PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​विप्लवको आतंक



​विप्लवको आतंक

  • प्रभात भट्टराई -
जनता माझ आफ्ना अजेन्डा बुझाएर राजनीति गर्ने हुति नभएपछि नेत्रविक्रम चन्द 'विप्लव' ले मोहन वैद्यलाई पुष्पकमल दाहाल 'प्रचण्ड'सँग सम्बन्ध टुटाउन बाध्य पारे। तर, वैद्य आफै अब एकाङ्की सपनाको भारी बोकाएर जनताको विश्वास जित्न नसकिने विश्लेषणमा लागे। चन्द उनीबाट पनि टाढिए। 

सानो झुन्डको टापुमा रहेका चन्दको नशामा ध्वंश र हिंसा बाहेक अरु केही थिएन/छैन। त्यसैले हिजो उनीसँगै मिलेर सशस्त्र द्वन्दमा सामेलहरु प्रतिस्पर्धात्मक बहुदलीय राजनीतिमा आउँदासमेत उनले जनतासामु मुख देखाउने हिम्मत गरेनन्। देशमा पूरै माओवादी लहर आउँदासमेत पहिलो संविधानसभा चुनाव लड्ने साहस नगरेका उनले २ /४ आसेपासेका माझबाट क्रान्तिको ध्वांस भने छाँटी रहे। 

त्यही ध्वांसको निरन्तरता थियो- प्रचण्डबाट वैद्यलाई छुट्याएर नेकपा-माओवादी स्थापना र केही समयपछि त्यहाँबाट पनि चोइटिएर जानु। वैद्यबाट छुट्टिएपछि विप्लवको एउटै ध्याउन्न थियो हिंसा र अराजकता। उनका एकपछि अर्को अराजक हर्कतलाई राजनीतिको जामा पहिर्याएर राज्य प्रशासन र मिडियाले पचाइदिँदा उनी आतंककै सिँढी चढ्न थालेका छन्। 

मुलुकको भूमि बचाउन शान्तिपूर्ण आन्दोलनमा उत्रिँदा भारतीय प्रहरीको गोलीबाट सहिद भएका गोविन्द गौतमको शोकमा बिहीबारदेखि देश आँसुमय छ। मेची-महाकालीका जनता भारतीय अतिक्रमणविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका छन्। जनताको आक्रोश घर, सडक या सार्वजनिक स्थलमा मात्र सीमित छैन, खेल मैदान समेत पुगेको छ। र, त्यसमा सबैतिर एउटै सूत्र छ- शान्तिपूर्ण विरोध। शनिबार क्रिकेट हेर्न दर्शकको रुपमा त्रिवि मैदान पुगेका युवासमेत भारतको ज्यादतिविरुद्ध 'ब्याक अफ इन्डिया'को ब्यानर प्रदर्शन गर्दै थिए। सूत्र त्यही थियो- शान्तिपूर्ण प्रदर्शन।

सिङ्गो देश शोकमा डुबेका बेला विप्लव भने तिनै सर्वसाधारणविरुद्ध आतंक मच्चाएर आनन्द लिन मग्न थिए। भारतले नेपालीको हत्या गरेपछि उनले ‘विरोधको नाटकस्वरुप’ शनिबार नेपाल बन्द घोषणा गरिदिए। शोकमाथिको विप्लव उपहासलाई जनताले जबरजस्त अस्वीकार गरिदिए। बिहानैदेखि सडकमा गाडी निस्किए। मोटरसाइकलहरु निर्वाध गुड्न थालेपछि सार्वजनिक यातायात सञ्चालकले समेत हिम्मत गरे। सडकमा बस निस्किए।

तर, यो सबै वातावरण तयार गरेको थियो- साझा यातायातले। मोटरसाइकल चढ्नेहरु समेत बाहिर निस्कौँ कि ननिस्कौँ भन्ने दोधारमै रहँदा साझाले बिहानैदेखि यात्रु ओसार्न थालिसकेको थियो। बिहीबारदेखिको शोकलाई विप्लवले 'जोक' ठानेर गरेर आह्वान गरेको शनिबार मात्र होइन साझाले कुनै पनि बन्द अस्वीकार गर्ने घोषणा त्यस अघि नै गरिसकेको छ। त्यसैले शुक्रबार संघीय गठबन्धनको नाममा आह्वान बन्द पनि साझाको अगुवाइमै विफल भयो। 

विप्लवलाई नेपाल बन्द आह्वान गर्न कुनै कारण चाहिँदैन। कुनै राजनीतिक अजेन्डा पनि हुनु पर्दैन। जब आतंकको नयाँ श्रृङ्खला मच्चाउन मन लाग्छ- उनले घोषणा गरिदिन्छन्।

तीन वर्षअघि साझाले पुनर्जन्म पाएपछि राजधानीको सार्वजनिक यातायातको अनुहार फेरिन थालेको छ। साना र असुरक्षित माइक्रोबसहरुले कब्जा गरेको सडकमा साझाका हरिया र ठूला बस गुड्न थालेपछि निजी सेवा प्रदायकले पनि त्यसको सिको गर्न थालेका छन्। परिमाणस्वरुप ठूला आकारका बस भित्र्याउन होडनै सुरु भएको छ। र, यो प्रतिस्पर्धाले केही वर्षमा नेपालले विदेशीलाई समेत देखाउन सक्ने परिवर्तन ल्याउने छ- कम्तिमा शहरी सार्वजनिक यातायातको क्षेत्रमा। 

तर, विप्लवलाई त्यसको रत्तिभर हेक्का थिएन र हुने कुरा पनि भएन। मुलुकमा केही सकारात्मक परिवर्तन आयो र जनताको जीवनस्तर बदलिने लक्षण देखियो भने सबैभन्दा ठूलो छटपटी उनलाई नै हुन्छ। किनभने ‘सर्वहाराको उन्मुक्ति’, ‘महान् जनवादी क्रान्ति’ जस्ता अमूर्त शब्दावली प्रयोग गरेर आम जनता झुक्याउन तबसम्म मात्र सम्भव हुन्छ जबसम्म मुलुकको अर्थतन्त्रले कुनै सकारात्मक गति लिँदैन। त्यसैले उनी हरसम्भव देशलाई उल्टो गति हिँडाउन प्रयासरत छन्। 

एनसेलले अर्बौ लाभकर तिर्न बहाना बनाइरहेको बेला उक्त कम्पनीलाई सहारा दिन विप्लव नै पुगे। बीचको खेल/डिल कस्तो थियो त उनलाई नै थाहा होला तर एनसेलका २/४ टावर र स्टेसनमा आगो लगाएपछि कर उठाउन दवाव दिने जनताको ध्यान अन्यत्र तानिन्छ भन्ने सोचेका रहेछन् उनले। जनताले उनको ‘प्रायोजित आतंक’को विरोध गर्दै कर उठाउने अभियानमा अझ चर्को आवाज निकाले पछि आफैं पछि हटे। 
अदालतको मानहानी मुद्दापछि सर्वोच्चमा नियमित तारिख धाइरहेका लोकमान सिंह कार्की बचाउन मोसो लिएर सहारा बनिदिए विप्लोव। सबै मोर्चामा हार्न थालेपछि लोकमानसँग जनताको ‘सिम्प्याथी’ जित्ने एउटै विकल्प थियो- आफूमाथि प्रायोजित सार्वजनिक हातपात गराउने। विप्लव त्यसको मोहोरा बनेपछि लोकमानले आफैं तारेख धाउन परेन, वारेस राख्न पाए।

एनसेल होस या लोकमान् थिति भत्काउन उद्यतहरुलाई सामाजिक ‘सिम्प्याथी’ चाहिए पछि हतियार बन्न रुपमा सधैं तयार भए- विप्लव। जनताले पाएको सेवा र सार्वजनिक खुसी भने उनलाई कहिल्यै पचेन।

विप्लवलाई नेपाल बन्द आह्वान गर्न कुनै कारण चाहिँदैन। कुनै राजनीतिक अजेन्डा पनि हुनु पर्दैन। जब आतंकको नयाँ श्रृङ्खला मच्चाउन मन लाग्छ- उनले घोषणा गरिदिन्छन्। बन्द आह्वान गरे पनि त्यसलाई कार्यान्वयन गराउन न त जनसमर्थन हुन्छ न त सडकमा कार्यकर्ताको नै उपस्थिति। अनि आततायी क्रियाकलापका लागि प्रशिक्षित गरिएका केही ‘भाडाका लठेत’हरुलाई यात्रुको भेषमा पठाउँछन्, कुनै गरीबले चलाउने ट्याक्सी या सार्वजनिक यातयातमा आगो लगाएर भाग्न।   

विप्लवले जहिले आफ्नो नेतृत्वमा आफू समर्थित झुण्डको पार्टी घोषणा गरे- त्यस यता आतंक सिवाय अरु एक शब्द पनि राजनीतिक अजेन्डा अघि सार्न सकेका छैनन्। अनाहकमा बन्द आह्वान गर्ने र बिहान/बेलुकी छाक टार्न मजदुरी गर्नेको ट्याक्सी जलाउँदै आएका थिए उनी। ती सबै हर्कतलाई कथित ‘राजनीतिक क्रान्तिको पूर्वतयारी’को जामा पहिर्याउँथे हाम्रा स्वनामधन्य विश्लेषक र केही मिडियाहरु। एकपछि अर्को यस्तो आतंकमा उनले पाएको ‘क्रान्तिकारिता’को ‘तक्मा’ले विप्लवलाई यति पुल्पुल्यायो कि भारतीय प्रहरीले नेपाली भूमिमा आएर नेपाल आमाको छोराको हत्या गर्दा समेत लाज पचाएर मुलुक बन्दको आह्वान गर्न सके। 

मुलुकमा आएको शोक प्रति विप्लवले देखाएको अट्टाहास जनताले सहने कुरा थिएन। सबै आ-आफ्नो नियमित दैनिकीमा लागे। पुलपुलिएका विप्लवको ‘क्रान्तिकारिता’ले यसपाली नयाँ आतंकको रहर गर्यो र केही ‘खेताला’ पठाएर बालाजुमा साझा बसमा आगो झोसिदिए। विप्लवले शनिबार साझा बसमा लगाएको आगो नेपाली सभ्यता, विवेक र सहिष्णुता प्रतिको गम्भीर उपहास हो। यसमा विप्लव कुनै हालतमा माफीका लायक छैनन्। भाडामा पठाएका खेताला होइन उनी स्वयंलाई पक्रिएर सार्वजनिक अपराधको मुद्दा लगाउनु पर्छ। 

तर, विप्लवमाथि यी प्रश्न उठ्दै गर्दा हिजो उनलाई पुल्पुल्याउने लेखक/मिडियाले समेत आत्मसमीक्षा भने गर्नै पर्छ। गत, १ फागुनमा उनले आठौँ महाधिवेशन उद्घाटनका नाममा गरेको सभा प्रमुख सञ्चार माध्यमको समेत ‘मेन न्युज’ बन्यो। मुलुकको राजनीतिमा कुनै पनि प्रभाव नरहेको र आतंकमा रमाइरहेको झुन्डले त्यहाँ भन्दा पुल्पुलिने अवसर कस्तो पाउला? पार्टी गठन यता उनले गरेका सबै आतंक र हिंसालाई मिडियाले लालमोहोर लगाएको ठाने उनले। र, आतंकको नयाँ श्रृङ्खलामा साझा जस्तो सार्वजनिक सम्पत्तिमा आगो झोस्न थाले।

उनले बेला बेला सशस्त्र युद्धको धम्की दिन पनि छाडेका छैनन्। तर, २०५२ सालको तुलनामा आजको नेपाल धेरै बदलिसकेको छ। नेपालीहरु अरब/मलेसिया गएरै भए पनि परिवार पाल्न र छोराछोरी पढाउन सक्ने भएका छन्। अब विप्लवको कथित क्रान्तिको बहकाउमा कोही पनि नेपाली अर्को नेपालीलाई मार्न तयार हुने छैन। यो तथ्य विप्लवले झनै राम्ररी बुझेका छन्। त्यसैले उनी एकातिर युद्धको धम्की दिने र अर्कोतिर सार्वजनिक एवं गरीब जनताको सम्पत्तिमा आगो लगाएरै आफ्नो दुनो सोझ्याइ रहनेछन्।

अझै पनि उनका निर्लज्ज हिंसामा बुद्धिजीवी चस्माले क्रान्तिकै छाँया देखिरहे उनी आतंकको नयाँ-नयाँ सिँढी उक्लिरहेछन्। र, एक दिन तिनै पुल्पुल्याउनेहरु आफ्नो घरमा आगो झोस्न विप्लव आइपुगेको देख्दा मात्र झसंग हुने अवस्था आउनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell