PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

मध्यपहाडी सडक विस्तारमा अवरोध, मुआब्जा माग्दै स्थानीय संघर्षमा



रासस

त्रिशूली : पुष्पलाल-मध्यपहाडी लोकमार्गको नुवाकोटको ढिकुरेदेखि गङ्गटेसम्म विस्तारको क्रममा मुआब्जा नदिएको भन्दै स्थानीयवासीले अवरोध पुर्‍याएका छन्।
 
सडक विस्तारको क्रममा मुआब्जा नदिई सडक छेउका बस्ती हटाउन लागेको भन्दै स्थानीयवासी सङ्घर्ष समिति गठन गरी उनीहरु विरोधमा उत्रिएका छन्।
 
सडक विस्तारले १०० भन्दा बढी घरपरिवार सुकुम्बासी हुने भन्दै मध्यपहाडी लोकमार्गलाई वैकल्पिक स्थान हुँदै विस्तार गर्नुपर्ने सङ्घर्ष समितिका संयोजक नारायण अधिकारीले बताए। 'विनाशकारी भूकम्पबाट पीडित बासिन्दामध्ये पहाडी सडक विस्तारले पीडित मात्र नभई सुकुम्बासी हुने भएका छन्,' उनले भने।
 
सङ्घर्ष समितिका संयोजक अधिकारीले भएको जग्गा सडकको अतिक्रमणमा परी विस्थापित हुन लागेकाले बाध्य भएर आफ्नो सम्पत्तिमा अधिकार र हक सुनिश्चित गर्न सडक विस्तारलाई अवरोध पुर्‍याएको बताए।
 
पुष्पलाल–मध्यपहाडी लोकमार्गको विस्तारको क्रममा नुवाकोटको ढिकुरेदेखि गङ्गटेसम्म सडकको लागि छुट्टाउनुपर्ने जग्गा समेत अन्योल रहेको अधिकारीको गुनासो छ।
 
सडकको दायाँबायाको क्षेत्रफल १५ मिटर वा २१ मिटर तथा २५ मिटरसम्मको चर्चा चलेको र सम्बन्धित कार्यालयबाट आधिकारिक सूचना जारी नहुँदा सडक छेउका बासिन्दा आवास निर्माण गर्न अन्योल भएको सङ्घर्ष समितिले जनाएको छ।
 
जिल्लाको गङ्गटेदेखि ढिकुरेसम्मको मध्यपहाडी सडक क्षेत्रमा पर्ने स्थानीयवासी मिलेर गठन गरेको सङ्घर्ष समितिले फागुन दोस्रो साता नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेललाई ज्ञापनपत्र बुझाएर समस्या समाधानको लागि पहल गर्न आग्रह गरे पनि बेवास्था गरेको गुनासो गरेका छन्।
 
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सडकको साविकको विदुर नगरपालिका, सामरी, कल्याणपुर, खानीगाउँ, थानसिङ, महाकाली, सूर्यमतिलगायतका गाविसमा सीमाङ्कन अझै अन्योल रहेको छ।
 
सिन्धुपाल्चोकबाट नुवाकोट हुँदै धादिङतर्फ जाने मध्यपहाडी सडकले नुवाकोटको साविकको एक नगरपालिका र १२ गाविस हुँदै सञ्चालन हुने बताए पनि त्यो प्रारम्भिक अध्यनन भनेर उल्लेख गरिएको छ।
 
अहिलेको योजना अनुसार जिल्लाको तलाखु, लिखु, महाकाली, भदु्रटार, सुनखानी, थानापति, थानसिङ, सूर्यमति, खानीगाउँ, चारघरे, विदुर नगरपालिका, कल्याणपुर र सामरी गाविस हुँदै धादिङ प्रवेश गर्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell