PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

के अन्तरीक्षमा भगवानसँग तपाईँको भेट भएको थियो?



पहिलोपोस्ट

के अन्तरीक्षमा भगवानसँग तपाईँको भेट भएको थियो?

राकेश शर्मा अन्तरीक्षमा पाइला टेक्ने एकमात्र भारतीय हुन्। सन् १९८४ मा अन्तरीक्ष यात्रामा निस्किएका उनले त्यहाँ आठ दिन बिताएका थिए।

अन्तरीक्षबाट फर्किएपछि उनलाई भारतमा धेरैले सोधेको प्रश्न हो- 'अन्तरीक्षमा तपाईँको भगवानसँग भेट भयो?' यसमा शर्माको जवाफ हुन्थ्यो 'छैन, त्यहाँ भगवानसँग मेरो भेट भएन। 

उनले अन्तरीक्षमा यात्रा गरेको तीन दशकभन्दा पनि बढी भइसकेको छ। अचेल उनीसँग भेट गर्ने उनका प्रशंसकहरुलाई सत्यता र काल्पनिकताबीचको भेद छुट्याउन मुस्किल परिरहेको छ। 

शर्मा बताउँछन्, 'अचेल मकहाँ आउने धेरैजसो महिलाहरुले आफ्ना बच्चाहरुलाई यी अंकल चन्द्रमामा गएका थिए भनेर परिचय गराउँछन्।' 

अन्तरीक्षबाट फर्किएको एक वर्षसम्म उनी आफ्ना प्रशंसकहरुबाट घेरिइरहन्थे। त्यसबेला उनी कहीँ न कहीँको यात्रा गरिरहन्थे। भेटघाटको सिलसिलामा उनी होटल तथा गेस्टहाउसहरुमा हुन्थे। सभासमारोहहरुमा उनी विभिन्न व्यक्तिहरुसँग फोटो खिचिरहेका हुन्थे, भाषण दिइरहेका हुन्थे। 



वृद्ध महिलाहरुले उनलाई आशिर्वाद दिन्थे। प्रशंसकहरु उनीसँग निकै आकर्षित हुन्थे। उनीसँको सामीप्यतामा आएर उनका जीउका लुगासमेत फटाइदिन्थे। अटोग्राफ माग्नका लागि निकै पछ्याइ रहेका हुन्थे। नेताहरु भोट बटुल्नका लागि उनलाई आफ्ना सभा जुलुसहरुमा सँगै हिडाउँथे। 

उनी आफ्ना पूराना दिनहरु सम्झिँदै भन्छन्, 'त्यो निकै नै फरक अनुभव थियो। प्रशंसकहरुको मोहमा परेर म निकै थाकिसकेको थिए। हरेक क्षण मलाई हाँसिरहनु पर्ने बाध्यता बनेको थियो।' 

राकेश शर्मा २१ वर्षको उमेरमा भारतीय वायु सेनासित जोडिएका थिए। त्यहाँ उनी सुपरसोनिक जेट लडाकु विमान उडाउने काम गर्दथे। 

सन् १९७१ मा पाकिस्तानसित भएको लडाइँमा उनले २१ पटक उडान भरेका थिए। त्यसबेला उनी २३ वर्ष पनि टेकेका थिएनन्। २५ वर्षको उमेरमा उनी वायु सेनाको सबैभन्दा उच्चस्तरका पाइलट भएका थिए। 



उनले अन्तरीक्षमा पाइला टेकेकै वर्ष सन् १९८४ मा पञ्जाबको स्वर्ण मन्दिरमा सिख अंगरक्षकद्वारा इन्दिरा गान्धीको हत्या भएको थियो। 
यसपछि देशभरि नै सिखहरुका विरुद्ध दंगा फैलिएको थियो। 

यसै वर्षको अन्त्यमा भोपाल ग्यास काण्डमा परेर हजारौँ जना मरेका थिए। यो विश्वको त्रासदीपूर्ण घटनामध्येको एक थियो। 

एउटा सोभियत रकेटबाट राकेश शर्मा र दुई रूसी अन्तरीक्ष यात्री यूरी माल्यशेव र गेनाडी सट्रेकालोव अन्तरीक्ष यात्रामा गएका थिए। 



कठिन परिस्थितिबाट गुज्रिएको क्षण 
१९८४ भन्दाअघि नै इन्दिरा गान्धी भारतीय अन्तरीक्ष कार्यक्रम सुरू गर्नको लागि प्रयासरत थिइन्। यसका लागि उनी सोभियत संघबाट सहयोग लिइरहेकी थिइन्। 

शर्मालाई ५० फाइटर पाइलटमध्ये परीक्षा लिएर छनोट गरिएको थियो। उनका अतिरिक्त रविश मल्होत्रालाई पनि परीक्षा लिएर नै छनोट गरिएको थियो। पछि यी दुवै जनालाई प्रशिक्षणका लागि रूस पठाइयो। 

अन्तरीक्षमा जानुभन्दा एक वर्षअघि शर्मा र रवीश मल्होत्रा स्टार सिटी गएका थिए। जुन मस्कोबाट ७०किलोमिटर टाढा पर्दथ्यो। त्यहाँ अन्तरीक्ष यात्रीको प्रशिक्षण केन्द्र स्थापना गरिएको थियो। 

राकेश पुराना दिन सम्झिँदै भन्छन्, 'त्यहाँ निकै जाडो थियो। बरफमा हिँडेर हामीले एउटा घरबाट अर्को घरसम्म पैदल जानु पर्दथ्यो।' 
उनका सामु चाँडोभन्दा चाँडो रूसी भाषा सिकिसक्नु पर्ने चुनौती थियो। किनभने त्यहाँ उनलाई दिइने धेरैजसो तालिम रूसी भाषामा नै हुने गर्दथे। 

हरेक दिन उनी छ सात घण्टा रूसी भाषा सिक्ने गर्दथे। यसरी उनले तीन महिना लगातार मेहेनेत गरेर राम्रैसँग रूसी भाषा सिकेका थिए। 



त्यहाँ उनको खानापिनमाथि पनि ख्याल गर्ने गरिन्थ्यो। ओलम्पिक ट्रेनरले उनको स्टेमिना, गति र सामर्थ्यमाथि ध्यान दिइरहेका थिए र त्यसै अनुरुप उनलाई प्रशिक्षित गराइरहेका थिए। 

प्रशिक्षणका क्रममै उनले आफूलाई छानिएको र सहयोगीको रुपमा रवीश मल्होत्रा रहेको पनि जानकारी पाएका थिए। 

राकेश विनम्रतापूर्वक स्वीकार गर्छन्, 'यसमा कुनै ठूलो जटिलता थिएन।' 

तर विज्ञान विषयमा कमल चलाउने लेखक पल्लव बागला भने राकेश शर्माले विश्वासको निकै ठूलो छलाङ लगाएको बताउँछन्। 

उनले लेखेका छन्, 'राकेश आफ्नो कुनै पनि अन्तरीक्ष कार्यक्रम नभएको देशबाट यहाँसम्म आएका थिए, जसले कहिल्यै अन्तरीक्ष यात्री बन्ने सपना देखेका थिएनन्। तर उनले विषम भौगोलिक परिस्थितिमा बाहिरी देश गएर कठोर प्रशिक्षण हासिल गरे, नयाँ भाषा सिके। उनी वास्तवमै एक नायक हुन्।' 



३ अप्रिल १९८४ मा एउटा सोभियत रकेटमा राकेश शर्मा र दुई जना रूसी अन्तरीक्ष यात्री यूरी माल्यशेव र गेनाडी सट्रेकालोव अन्तरीक्षका लागि हिँडेका थिए। 

उनीहरु त्यसबेलाको सोभियत रिपब्लिक अफ कजाखस्तानको एउटा अन्तरीक्ष केन्द्रबाट रमाना भएका थिए। 

बोरिङ प्रस्थान 
राकेश शर्मा त्यो क्षण सम्झिँदै भन्छन्, 'अन्तरीक्षाका लागि प्रस्थान गरिरहेका बेला हामीलाई निकै बोरिङ अनुभव भइरहेको थियो। किनभने हामीहरुले यसको निकै अभ्यास गरेका थियौँ। हाम्रा लागि यो एउटा दैनिकीजस्तै भएको थियो। 

मैले राकेशलाई सोधेको थिए कि पृथ्वीबाट अन्तरीक्षमा जाने बेला के तपाईँहरुलाई असहज अनुभव भएको थियो? 
यसमा राकेशको जवाफ थियो, 'हेर्नुस्, अन्तरीक्षमा जाने म १२८ औँ व्यक्ति थिए। त्यहाँबाट १२७ जना जिउँदै फर्केका थिए। त्यसैले डराउनु पर्ने कुनै कारण थिएन।' 

राकेश शर्मा र उनीसँग जाने अन्तरीक्ष यात्रीले अन्तरीक्षमा करिब आठ दिन बिताएका थिए। 

राकेश शर्मा अन्तरीक्षमा योगाभ्यास गर्ने पहिलो व्यक्ति हुन्। उनले त्यहाँ योगाभ्यास गरेर यसबाट गुरुत्वको असर कम गर्न सकिन्छ कि भनेर थाहा पाउने कोसिस गरे। 

उनले बताए, 'यो निकै गाह्रो काम थियो, हामीलाई आफ्नो खुट्टामुनि कुनै पनि बोझ महसुस हुँदैनथ्यो। हामी सम्पूर्णतामा हावामा तैरिरहेका थियौँ। त्यसैले आफूलाई थामेर राख्नको लागि केही उपाय निकालिरहनु पर्दथ्यो।' 

अन्तरीक्षबाट फर्किएपछि तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले राकेशलाई सोधेकी थिइन्- 'अन्तरीक्षबाट भारत कस्तो देखियो?'   
उनले हिन्दीमा भनेका थिए, 'सारे जहाँ से अच्छा'। 

उनी मोहम्मद इकबालको एउटा कलाम स्कुले दिनमा सधैँ राष्ट्रियगानपछि गाउने गर्दथे। 



यसबारे उनी भन्छन्, 'यो मलाई राम्ररी सम्झना छ। यसमा कुनै पनि देशभक्तिको उन्माद थिएन। वास्तवमा अन्तरीक्षबाट भारत निकै मनमोहक देखिइरहेको थियो।' 

न्युयोर्क टाइम्सले त्यस बेला लेखेको थियो कि लामो समयसम्म भारतको आफ्नो कुनै मानव अन्तरीक्ष यात्रा हुने छैन। लामो समयसम्म राकेश शर्मा अन्तरीक्ष पुग्ने एकमात्रै भारतीय बनिरहनेछन्। 

एकमात्रै भारतीय अन्तरीक्ष यात्री 
न्युयोर्क टाइम्सको यो भनाइ साँचो प्रमाणित भएको छ। भारतबाट पहिलो पटक अन्तरीक्षमा पाइला राखेका शर्मा  आज 33 वर्षपछि पनि एक्लै भारतीय अन्तरीक्ष यात्रीका रुपमा रहेका छन्। 

भारत अझै पनि आफ्नो देशको नागरिकलाई अन्तरीक्षमा पठाउने सपना देखिरहेको छ। 

अन्तरीक्षबाट फर्किएपछि राकेशले फेरि जेट पायलटको रुपमा आफ्नो काम सुरु गरे। 

उनले थुप्रै तेजस विमानहरु उडाए। जहाज, टैंक र पनडुब्बीका लागि सफ्टवेयर तयार गर्ने बोस्टनको एउटा कम्पनीमा उनले चीफ अपरेटिंङ अफिसरका रुपमा पनि काम गरे। 



आठ वर्षअघि 
आठ वर्षअघि रिटायर भएपछि उनले आफ्नो सपनाको घर बनाए। उन सपनाको घरको छत तेर्सो छ। बाथरूममा सोलार हिटर जडान गरिएको छ। वर्षातको पानी एकै ठाउँमा जम्मा हुन्छ। 

उनी आफ्नी इन्टेरियर डिजाइनर श्रीमती मधुसँग यो घरमा बस्छन्। 

अहिले उनको जीवनमा आधारित एउटा बायोपिक बन्ने चर्चा चलेको छ। जसमा आमिर खान राकेश शर्माको भूमिकामा देखिने कुरा सुनिन्छ। 

उनलाई मेरो अन्तिम प्रश्न थियो- 

  • के तपाईँ फेरि अन्तरीक्षमा जान चाहनुहुन्छ? 
आफ्नो घरको छतबाट बाहिर हेर्दै उनले भने, 'मलाई अन्तरीक्षमा फेरि जान मन छ। तर यसपटक भने म एउटा पर्यटकका रुपमा जान चाहन्छु। उतिबेला म त्यहाँ जाँदा हामीसँग थुप्रै कामहरु थिए।' 

(सौतिक विश्वासले हिन्दी बिबिसीका लागि तयार पारेको विशेष रिपोर्टको नेपाली अनुवाद)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell