PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'लोडसेडिङ मुक्त नेपाल' मिसनमा कुलमानको ट्रायल, ९२० मेगावाट बिजुली आपूर्ति हुँदा देशभर उज्यालो



पहिलोपोस्ट

'लोडसेडिङ मुक्त नेपाल' मिसनमा कुलमानको ट्रायल, ९२० मेगावाट बिजुली आपूर्ति हुँदा देशभर उज्यालो

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसइई) को अवसर पारेर नेपाल विद्युत प्राधिकरणले देशभरबाट लोडसेडिङ हटाउने मिसनको सफल परीक्षण गरेको छ।
 
बुधबार साँझ देशभर नै उज्यालो दिन सफल भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। ‘एलएलसीको तयारीमा रहेका बालबालिकालाई कठिनाइ नहोस् भनेर देशभरनै शून्य लोडसेडिङ अभियान चलाएका थियौँ,' उनले भने, 'त्यस अनुरुप व्यवस्थापन गर्न सफल भयौँ।’
 
एसइई तात्कालिक आधार भए पनि यसबाट प्राधिकरणले देशभरबाट लोडसेडिङ हटाउने प्रयासमा महत्वपूर्ण खुड्किलो पार गरेको छ।
 
घिसिङका अनुसार बुधबार साँझको पिक आवरमा देशभर ९२० मेगावाट बिजुली आपूर्ति भएको थियो। जसकारण देशका कुनै पनि भेगमा लोडसेडिङ गर्नु नपरेको उनले जानकारी दिए।
 
केही ‘डेफिसिट’ रहेको दुई नम्बर प्रदेशमा ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनबाट आयात गरिएको बिजुलीका अलावा स्थानीय होटल एवं उद्योगहरुले समेत पिक आवरमा खपत घटाएर सहयोग गरेका थिए।
 
अहिले भारतबाट अधिकतम ३७० मेगावाटसम्म बिजुली आयात भइरहेको छ। गत वर्ष १२ घन्टा लोडसेडिङ हुँदा समेत ३४५ मेगावाट आयात गरेको तात्कालीन कार्यकारी निर्देशक मुकेश काफ्लेले सार्वजनिक रुपमै बताएका थिए।
 
यसरी २५ मेगावाट आयात बढाएर प्राधिकरणले देशैभरको लोडसेडिङ व्यवस्थापन गर्न सफल भएको हो। अहिले मुलुकका मुख्य आयोजनाहरु पिक आवरमा पूर्ण क्षमतामा चलाउन सफल भएको घिसिङले जानकारी दिए।
 
राति र दिउँसो माग कम भएको बेला नचलाउँदा पिक आवरमा मुलुकको सबैभन्दा ठूलो कालीगण्डकी ए जलविद्युत आयोजना पूर्ण क्षमतामा चलेको घिसिङको भनाइ छ। कालीगण्डकीबाट १४४ मेगावाट बिजुली उत्पादन हुन्छ। त्यस बाहेक कम माग भएको बेला साँचेर कुलेखानी, मर्स्याङ्दी, मध्य मर्स्याङ्दी लगायत परियोजना समेत पिक आवरमा पूर्ण क्षमतामा चलाइएको छ।
 
यी आयोजनामध्ये अधिकांशको मर्मत समेत सकिएको र अब १५ चैतपछि कालीगण्डकी मर्मत गर्ने प्राधिकरणको तयारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell