कम्पनीलाई रिलायन्स टेलिकमको सब्सिडरी बनाए। सन् २०१३ मा यो कम्पनी रिलायन्स जियो इन्फोकम लिमिटेडमा रुपान्तरण भयो। फोरजी डेटा सेवासँगै जियोले एक अर्ब ६५ करोड भारु तिरेर भ्वाइस टेलिफोन सेवाको अनुमतिसमेत लियो।

सन् २०१५ को डिसेम्बरमा रिलायन्सले आफ्ना ३५ हजार स्टाफ र उनीहरुका परिवारबीच जियो सेवाको सुरुवात गर्यो। झण्डै एक वर्षको परीक्षणपछि कम्पनीले ५ सेप्टेम्वर २०१६ मा व्यवसायिक सेवा सुरु गर्यो। सेवा सुरुवातको पहिलो महिना जियोसँग एक करोड ६० लाख ग्राहक जोडिए, कम्पनीले ८३ दिनमा पाँच करोड ग्राहक बनायो भने फेब्रुअरी महिना भरमा दश करोड ग्राहक पुर्याएको छ।

२०२१ सम्म कम्पनीले ५० प्रतिशत बजार हिस्सा ओगट्ने रणनीतिमा काम गरिरहेको छ। त्यसका लागि जियोले न्युन मूल्यमा डेटा र निशुल्क भ्वाइस सेवा दिइरहेको छ।

जियोको प्रवेशपछि भारतको टेलिकम उद्योगमा अहिले ठूलो आँधी आएको छ। जियोसँग लड्नका त्यहाँको दोस्रो ठूलो कम्पनी भोडाफोन र तेस्रो ठूलो कम्पनी आइडिया मर्जरका लागि छलफलमा छन्। मर्जर भए यो कम्पनीसँग ३८ करोड ग्राहकसहित ३६ प्रतिशत बजार हिस्सा हुनेछ।

अर्को ठूलो टेलिकम कम्पनी भारती एयरटेलले टेलिनोरको भारतीय युनिट खरिद गर्ने भएको छ। यसबाट एयरटेललाई चार करोड ग्राहक आधार थपिनेछ।

मुकेशकै भाई अनिल अम्बानीको कम्पनी रिलायन्स कम्युनिकेशन र एयरसेलबीच पनि मर्जर हुँदैछ भने रसियन अर्बपतिको कम्पनी सिस्तेमाको भारतीय ब्राण्ड एमटिएसलाई रिलायन्स (अनिलको)ले खरिद गर्दैछ। अनिलले टाटा समूहको कम्पनी टाटा टेलिसर्भिसेस पनि खरिद गर्ने प्रक्रिया अघि बढाएका छन्।

उता सरकारी स्वामित्वमा रहेका दुई टेलिकम कम्पनी बिएसएनएल र एमटिएनएल पनि मर्जरका लागि छलफलमा छन्। जियोको प्रवेशले उपभोक्ताले सस्तो सेवा र सुविधा मात्रै पाएका छैनन्, प्रतिश्पर्धा लागि आगामी केहि महिनामा दर्जन कम्पनी आधा दर्जनमा झर्दैछन्।

जियोले भारतमा २३ सय मेगाहर्ज ब्यान्डमा ४० मेगाहर्ज, ८ सय मेगाहर्ज ब्याण्ड र १८ सय मेगाहर्ज ब्याण्डमा पाँच/पाँच मेगाहर्ज फ्रिक्वेन्सी पाएको छ। यहि ब्याण्डबाट  उसले भारतमा तहल्का मच्चाइरहेको छ। जियोले ८ सय र १८ सय ब्यान्डबाट टुजी र थ्रिजी एवं २३ सय मेगाहर्ज ब्यान्डबाट फोरजी चलाएको छ। कम्पनीले २३ सय ब्यान्डमा भारतका २९ राज्यमध्ये २६ राज्यमा फोरजी चलाउने स्वीकृत पाएको छ भने ८ सय र १८ सय ब्यान्डको फ्रिक्वेन्सी भने सबै राज्यमा चलाउन पाएको छैन। 
 
नेपाल किन पछि पर्‍यो? 
जियोले भारतमा २३ सय मेगाहर्ज ब्याण्डमा फ्रिक्वेन्सी प्राप्त गरेको भर्खरैमात्र हो। यो फ्रिक्वेन्सी नेपाल टेलिकमले चार बर्षअगाडि नै नेपालमा पाएको थियो। तर सामान्य जनतालाई प्रत्यक्ष सम्वोधन हुने ढंगले व्यापारिक योजना नबनाउँदा नेपाल टेलिकमको वाइम्याक्स भने दिनानुदिन ओरालो लागिरहेको छ।


प्राविधिकहरुले २३ सय मेगाहर्ज ब्याण्डलाई ताररहित प्रविधिमध्ये उच्च गतिको इन्टरनेट सेवा दिन सबैभन्दा प्रभावकारी फ्रिक्वेन्सीका रुपमा लिने गरेका छन्। नेपालमा फ्रिक्वेन्सी लिने र त्यसलाई चुस्त व्यवस्थापन गर्न नसकेका कारण टेलिकम कम्पनीले चाहेजस्तो ब्यापार र फ्रिक्वेन्सीलाई प्रयोग गर्न नसकेको प्राविधिक इन्जिनियर समेत रहेका नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल बताउछन्।

दूरसञ्चार प्राधिकरणको गत पुसमा प्रकाशित व्यवस्थापन सूचना प्रणाली (एमआईएस) अनुसार वाइम्याक्सका १६ हजार ग्राहक छन्। जुन टेलिकमले चार बर्षमा आर्जन गरेको हो। 

भारतमा जियोले एउटै फ्रिक्वेन्सीमा यति ठूलो प्रगति गर्न सक्ने तर नेपालमा भने टेलिकमले काम गर्न नसक्नु भनेको कम्पनी व्यवस्थापनको कमजोरि हो, अर्यालले भने।
 
जियोजस्तो नयाँ कम्पनी आउला?
नेपाल दूरसञ्चारको क्षेत्रमा छिटो समयमा निकै अगाडि बढिरहेको देश हो। सरकारी आँकडा हेर्ने हो भने अहिले नेपालमा करिब शत प्रतिशत जनता टेलिफोनको पहुँचमा छन् भने ५५ प्रतिशत जनता इन्टरनेटको पहुँचमा छन्।

टेलिकम क्षेत्रमा सरकारी कम्पनी नेपाल टेलिकम र नीजि क्षेत्रको एनसेलले ९४ प्रतिशत हिस्सा ओगटेका छन्। यी दुई कम्पनीले कुल ब्यापारको ९५ प्रतिशत भन्दा धेरै हिस्सा ओगटेका छन्।

यस्तो अवस्थामा नेपालमा एकदमै आक्रामक रुपमा नयाँ कम्पनी आउला? यसको सम्भावना धेरै रहेको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगाम्वर झा बताउँछन्।

'नयाँ कम्पनीका रुपमा आउन निकै मुस्किल छ' उनले भने 'तर भैरहेका कम्पनीसँग मिलेर कुनै विदेशी कम्पनी भित्रिए भने प्रचुर मात्रामा सम्भावना छ।' झाले नेपालको टेलिकम क्षेत्रमा दुईवटा कम्पनीको 'मार्केट मोनोपोली' भएका कारण सेवा महंगो भएको बताए।

प्रतिश्पर्धी तेस्रो कम्पनी आए अझै धेरै सस्तोमा उपभोक्ताले सेवा पाउने तथा राज्यले फ्रिक्वेन्सी बेचेर अझ धेरै राजश्व लिन सक्ने उनले बताए। नयाँ कम्पनी भित्रिने हो भने नेपालमा हाल भैरहेका ठूला कम्पनीको बजार हिस्सा घट्ने र प्रतिस्पर्धी बजार बढ्ने हुँदा गुणस्तर समेत बृद्धि हुने झाले बताए। सोही कारण प्राधिकरणले तेस्रो ठूलो दूरसञ्चार कम्पनी आओस् भन्ने चाहेको समेत जानकारी दिए।

नेपाल टेलिकमले धेरै फ्रिक्वेन्सी ओगटेर चुस्त व्यवस्थापन गर्न नसकेका कारण निकै आलोचना खेप्नुपरिरहेको अवस्था छ। 'पक्कै पनि हामी केहि दवावमा छौं, सेवामा व्यापकता र सुधारको खाँचो छ' टेलिकम प्रवक्ता प्रतिभा बैद्यले भनिन् 'ठूलो किसिमको नयाँ टेलिकम कम्पनी भित्रियो भने प्रतिस्पर्धी वातावरण बढ्ने र टेलिकमले पनि नयाँ किसिमले सोच्नुपर्ने अवस्था आउन सक्छ।'

भारतमा टेलिकम क्षेत्रमा फ्रिक्वेन्सी लिन धेरै प्रतिश्पर्धा भएका कारण पाउन निकै मुश्किल छ। नेपालमा पहिलोपटक दूरसञ्चार फ्रिक्वेन्सीलाई मोल बढाबढ (अक्सन) गरेर बेच्ने भने पनि नयाँ अपरेटर नआउन्जेल त्यस्तो हुन नसक्ने झाले बताए।

अहिलेसम्म नेपालमा 'फस्ट कम फस्ट प्रायोरिटी' अर्थात पहिले आउनेले नै प्राथमिकता पाउने आधारमा फ्रिक्वेन्सी दिने गरिएको छ।
यसअघि संसदीय समितिले पनि फ्रिक्वेन्सी  वितरण गर्दा अक्सन गर्न निर्देशन दिएको थियो। अक्सनको आधारभूत मूल्य पारित गर्न सञ्चार मन्त्रीको अध्यक्षमा रहेको फ्रिक्वेन्सी निर्धारण समितिमा पठाइए पनि उक्त फाइल मन्त्रीको टेवुलबाट मुभ भएको छैन्।

के छ नेपालमा फ्रिक्वेन्सीको अवस्था?
नेपालमा हाल सिडिएमएतर्फ नेपाल टेलिकमले ६ मेगाहर्ज र युटिएलले २.५ मेगाहर्जमात्र फ्रिक्वेन्सी लिएका छन्। त्यस्तै जिएसएमको नौ सय ब्याण्डतर्फ टेलिकमले ९.६, एनसेलले ८, स्मार्टले ४.४, हेल्लो नेपालले २.४ र सिजी टेलिकमले ५ मेगाहर्ज फ्रिक्वेन्सी लिएका छन्।
 

नेपाल टेलिकमसँग सवैभन्दा धेरै ७०.६ मेगाहर्ज फ्रिक्वेन्सी छ भने एनसेलसँग २९ मेगाहर्ज, युटिएलसँग १४.५ मेगाहर्ज, स्मार्टसँग १३.४ मेगाहर्ज, हेल्लो नेपालले २.४ मेगाहर्ज र सिजी टेलिकमले १७ मेगाहर्ज फ्रिक्वेन्सी लिएर बसेका छन्।

नाफामा मात्रै आँखा
नेपाली टेलिकम कम्पनीहरु चुस्त व्यवस्थापन सुधार र नवीन प्रविधिको प्रयोग गर्नुको सट्टा नाफामा केन्द्रित रहेको देखिन्छ। सरकारले दूरसञ्चार कम्पनीहरुले कमाउने 'ठूलो' नाफामा गम्भीर चासो देखाएको छ। 

दूरसञ्चार सेवा प्रदायक कम्पनीले लागतको तुलनामा नाफा धेरै नाफा गर्दै आएका छन्, सूचना प्रविधि सम्बन्धी जानकार मनोहर प्रसाद भट्टराईले भने, सेवा सुधार गरेर उपभोक्तालाई सरल ढंगमा सेवा दिन कुनै पनि टेलिकम कम्पनी तयार छैनन्।

नाफा बढ्दो, गुनासोमा वेवास्ता
नेपालमा सबै भन्दा धेरै मुनाफा गर्ने क्षेत्र दूरसञ्चार नै रहँदै आएको छ। एनसेल कम खर्चमा सबैभन्दा धेरै नाफा कमाउने कम्पनीमा पर्छ। नेपाल टेलिकमको नाफा पनि उच्च छ। 

तर, नेपालको दूरसञ्चार सेवामा गुणस्तरसम्बन्धी सबैभन्दा धेरै गुनासो आउने गरेको छ। अहिलेसम्म सेवा प्रदायक बारे २५ किसिमका गुनासो आएको र त्यसका लागि सूचना तथा सञ्चार मन्त्रालयले ठोस कदम चाल्ने भनिए पनि अहिलेसम्म केहि गर्न सकेको छैन।  

सर्वसाधारणले बढी पैसा काटेको, टावरले काम नदिएको, रिचार्ज कार्ड नपाएको, अनावश्यक एसएमएस, डिभाइस सम्वन्धि, सिम वितरण सम्वन्धि, अनधिकृत सेवा वितरण लगायत गुनासो धेरै गर्ने गरेको दूरसञ्चार प्राधिकरणले जनाएको छ। 

गुनासो सुन्ने नियामक निकाय प्राधिकरण भए पनि स्पष्ट रुपमा कानून कार्यान्वयन गर्न सकिरहेको छैन्। प्राधिकरणले भने पर्याप्त जनशक्तिको अभावमा सेवाको गुणस्तर जाँच गर्न नसकिएको जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell