PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जुम्लाको यस्तो गाउँ, जहाँका प्रहरी नै फोन गर्नका लागि तीन घन्टा हिँड्छन्



रासस

जुम्ला : यहाँको ताम्ती गाविस टोप्लास्थित अस्थायी प्रहरी चौकीका प्रहरीलाई फोन सम्पर्कका लागि तीन घन्टा पैदल हिँड्नुपर्ने बाध्यता छ।
 
ताम्ती गाविसमा नेपाल टेलिकमको जिएसएम टावर नै छैन र सिडिएमए सहज पहुँचमा नहुँदा भनेको बेला फोन सम्पर्क नसकिएको स्थानीयवासी बताउँछन्।
 
गाविसमा ठूला घटना पर्दा जिल्लामा सम्पर्क गर्ने सञ्चारको सहज माध्यम नहुँदा ४ घन्टाको पैदल बाटो हिँडेर कुडारी गाविसमा पुगेपछि फोन सम्पर्क गर्नु परेको अस्थायी प्रहरी ताम्तीका इन्चार्ज जीवराज योगीले जानकारी दिए।
 
सानातिना घटना यहीँ समाधान भए पनि ठूला घटनाका लागि जिल्लामा सम्पर्क गर्नुपर्दछ, तर भनेको बेला माथिल्लो निकायमा कुनै पनि कुरा जानकारी गराउन पाइँदैन, ईञ्चार्ज योगीले दुःख पोखे।
 
प्रहरी हवल्दार वीरबहादुर शाहीले फोन, मोबाइल मात्र नभएर रेडियो, एफएम पनि सुन्न नपाइएको गुनासो गरे। 'रेडियो नेपाल सुन्नलाई अलि अग्लो ढिस्कोमा जानुपर्छ, तर पनि राम्रोसँग लाग्दैन,' उनको भनाइ छ।
 
स्काई फोन राम्रोसँग नलाग्दा नागरिकलाई सञ्चार गर्न गाह्रो भएको कालिका मावि ताम्ती टोप्लाका प्रधानाध्यापक मानबहादुर शाहीले जानकारी दिए। 'न यहाँ स्काई टावर छ, न त नमस्ते टावर नै। धेरै पटक पहल गरियो, त्यसको राम्रोसँग सुनुवाइ हुन सकेको छैन,' उनले भने।
 
नेपाल टेलिकम जुम्लाका प्रमुख श्रीधर अधिकारीले नमस्ते टावर राख्नका लागि प्राविधिक टोली सर्भे गर्न ताम्ती पुगेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell