PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कोलकत्ता बन्दरगाहमा फसेको १५ हजार मेट्रिक टन डिएपी मल वीरगन्ज आइपुग्यो



राधेश्याम पटेल

वीरगन्ज : एक महिनायता कोलकत्ता बन्दरगाहमा फसेको १५ हजार मेट्रिक टन डिएपी मल वीरगन्ज आइपुगेको छ।
 
कृषि सामग्री कम्पनी लिमिटेडले नेपालका लागि आयात गरेको डिएपी मलको ६ रेल्वे र्‍याक सिर्सिया सुख्खा बन्दरगाह ,वीरगन्ज आइसकेको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख अजय श्रीवास्तवले बताए। स्विस सिंगापुर कम्पनी मार्फत आयात गरिएको २० हजार मेट्रिक टन मलमध्ये हालसम्म १५ हजार मेट्रिक टन सुक्खा बन्दरगाह पुगेको उनले बताए। स्विस सिंगापुर कम्पनीले चीनबाट भारतको कोलकत्ता बन्दरगाह हुँदै डिएपी मल नेपाल पठाउने गरेको छ।
 
१५ दिनअगाडि नेपाल सरकार र आयात गर्ने कम्पनीबीच लेनदेनको विषयमा ढिलाइ हुँदा मल कोलकत्ता बन्दरगाहमा फसेको थियो। क्षेत्रीय प्रमुख श्रीवास्तवका अनुसार ६ रेल्वे र्‍याकमा गरी १५ हजार मेट्रिक टन मल नेपाल भित्रिइसकेको छ। ५ हजार मेट्रिक टन अर्थात दुई र्‍याक भने आउन बाँकी छ।
 
यसै साताभित्र सुक्खा बन्दरगाहमा बाँकी दुई र्‍याक मल आइपुग्ने श्रीवास्तवले बताए। एक रेल्वे र्‍याकमा २५ सय मेट्रिक टन मल हुने गरेको छ। यस लटमा कुल आयात हुन लागेको २० हजार मेट्रिक टन डिएपीमध्ये साढे ७ हजार मेट्रिक टन मल कम्पनीको वीरगन्ज क्षेत्रीय कार्यालय, साढे ७ हजार मेट्रिक टन भैरहवा क्षेत्रीय कार्यालय र बाँकी ५ हजार मेट्रिक टन विराटनगर क्षेत्रीय कार्यालय पठाइनेछ।
 
यसैबीच, नेपाल सरकारले अगामी दिनमा भारतबाट डिएपी मल झिकाउने प्रक्रिया थालेको छ। सरकारले भारत सरकारसँग सोझै साढे ७ हजार मेट्रिक टन डिएपी आयात गर्न टेण्डर निकालिसकेको छ। ३ रेल्वे र्‍याकमा ७ हजार ५ सय मेट्रिक टन डिएपी मल यहाँ आउने भएको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell