PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'द्वारिकाज साम्राज्य' सम्हाल्ने अम्बिकाको जीवनदर्शन : नारी-पुरुष कहिल्यै समान हुन सक्दैनन्



पहिलोपोस्ट

'द्वारिकाज साम्राज्य' सम्हाल्ने अम्बिकाको जीवनदर्शन : नारी-पुरुष कहिल्यै समान हुन सक्दैनन्

  • भावना शर्मा/पहिलोपोस्ट
काठमाडौं : ७०/७५ वर्ष नाघेपछि जो कसैको चाहना हुन्छ- आरामदायी दैनिकी बिताउने, नाती नातिनासँग रमाउने। कामको स्ट्रेस त परै जाओस् होहल्ला र भिडभाड समेत नरुचाउने हुँदै जान्छ, जब शरीरलार्इ बुढ्यौलीले गाँज्दै लैजान्छ। तर, केही व्यक्तित्व यस्ता हुन्छन्, जो ८५ वर्षको उमेरमा पनि उत्तिकै सक्रिय र चलायमान रहन सक्छन्। कतिबेलै थाक्दैनन् र कामबाट फुर्सद समेत लिन जान्दैनन्।
 
यस्तै अपवाद हुन्, अम्बिका श्रेष्ठ।
 
नेपालको पहिलो बुटिक होटल ‘द्वारिकाज'की संस्थापकको रुपमा मात्र उनको परिचयलार्इ खुम्च्याउन मिल्दैन। उनी नेपालकी अग्रणी महिला उद्यमी मात्र होइनन्, महिलाहरुमा उद्यमशिलता विकासका लागि खटिरहेकी सामाजिक अभियन्ता समेत हुन्। नेपालका लागि स्पेनको अवैतनिक वाणिज्य दूतको जिम्मेवारी सम्हाल्दै आएकी अम्बिका नेपाल हेरिटेज सोसाइटीकी अध्यक्ष समेत हुन्। अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर श्रेष्ठले आफ्नो 'पर्सपेक्टिभ' र 'इन्टरप्रेनुअर-आइडियाज्' शेयर गरिन्।
 
८५ वर्षकी भनेर पत्याउनै मुस्किल पर्ने व्यक्तित्वकी धनी उनलार्इ निरन्तर काममा खटिने उर्जा कहाँबाट आइरहेछ?
 
'गड नोज!' उनी मुस्काउँदै भन्छिन्, 'काललार्इ पनि पटक पटक जितेर फर्किएँ।'
 
मिर्गौलाको समस्यामात्र होइन पाँच वर्षअघि फियोको क्यान्सरले गाँज्यो। त्यसलाई समेत जितेर सक्रिय व्यावसायिक जीवनमा फर्किएकी उनको उत्साह हरेक तन्नेरीका लागि प्रेरक छ। 'रोग र शोक कसको जीवनमा हुँदैन र! त्यसैलार्इ सम्झेर मन दुखाइरहने हो भने त कसरी अघि बढ्ने?' उनको आत्मबल गजब सुनिन्छ।
 
अम्बिकाको जीवनमा एकपछि अर्को पीडादायी घटना दोहोरिइरहे। जवान छोरालार्इ दुर्घटनामा गुमाउनुको पीडा कस्तो हुन्छ? श्रीमानको साथ छुटेपछि श्रीमतीले सहने पीडा कसैले नाप्न सक्छ? यी प्रश्नका उत्तर अम्बिकासँग मात्र छन्। 'टाउकोमा शोकलार्इ होइन शक्तिलार्इ स्थान दिनुपर्छ,' यसै भन्छिन् अम्बिका।
 
महिलामा यति धेरै शक्ति छ कि- ऊ जस्तोसुकै परिस्थिति खप्न सक्छे। पुरुषभन्दा धेरै गुणा बढी सहनशक्ति हुन्छ महिलामा। अम्बिकाको ‘फिलोसफी' नै के हो भने महिलाले कहिल्यै आफूलार्इ कमजोर ठान्नुहुन्न। इख लिनुपर्छ। बदलिन सिक्नुपर्छ।
 
टुक्राटुक्रा पुराना काठहरु जोडेर बनाइएको होटल द्वारिकाजको लबीमा टहलिँदै उनी नोस्टाल्जिक बन्छिन्। नजिकै पुरानो त्यो घर जस्ताको तस्तै छ। त्यही घरमा द्वारिका र अम्बिकाको सानो परिवार बस्थ्यो। पुरातात्विक चिजहरुको जगेर्ना गर्न मन पराउने श्रीमान् द्वारिकाले सन् १९५२ ताका त्यही घरमा बसेर 'हेरिटेज होटल' बनाउने सपना देखेका थिए।
 
द्वारिकाले सपना देखेको २५ वर्षपछि सन् १९७७ मा मात्रै होटल विधिवत दर्ता भयो। 'मौलिकता'मा ढाल्ने काम भने अझैसम्म निरन्तर चलिरहेको छ। पुराना काठहरु बटुल्नु, उपयुक्त आकारमा ढाल्नु र कुनै कुनामा सजाउनु द्वारिकाजमा भैरहने काम हो। 
 यही पुरानो घरको आँगन वरिपरि अहिले ‘द्वारिकाज होटल'को विशाल संरचना फैलिएको छ। यो होटल विश्वका नामी ट्राभल एड्भाइजर साइटहरुले ‘रेकमेन्ड’ गर्ने सूचीमा अग्रस्थानमा रहिसकेको छ। पुराना काठका झ्यालढोका, खाँबो र दलिनहरु जोगाउन संकलन थाल्दै गर्दा द्वारिकाले देखेको सपना प्रख्यात बुटिक होटल बनेकोमा गर्व छ अम्बिकालार्इ।
 
नेपालमा हेरिटेज होटलको कुरा गर्दा सबैले तत्काल सम्झिने नाम हो- द्वारिकाज। पुराना काठहरु खोजेर पुरानै ढाँचालार्इ जगेर्ना गरेर बनाइएको द्वारिकाजमा प्रवेश गर्ने जो कोही विदेशी मन्त्रमुग्ध हुने गरेको उनको अनुभव छ।
 
महिलाले नै लिड गरेर यहाँसम्म आइपुगेको समाज हो यो। सभ्यताको सुरुवात महिलाबाटै भएको थियो- हजारौं वर्षपहिले। तर, पछि बिस्तारै समाज पुरुषको कब्जामा गयो। पुरुषले महिलालार्इ कन्ट्रोल गर्न थाले। अम्बिका भन्छिन्, 'महिलासँग खुबी नभएको होइन, आत्मविश्वास कम छ। पढ्ने अवसर जुटाइदिनुपर्छ र आत्मविश्वास जगाइदिन जरुरी हुन्छ।'
 
भारतको सिक्किममा जन्मेकी अम्बिका दार्जिलिङको लरेटो कन्भेन्ट र कालिङपोङमा पढिन्। २२ वर्षको उमेरमा विवाह गरेर काठमाडौंको मखनटोलको टिपिकल नेवारी परिवारमा बुहारी बनेर भित्रिइन्। त्यस बेलाको संयुक्त परिवारभित्र झन् धेरै गाह्रो हुन्थ्यो महिलालार्इ। अम्बिकाकै शब्दमा त्यस बेलाको नेपाल फरक थियो।
 
महिलाहरुलार्इ हेर्ने दृष्टिकोण पनि भिन्न थियो। उनका ससुरा नामी उद्यमी जनकदास श्रेष्ठ। उही जनकदासका जेठा छोरा द्वारिकालालसँग मागी विवाह भएर नेपाल भित्रिएकी थिइन् अम्बिका। 
 
ठूलो घरानाको बुहारी बनेर भित्रिनु र आफ्ना सपनालाई पनि जीवित राख्नु निकै चुनौतीपूर्ण बन्यो उनका लागि। दार्जिलिङको पढाइ र महिलाले पनि केही गर्नुपर्छ भन्ने महत्वाकांक्षाले भरिएकी अम्बिका घरबाहिर निस्केर काम गर्न चाहन्थिन्। महिलाले घरभित्रै सीमित हुनुपर्छ भन्ने मान्यताको खिलाफ थिइन् उनी।
 
श्रीमान् द्वारिकालालले साथ दिए र दम्पती नै संघर्षमा होमिए। संयुक्त परिवारबाट जेठा छोराबुहारी बाहिरिएपछि समाजले ठड्याएको औंलालार्इ उनीहरुले इखको रुपमा लिए। गरेरै देखाउनका लागि ससाना बालबच्चा च्यापेर संयुक्त परिवारबाट छुट्टिएका उनीहरुले आफ्नै संसार रचे।
 
त्यही सानो संसारभित्र बिस्तारै फैलिएको बुटिक होटल ‘द्वारिकाज'ले पुरातत्वमात्र जोगाएको छैन अम्बिका र द्वारिकाको जीवनका कैयन् अनमोल क्षण र भोगाइहरुको साक्षी समेत बनेको छ। श्रीमानको भिजनलार्इ मूर्तरुप दिन अथक परिश्रम गरेकी अम्बिका द्वारिकाजका एन्टिक र बाङ्गाटिङ्गा खाँबोहरु सुमसुम्याउँदै भन्छिन्, 'हामीले कति काम गर्‍यौं, कति धेरै दु:ख भोग्यौं भन्ने त लेखाजोखा नै छैन।’
 
द्वारिकालालले जे देखे सपना त्यो अरु कसैले देखेनन्। कुहिन थालेका, गोठमा मिल्किएका पुराना काठहरु किन्न जाँदा कतिले त द्वारिकालार्इ ‘बहुला साहुजी'को उपमा समेत दिए। 'माई हजबेण्ड वाज भेरी फरवार्ड एण्ड फ्युचरिष्टिक,' हाँस्दै सुनाउँछिन् अम्बिका।
 
सरकारी जागिरे द्वारिकाले युवा कालमा लामो समय प्लानिङ र एडमिनिष्ट्रेसनमा बिताए। अम्बिकाले स्कुल पढाइन्, अमेरिकन लाइब्रेरीमा काम गरिन्। सन् १९६९ मा ‘काठमाडौं ट्राभल्स एण्ड टुर्स’खोलेर विजनेशमा हात हाले श्रेष्ठ दम्पतीले। उद्यममा छिरेर बजार एक्सप्लोर गर्दै जाँदा नेपालको प्राकृतिक सौन्दर्यलार्इ नै प्रवर्द्धन गरेर अघि बढ्ने सोच आयो। त्यसैको निरन्तरता स्वरुप होटल द्वारिकाजको आर्किटेक्ट डिजाइन भयो द्वारिकाको मनमा।
 
काठमाडौं ट्राभल्स एण्ड टुर्स अझैसम्म चलिरहेछ। 'त्यति बेला आफूलार्इ स्ट्याब्लिस् गर्न धेरै दु:ख गरियो,' अम्बिका भन्छिन्, 'बजार प्रवर्द्धन गर्न म एक्लैएक्लै बेलायत, जापान, भारत सबैतिर पुगेँ। नेपाल सुन्दर छ, एकपटक भिजिट त गर भन्दै खुब प्रचार गरेँ।'
 
महिलाहरुमा उद्यमी हुने गुण हुन्छ। तर, जसले ‘निड फिल’गर्छन्, उनीहरु अघि सर्छन्। अरु ‘प्यासिभ’बसिदिन्छन्। घरभित्रै बसेका महिलाले पनि घर व्यवस्थापन जसरी गरिरहेका हुन्छन्, क्षमता त्यहीँ देखिन्छ। सीमित पैसालार्इ कसरी र के केमा खर्च गर्ने! महिनाभर घर चलाउँदा कसरी किफायती हुने! सबै महिलाले यो त सोचिरहेकै हुन्छन्। अम्बिका भन्छिन्, 'महिलाको यही खुबीभित्र उद्यमी हुने गुण लुकेको छ। ‘वुमन ह्याब इट इन देम।' तर, पैसा नकमाउन्जेल महिलालार्इ कुनै पनि काम गर्न आँट नआउने अम्बिकाले देखेकी छिन्।
 
द्वन्द्वकालमा विस्थापित भएर सहर पसेका महिलाले बाध्य भएपछि गाडामा तरकारी बेचे, चना बदाम बेचे, चिया बेचे। उनीहरुसँग शिक्षा थिएन, सिप थिएन, थियो त केवल बाध्यता। त्यही बाध्यतासँग जुधेर उनीहरुले काम गरे, सहरमा जीविका चलाए, त्यसैले छोराछोरी पढाए। के त्यो उद्यम होइन र? अम्बिका प्रश्न गर्छिन्। उद्यम भन्ने बित्तिकै धेरै ठूलो पुँजीको मात्र हुन्छ भन्ने सोच्नु नहुने उनको धारणा छ।
 
उद्यमी बनेर गरिखान महिलालार्इ सजिलो पनि छैन। उनीहरुसँग उद्यम सुरु गर्न हातमा नगद हुँदैन। पुँजीको अभावमा समस्या पर्छ। धितो राख्ने सम्पति हुँदैन। लोग्नेमान्छे अघि सरेर गरेको काममा उनीहरुकै नियन्त्रण हुन्छ, अनि कसरी गर्ने उद्यम? अम्बिका भन्छिन्, 'सबैभन्दा ठूलो कुरा महिलाहरुलार्इ बलियो बनाउनुपर्छ। अहिले उद्यम गर्न चाहने महिलालार्इ ५ लाखसम्म बिनाधितो ऋण दिने व्यवस्था छ। त्यसलाई अवसर ठानेर महिलाले सदुपयोग गर्नुपर्छ।'
 
अम्बिकाले महिलाका केही कमजोर पक्ष पनि केलाइन्। महिलाहरु उद्यम गर्नुअघि राम्रोसँग बजार स्टडी नै गर्दैनन्। सर्भे पनि हुँदैन। एउटाले बुटिक खोले अर्काले पनि बुटिक खोल्ने, एउटाले ब्युटीपार्लर खोले अर्काले पनि त्यही गर्ने प्रवृत्ति देखिएको छ। ‘इन्नोभेटिभ, ‘इम्याजिनेटिभ’बन्ने बानी नै भएन। त्यसैले अम्बिका उद्यमशिलता विकासमा जोड दिन्छिन्।
 
ठूलै बिजनेस चलाउनु मात्र उद्यम होइन। चिया पकाएर बेच्नु पनि उद्यम नै हो। घरबाट बाहिर निस्कन नमिल्ने परिस्थिति छ भने घरमै बसेर गर्न मिल्ने उद्यम गर्नुस्। भान्छामा खानेकुरा पकाएर लन्चप्याक नै बेच्नुस्। ‘हाउसवाइफ'मा सीमित नहुने अनेक उपाय सुझाउँछिन् उनी। बजारमा अरुले नगरेको कामको थालनी गर्ने, बजारको ‘निड' बुझ्ने र त्यसै अनुसारको काम गरेमा सफल भइने अम्बिकाको विश्वास छ। 
 
पहिलेदेखि नै महिलालार्इ केवल सिलाइकटाइ र बुनाइ मात्र सिकाउने चलन बस्यो। अहिले त्यो बदलिएर ब्युटीपार्लरसम्म पुगेको छ। 'मेकानिक बन्नुस्, ड्राइभर बन्नुस्,' महिलाले चुनौती लिन सक्नु पर्ने बताउँछिन् उनी।
 
पुरुषसँग काँध मिलाएर गर्न नसकिने काम के छ? उनी प्रश्न गर्छिन्।
 
महिलालार्इ पुरुषसरह उद्यमी बन्ने क्षमता भएको मान्ने अम्बिका ‘महिला र पुरुष समान' भन्ने नारासँग भने सहमत छैनन्। नारी शारीरिक र मानसिक दुवै रुपले पुरुषभन्दा भिन्न हो। समान कहिल्यै हुन सकिँदैन।
 
उनी स्पष्ट छिन्- पुरुषको साथ/सहयोग पाएमा महिलाहरु पुरुषभन्दा पनि माथि पुग्न सक्ने क्षमता राख्छन्। ‘वि आर नट इक्वेल। वि आर बेटर हाल्फ,' उनले कुराकानीलाई यसरी बिट मारिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell