PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मनाङमा यो वर्षकै धेरै हिउँ, सडकमा जमेको हिउँ फाल्न सेना र प्रहरी खटिए



रासस

मनाङमा यो वर्षकै धेरै हिउँ, सडकमा जमेको हिउँ फाल्न सेना र प्रहरी खटिए

लमजुङ (बेसीसहर) : मनाङमा यो वर्षकै धेरै हिउँ परेपछि जनजीवन प्रभावित भएको छ ।
 
हिमपातका कारण अवरुद्ध मनाङ सडकमा यातायात सञ्चालन गर्न सेना तथा प्रहरी परिचालन गरिएको छ। सडकमा जमेको हिउँ फाल्नका लागि सेना तथा प्रहरी खटाइएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिए।
 
जिल्ला सुरक्षा समितिको बैठक बसी जिल्लामा यातायात सञ्चालनलाई निरन्तरता दिन सेना तथा प्रहरी परिचालन गर्ने निर्णय गरिएको हो। बाक्लो हिमपातका कारण मनाङको तिमाङदेखि खाँङसारसम्म सडक पूरै अवरुद्ध भएको र सोमबार चामेबाट सडक सफा गर्ने काम सुरु भएको सहायक प्रजिअ पन्तले बताए। सडकमा बाक्लो हिउँ जमेका कारण पैदलयात्रासमेत गर्न कठिनाइ भएको पन्तले बताए।
 
उनले सहज ठाउँमा सेना, प्रहरी एवम् सरकारी कर्मचारीसमेत खटिएर हिउँ फाल्ने काम गरेको र अप्ठेरो ठाउँको हिउँ फाल्नका निम्ति सडक डिभिजन कार्यालयमा डोजर माग गरिएको बताए।
 
चामेस्थित अस्पताल, सरकारी कार्यालय, विद्यालयलगायत ठाउँमा पुग्ने बाटो सफा गरिसकिएको छ।
 
अत्यधिक चिसोका कारण दुई दिनसम्म मनाङको सञ्चारका साथै विद्युत् पनि अवरुद्ध भएको थियो। मनाङमा भएको हिमपातले अन्नपूर्ण चक्रीय पदमार्गका पर्यटकलाई कठिनाइ परेको थियो। बाटो अवरुद्ध भएपछि केही पर्यटक फिर्ता पनि भएका थिए।
 
 
 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell