PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चीनबाट आयातीत मल कोलकातामा फसेको एक महिनापछि नेपाल भित्रियो, अब सोझै भारतबाट आयात हुने



पहिलोपोस्ट

चीनबाट आयातीत मल कोलकातामा फसेको एक महिनापछि नेपाल भित्रियो, अब सोझै भारतबाट आयात हुने

वीरगञ्ज : कृषि सामाग्री कम्पनीले चीनबाट आयात गर्दै आएको डिएपी मल अब सीधै भारतसँगै किन्ने भएको छ। कम्पनीले  भारतसँग साढे ७ हजार मेट्रिक टन डिएपी मल आयात गर्नका लागि टेण्डरसमेत निकालिसकेको छ।

३ रेल्वे र्यालकमा ७ हजार ५ सय मेट्रिक टन डिएपी मल आयात गरिने कृषि सामग्री कम्पनी लिमिटेडका क्षेत्रीय प्रमुख अजय श्रीवास्तवले जानकारी दिए।

यसअघि स्वीस सिंगापुर कम्पनीमार्फत चीनबाट आयात हुँदै आएको मल लामो समयदेखि नेपाल भित्रिन सकेको थिएन।

नेपाल सरकार र आयात गर्ने कम्पनीबीच लेनदेनको विषयमा ढिलाई हुँदा मल कोलकाता बन्दरगाहमा फसेको बताइएको छ।

एक महिनादेखि बन्दरगाहमा फसेको १५ हजार मेट्रिक टन डिएपी मल केही दिनअघिमात्रै वीरगञ्ज आइपुगेको हो।

कूल २० हजार मेट्रिक टन डिएपी मलमध्ये हालसम्म १५ हजार मेट्रिक टन मल सुख्खा बन्दरगाह आइपुगेको र यसै साताभित्र सुख्खा बन्दरगाहमा बाँकी रहेका दुई र्याक मल पनि आइपुग्ने बताइएको छ। योसँगै स्वीस सिंगापुर कम्पनीसँगको डिल सकिने र अब सोझै भारतबाट मल आयात हुने क्षेत्रीय प्रमुख श्रीवास्तवले जानकारी दिए।

एक रेल्वे र्यालकमा २५ सय मेट्रिक टन मल हुन्छ। यस लटमा कुल आयात हुन लागेको २० हजार मेट्रिक टन डिएपी मलमध्ये साढे ७ हजार मेट्रिक टन मल कम्पनीको वीरगञ्ज क्षेत्रीय कार्यालय, साढे ७ हजार मेट्रिक टन भैरहवा क्षेत्रीय कार्यालय र बाँकी ५ हजार मेट्रिक टन विराटनगर क्षेत्रीय कार्यालयका लागि ल्याइएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell