PahiloPost

Mar 24, 2017 | ११ चैत्र २०७३


टाउकोले जमिन टेकेर अघि बढेका 'कार्टुन्ज'को डान्सिङ यात्रा


स्वेच्छा राउत/पहिलोपोस्ट

टाउकोले जमिन टेकेर अघि बढेका 'कार्टुन्ज'को डान्सिङ यात्रा
काठमाडौं : आश्मा विश्वकर्मा कक्षा आठमा पढ्थिन्। स्कुलमा हुने हरेक कार्यक्रममा नाच्न अघि सर्थिन्। विशेषगरी सांस्कृतिक नृत्यमा रुचि राख्ने उनलाई एक दिन साथी सुरजले युट्युबमा बिबोइङ डान्स फर्म देखाए। आफूले गर्दै र देख्दै आएको भन्दा फरक डान्सिङ स्टाइल हेर्दा उनी चकित परिन्।
 
'डान्सको स्टाइल देखेरै छक्क परेँ,' पहिलो पटक ब्रेक डान्सको भिडियो हेरेको उनले सम्झिइन्, 'बिगर्ल भिडियो हेर्दा केटीले पनि गर्न सकिने रैछ भन्ने लाग्यो। ममा छुट्टै ऊर्जा जाग्यो।'
 
ब्रेकिङ डान्स सिक्न उनी तयार त थिइन् तर यसका लागि वातावरण सहज थिएन।
 
सुरुसरुमा बिबोइङका साधारण स्टेप भने उनले आफैँ सिकिन्, साथी सुरजको सहयोगमा। सन् २००८ मा सुरजले उनलाई सिक्नका लागि ठमेलको एनबिएफमा लिएर गए। त्यो बेला बिबोइङ सिक्नका लागि ठाउँ पाउनु नै ठूलो कुरा थियो।
 
आश्माको परिवार भने उनको रहर र ब्रेक डान्स सिक्ने अठोटको पक्षमा थिएनन्। छोरीलाई नृत्य सिक्नकै लागि दिनहुँ घरबाहिर पठाउनु उचित ठानेनन् उनका बुवा आमाले।  
 
'ममी बाबाको इच्छाविपरीत नै डान्स क्लास जान थालेँ। कति पटक त गाली पनि खाएँ,' उनलाई साँच्चिकै अप्ठेरो अवस्था आइलागेको थियो, 'गाली मात्र होइन, पिटाइ पनि खाएँ।' तर अहिले उनलाई लाग्छ- सानै उमेरमा गरेको जिद्दीले राम्रो नतिजा दिएको छ।
 
आश्माका मामा र दिदी भने उनको रहरप्रति सकारात्मक रहे। त्यसैले पनि आश्माले आफ्नो रहरलाई मर्न दिइनन्। दैनिक हाडीगाउँबाट ठमेल पुग्थिन्। बुवाआमाको असहमतिले दिएको पीडा त थियो नै, ब्रेकडान्स सिक्दा लडेर र ठोक्किएर भएका घाउले दिने शारीरिक पीडा पनि छुट्टै।
 

एक्ली बिगर्ल


युट्युबमार्फत चर्चा कमाएको डान्स ग्रुप 'कार्टुन्ज क्रु'को एक मात्र महिला सदस्य हुन् आश्मा विश्वकर्मा। छ जनाको समूहकी एक्ली बिगर्ल भन्छिन्, 'त्यो बेलामा आफ्नो इच्छा दबाएको भए पनि म दु:खी त हुन्न थिएँ होला तर अहिले जति खुसी पनि हुन्नथेँ होला।'
 
उनको जस्तै रह्यो कार्टुन्ज क्रुका अर्का सदस्य सरोज अधिकारीको बिबोइङको सुरुवाती दिन। 'सुन्निएका हातखुट्टा र रगताम्य लुगा लिएर घर पुग्दा कतिपटक बाहिरै बास भयो,' सरोज हिजो र आजको समय तुलना गर्छन्, 'खाली भुइँमा वा चौरमा सिक्नुपर्थ्यो। अहिलेको जस्तो प्रोफेसनल गुरु र सिकाइ नै नहुने।'
 
आश्मा विश्वकर्मा, सरोज अधिकारी, लाक्पा लामा, विकास राई, राम घले र सुबिन अधिकारी। नेपालमा बिबोइङको स्कोप भर्खर फराकिलो बन्दै गर्दा एफ्रो-अमेरिकन डान्स फर्मका पारखी बनेका थिए यी युवा। सबैको भेट भएको थियो- एनबिएफ वा कुनै कार्यक्रम वा प्रतियोगितामा। त्यस समय सायद कसैले सोचेका थिएनन् ‘कार्टुन्ज क्रु’ बन्छ भन्ने।
 
सबैको आ-आफ्नै डान्सिङ ग्रुप थियो। सरोजको बोइज अफ कीर्तिपुरको ठूलो समूह भने बिस्तारै सानो हुँदै थियो। कारण थियो पढाइ, काम र विदेशीने बहानामा साथीहरुले ग्रुप छोड्नु। राम घलेको सर्भाइभर्स क्रु पनि टिक्न सकेन। आश्माको बिगर्ल समूह अनि लाक्पाको स्याडो नेपाल सबैमा नाच्नेहरुकै अभाव महसुस हुन थालेको थियो।
 
राम सुनाउँछन्, 'धेरैको त परिवार कन्भिन्स नहुनु नै डान्स र ग्रुप छोड्नुको सबैभन्दा ठूलो कारण बन्यो। आमाबुवालाई छोराछोरीले बिना काम बिना कमाइ कार्यक्रम, डान्स, ग्रुप भन्दै हिँडेको राम्रो नलाग्नु पनि स्वाभाविक थियो।'
 
सरोज र राम भने बिबोइङ छोड्ने पक्षमा थिएनन्। यी दुईको सोच कतै मेल खायो किनकि दुवै आफू मात्र नाच्ने पक्षमा थिएनन्। आफूहरु जस्तै नाच्न चाहनेहरुका लागि सिक्ने र नाच्ने वातावरण बनाउन चाहेको बताउँछन् राम। 'हामीले परिवारको जुन अस्वीकृतिबीच नाच्दै हिँडेका थियौ, त्यो अवस्थाको अन्त्य चाहन्थ्यौं,' उनी भन्छन्।
 
सरोजले २०१० मा राम, आश्मा, लाक्पा, विकास, सुबिन, बिस्ट लगायतका अन्य सदस्यलाई नयाँ ग्रुप बनाउने प्रस्ताव राखे। सबै सहमत भए। जता, जसरी हुन्छ नाच्नु र फरक प्रस्तुति दिने उद्देश्यले नै यसरी ‘कार्टुन्ज क्रु’ स्थापना भयो।
 
'कार्टुन्ज क्रु'को स्थापनापछि यो ग्रुपको डान्सिङ यात्रा फरक रह्यो। सुबिन भन्छन्, 'सेकेन्ड होम बन्यो। ग्रुपकै मेम्बरसँग रुँदा पनि फरक नपर्ने गरी।' 
 
हुन पनि यी कार्टुन्जले आज चर्चा कमाउनुअघिको यात्रा सहज रहेन।
 
राम सुबिनलाई बिबोइङ स्टेप सिकाउँथे। यसका लागि सुबिन रानीबारीबाट बसुन्धरासम्म पुग्थे। 'घरमा म नाचेको मन पराउनुहुन्नथ्यो। नाच्न सिक्नलाई नै गाडी भाडा माग्थेँ तर दिनुहुन्नथ्यो,' रामले तितो क्षण सम्झिए, 'मलाई त जसरी पनि सिक्नु थियो. त्यसैले हिँडेरै पुग्थेँ बसुन्धरासम्म।' 
 
बेलुकी फर्किएपछि गाली खाने डरले लुकेर भित्र छिर्ने र किताब समातेर निदाउने गरेको क्षण पनि उनी भुल्न सक्दैनन्।
 
आश्माले त पिटाइ पनि खाइन्। कार्टुन्ज क्रुले आश्माको परिवारलाई डान्स र यसमा उनको सम्भावनाबारे सम्झाए। आश्मा भन्छिन्, 'ग्रुपमा म एक्लो केटी थिएँ। तर दाइहरु मेरो घरमा गएर 'म सुरक्षित रहन्छु। मैले डान्समा राम्रो गर्न सक्छु' भन्ने जस्ता कुराहरु सम्झाउनुभयो।' 
 
यो ग्रुपले सार्वजनिक कार्यक्रमहरुमा प्रस्तुति दिन थालेको थियो। जसका लागि घन्टौं अभ्यास गर्थे उनीहरु। एकअर्कालाई नआएको स्टेप सिकाउँथे, बुझाउँथे। डान्स सिक्नका लागि जम्मा हुने कार्टुन्ज क्रुका सदस्यहरु आफ्नो सुख, दुःखको कुरा पनि एकअर्कासँग साट्न थाले। 'घरमा गाडी भाडा माग्न नसक्नाले कीर्तिपुरबाट हाँडीगाउँसम्म हिँडेर डान्स प्राक्टिस गर्न आउँथेँ,' सरोजको पीडा पनि लगभग उस्तै थियो। सुबिनको कथा पनि उस्तै छ। सुनाउँछन्, 'घरमा गाली खाएको कुरा सिरक भित्र छिरेर राम वा सरोजलाई फोन गर्थें र सुनाउँथे।' 
 
'कि घरमा हुन्थ्यौं कि ग्रुपमा', लाक्पा भन्छन्। डान्स सिक्नु र डान्स प्रति परिवार, आफन्त र आम मान्छेलाई सकारात्मक बनाउनु नै कार्टुन्ज क्रुको प्राथमिक सपना बन्यो। 
 
सुरुसुरुमा कार्टुन्ज क्रु कुनै डान्स निर्देशन गर्थ्यो र देखाउने ठाउँ खोज्थ्यो। कतै कार्यक्रम भयो भने आफ्नो प्रस्तुति राख्न आग्रह पनि गरे यसका सदस्यहरुले। बिनाकमाइ आफ्नो ग्रुपको नाम सबैले थाहा पाउन् भन्ने होडमा लागे। 
 
'सय रुपैयाँ कुनै कार्यक्रम आयोजकले दिए भने पैसा हेर्दै, यति दिनलाई ओहोरदोहोर गर्न पुग्छ भनेर हिसाब गर्थ्यौं, अहिले अवस्था उल्टिएको छ,' राम भन्छन्, 'अहिले त हाम्रो बोली बिक्ने हो। यति पैसा दिनुस् यस्ता यस्ता प्रस्तुति दिन्छौं भनेर तोक्न सक्छौं।' 
 
कार्यक्रम आयोजकको नम्बर खोज्दै हिँड्ने यी कार्टुन्जलाई अहिले कार्यक्रम आयोजकहरुले फोन गरेर बोलाउने गरेका छन्।
 

ब्याटल अफ दि इयर

कार्टुन्ज क्रुले कति र कस्तो मेहनेत गर्‍यो भन्ने उनीहरुको क्रमैसँगको सफलता र लोकप्रियताले झल्काउँछ।
 
सन् २०१२ मा यो समूहले 'ब्याटल अफ द इयर' जित्यो। नेपालबाट पहिलो पटक इन्डियामा भएको डान्स ब्याटलमा सहभागिता समेत जनायो। २०१५ मा चीनमा भएको 'वर्ल्ड लिजर गेम'मा दोस्रो भयो। जसमा कोरिया प्रथम र आयोजक चाइना तेस्रो भएको थियो। व्यक्तिगत प्रतियोगितातर्फ आश्माले चौथो स्थान पनि हात पारेकी थिइन्। उनी खुसी हुँदै भन्छिन्, 'म्यागेजिनमा अन्तरवार्ता छापिएपछि त घरमा पनि खुसी हुनुभयो। सायद बुझ्नु भयो, मैले नाच्न छोड्दिन भन्ने। अहिल त मेरो मम्मी फुर्सद मिल्नासाथ हाम्रो क्रुको भ्युअर्स बढाउन लागि पर्नुहुन्छ।'
 
सन् २०१६ मा 'फन्टास्टिक' गीतको कभर भिडियो बनाएपछि कार्टुन्ज क्रु धेरै दर्शकको खोजीमा पर्‍यो। पहिलोपटक नेपाली गीतमा डान्स कभर गर्ने समूह बन्यो। अङ्ग्रेजी गीतहरुमा भने कभर डान्स उनीहरुले त्यसअघि नै गर्दै आएका थिए।
 
'हामी पहिले बिबोइङ समूहमै मात्र पनि चर्चामै थियौं। युट्युबमा राखिएका भिडियोहरुले भन्दा पनि लाइभ प्रस्तुति देखेका दर्शकले हामीलाई सम्झन्थे,' लाक्पा भन्छन्, तर आम दर्शकको आँखामा चाहिँ फन्टास्टिकको कभर भिडियोले देखाइदियो।' 
 
उनको कुरा काट्दै सरोज बोल्छन्, 'हामीलाई पपुलर फन्टास्टिकको भिडियोले भन्दा पनि बढी हाम्रो ८ वर्ष अघिदेखिको मेहनतले बनाएको हो।'
 
उनी बाटोमा नाच्दै हिँडेको सम्झन्छन्। भोकभोकै नाच्ने पालो कुरेको सम्झन्छन्। घरपरिवार र आफन्तले गरेको गाली सम्झन्छन्। र, शरीरमा लागेको घाउ चोट सम्झन्छन्।
 
कार्टुन्ज क्रु स्टेज र स्ट्रिटमै पनि रमाएको थियो। ग्रुपमा रहेका सबिन थापाले क्यामेरा किनेपछि भने उनले युट्युबका लागि भिडियो बनाउने योजना बुनेका हुन्। सुरुवाती दिनदेखि नै उनीहरुको भिडियो युट्युबमा रुचाइएको सरोजको दाबी छ। 
 
फन्टास्टिकको कभर डान्स हिट भएपछि भने कुनै गीत सार्वजनिक हुनासाथ त्यो गीतमा गर्न सकिने डान्स बारे योजना बुन्न थाल्यो कार्टुन्ज क्रुले। गीतको लोकप्रियता बढुन्जेल कभरको लागि कथा र कन्सेप्ट बनाउने र कन्सेप्ट क्लियर हुनासाथ एक दिनमा डान्स कम्पोज र निर्देशन गर्ने कार्टुन्ज क्रुको फर्मुला हो। 'कभर गर्ने भनेर मात्र चाहिँ हुँदैन। कभरमा पनि कुनै कथा हुनुपर्छ। र, कथाको लागि मेहनत चाहिन्छ,' सरोजले प्रस्ट्याए। प्रि-कभर डान्सको योजना भने समूहका सबै सदस्य जम्मा हुने र बनाउने गरेका छन्।
 
पैसा र इज्जत खोज्ने हाम्रो समाजमा निकै कमले नाचेर हिँड्नुलाई राम्रो मान्ने गरेको सरोजको अनुभव छ। भन्छन्, 'कमाइ हुँदैन भनेरै हाम्रो अभिभावकले नाच्न दिन खोज्नुभएन। तर अहिले आफूले कमाएको परिवारलाई पनि दिने भयौं।' 
 
युट्युबमा लाखौं हिट्समा यो समूहको चर्चा सीमित भएन। प्रोडक्शन हाउस, फिल्म र ब्राण्डले कार्टुन्ज क्रुलाई खोज्न थाले। 
 
फिल्म पुरानो डुङ्गाले 'निर जैले रिसाउने' बोलको चर्चित गीतमा फिल्म युनिटले कार्टुन क्रुजको डान्स कभर गरायो। एनसेलले फ्रि फेसबुकको टिभिसीमा समेत उनीहरु देखिए। यसअघि एनसेलकै 'एक करोडमा एक म'मा पनि यो समूहले आफ्नो नृत्य कला देखाएकै थियो।
 
कार्टुन्ज क्रुको हरेक कभर भिडियोले लाखौं भ्यु कमाउँछ। दुई हप्ताअगाडि अलिशा राईको फिचरिङ 'नाइँ मलाई था छैन' बोलको भिडियो त दोस्रो दिनमै ट्रेन्डिङ नम्बर वानमा आयो। सो भिडियोले त कार्टुन्ज क्रुको आफ्नै रेकर्ड तोड्यो, छोटो समयमै फन्टास्टिकको कभरले कटाएको एक करोड भ्युअर्स रेकर्ड उनीहरुको सोही भिडियोले ब्रेक गरेको हो। 
 
'हामी डान्सलाई सपना बनाएर हिडेका छौं। पूरा हुन बाँकी अझै धेरै सपना छन्,' सरोज भन्छन्, 'हाम्रो सपना र योजना पूरा गर्नुभन्दा पनि नाच्ने वातावरण बनाउनतिर लागेका छौं।'
 
टिमवर्क, मेहनत र बलियो इच्छाशक्तिले आफूहरुलाई 'कार्टुन्ज क्रु' बनाएको ढुक्कसाथ बताउँछन् समूहका सदस्यहरु। 'भ्यु कमाउन जस्तो नाचेर हाले पनि प्रविधिले रोक्दैन तर मन कमाउन डान्समा मेहनत पनि मिसाउनुपर्छ,' उनीहरु भन्छन्। 
 
बिबोइङ, हिपहप र ब्रेक मात्र नभएर धेरै शैलीको डान्स मिसाएर नाच्ने गरेको कार्टुन्ज क्रु 'कार्टुन्ज स्टाइल'मै रमाइरहेको छ।
 
'नाचेर आफ्नो खुट्टामा उभिन सक्दैनस् भन्नेहरुलाई हाम्रो कार्टुन स्टाइल डान्स नै जवाफ हो,' सुबिन भन्छन्, 'हामीले त खुट्टा मात्र होइन हात, टाउको, घुँडा सबैले टेक्यौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
 
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal