PahiloPost

May 23, 2018 | ९ जेठ २०७५

हामी कति असहिष्णु?


पहिलोपोस्ट /पहिलोपोस्ट

हामी कति असहिष्णु?
  • रुपेश कुमार कर्ण
एमालेको हठ, मधेसी मोर्चाको अवरोध र सरकारी अदुरदर्शिताको परिणामले निम्त्याएको दु:खद् सप्तरी घटना अहिले सामाजिक सञ्जाल, पत्रपत्रिका, टिभी हरेकतिर छाएको छ। नेपाली समाज, युवा, विद्यार्थी, बुद्धिजीवी, पत्रकार, नागरिक समाज ध्रुवीकृत भएका छन्। विश्लेषण गर्दा सो घटनाले मधेस मात्र नभई सारा नेपाली समाज अतिवादी सोचको शिकार भएको हो कि भन्ने भान हुन्छ। झन् सामाजिक सञ्जालमा व्यक्त विचारहरुले हामी कति असहिष्णु र संवेदनहीन भएका छौँ भन्ने छर्लंग भएको छ।
 
लोकतन्त्र, संघीयता र समावेशिताका नारा लगाई नथाक्ने राजनीतिक दलहरुबीच निषेध र प्रतिशोधको प्रतिस्पर्धात्मक होडबाजी चलेको भन्दा केही अत्युक्ति नहोला। लोकतान्त्रिक र मानवीय आचरणलाई तिलान्जली दिँदै उत्तेजक अभिव्यक्ति, हिंसा भड्काउने नारा, अवान्छनीय क्रियाकलापका लागि प्रोत्साहित गर्नेहरु पनि उतिकै मात्रामा सक्रिय छन्। हिजोसम्म बहुलजाती, भाषा, धर्म, संस्कृति भएको एकीकृत नेपाली समाज आज पहाडे-'मदिसे', दलविशेष भनेर बाँडिएको छ। राजनीतिले जनतालाई तोड्ने, विभाजन ल्याउनेभन्दा पनि जोड्ने काम गर्नुपर्थ्यो तर दुर्भाग्य! अहिले हाम्रोमा त्यस्तो भइरहेको छैन।
 
सप्तरी घटनामा मारिने व्यक्तिहरु कुनै जात, वर्ग, समुदाय, दल विशेषभन्दा पनि नेपाली नै हुन्। घटनामा केही हदसम्म घृणित राजनीतिक मानसिकताको जित भए पनि नेपाली हारेको देखिन्छ। आज ‘जय मधेस’ वा ‘जय नेपाल’ शब्द एकअर्काको प्रतिस्पर्धी नारा भएको छ। जबकि ‘जय मधेस’ भने पनि ‘जय नेपाल’ हो र ‘जय नेपाल’ भनेकै ‘जय मधेस’ हो। दुर्भाग्य, हामी शब्दरुपी जालमा अल्झेर विभाजित भइरहेका छौँ।
 
मधेसको अर्थ म : महान्, धे : धैर्य र श : शान्त हो। तर मधेस प्रदेश आज अशान्त छ, ‘जय मधेस’ जस्तो पवित्र शब्द बन्दहडताल हिंसाजन्य क्रियाकलापसँग जोडेर आइनुले ‘मधेस’ र ‘मधेसी’को अपमान भइरहेको महसुस भएको छ। संघीयता, समावेशीकरण र अधिकारवादी लडाइँमा अग्रणी नेतृत्व लिने मधेस आज केही व्यक्तिहरुको हठ, उछृङ्खल अभिव्यक्ति र प्रवृतिका साथै अमुक घुसपैठले बद्नाम हुँदै गएको छ। अधिकारवादी आन्दोलनहरु बन्द, सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी, राजनीतिक फाइदाको लागि व्यक्तिगत रिसिबी साध्ने आन्दोलनको रुपमा चित्रित हुँदै गएको प्रति सबै सचेत हुनु आवश्यक देखिन्छ। विरोधका कार्यक्रम जसका विरुद्ध लक्षित गरी गरिएको हो, त्यसलाई खासै प्रभाव नपरेको र अनाहकमा सर्वसाधारणलाई प्रभावित पारेको सर्वविदितै छ। अधिकारवादी आन्दोलनका नाममा थुप्रै मानवीय संवेदनासँग जोडिएका अधिकारहरु हनन् भएकोमा सबैले सोच्नुपर्ने अवस्था आएको छ। विचार राखेकै आधारमा राष्ट्रवादी, दक्षिणपन्थी, मधेसवादी, मधेसविरोधी, दलालजस्ता चारित्रिक प्रमाणपत्र भिडाउने चलन अहिले सामान्य बनेको छ।
 
राजनीतिक विषयमा रहेको विमति-विवादहरु संवाद, सहमति र छलफलबाट संसदमा छिनोफानो हुनुपर्ने हो तर सडकमा शक्ति प्रदर्शन गर्ने प्रचलनले नेपाली समाजले दिनानुदिन आर्थिक, सामाजिक र मानवीय क्षति बेहोर्नुपरेको छ। हामीले नै तिरेको करबाट बनाइएका र पछि हाम्रो प्रदेश वा क्षेत्रको मातहत आउने सरकारी कार्यालय, पूर्वाधार, सार्वजनिक सम्पति जानीजानी वा आवेशमा तोडफोड, आगजनी गरी क्षति पुर्‍याउन हामी नै उद्यत देखिन्छौँ। ‘जय मधेस’को नारा लगाउन सेल्फी खिचाई सामाजिक सञ्जालमा राख्न नि भ्याएका हुन्छौं।
 
चाहे मधेस होस् या पहाड समस्या सिर्जना गर्ने राजनीतिक परिपाटीभन्दा पनि स्थानीय स्तरमा देखिएको बेथितिहरुको अन्त्य गर्ने मर्यादित राजनीति हुनुपर्दछ। संक्रमणकालको बहानामा देशलाई लामो समयसम्म बन्धकी बनाउनु हाम्रा राजनीतिक दलको अक्षमता हो। अहिले युवाहरुमा देखिएको राजनीतिप्रतिको आक्रोशलाई समाधान गर्न विकास र निकासका लागि रचनात्मक पहल गर्नुपर्ने सबैको जिम्मेवारी हो। संसदमा अड्केको संविधान संसोधन विधेयक पास गरेर होस् या शीर्ष नेताहरुबीच निष्कर्ष सहितको परिणाममुखी वार्ता गरेर होस्; २० वर्षदेखि अस्तव्यस्त रहेको स्थानीय तहको निर्वाचन हुन जरुरी छ। तसर्थ, ‘जय मधेस’ र ‘मधेसी’को गरिमा बचाउन पनि हामी मधेसवासी नै पहिला धैर्य र संयमित हुनु जरुरी छ।
 
लोकतन्त्रको हवाला दिँदै अलोकतान्त्रिक गतिविधि प्रदर्शन गर्नु लाजमर्दो कुरा हो। कुनै पनि बहानामा मान्छे मारिनु हुँदैन। अब मान्छे मारिने राजनीति बन्द गरिनुपर्छ, आफ्नो विचार राख्ने वा विरोध गर्नेले पनि लाठी, ढुंगा, गालीगलौज, आगजनी गर्नुभन्दा पनि आफ्नो मताधिकार प्रयोग गर्नु उपयुक्त र सही हुनेछ। 


हामी कति असहिष्णु? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट