PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

​सुन तस्करी : ठूला माछा खोज्दा भेटिए ‘सिद्रा’



सविन ढकाल

​सुन तस्करी : ठूला माछा खोज्दा भेटिए ‘सिद्रा’


खोजी हाइप्रोफाइलको, भेटिए कामदार

काठमाडौँ : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २ महिना लगाएर गरेको सुन तस्करीको अनुसन्धानमा तस्करीको मुख्य योजनाकार कामदारको रुपमा दुबई पुगेका नेपाली देखिएको छ।

त्रिभुवन विमानस्थलबाट बाहिरिएको ३३ किलो सुनको जालोमा उच्च तहसम्मको संलग्नताको आशंका गरिए पनि ब्युरोको अनुसन्धानमा १२ वर्ष अगाडि कामदारका रुपमा दुबई गएका काभ्रेका हरिशरण खड्का सो जालोको मुख्य नाइके भएको उल्लेख छ।

खड्काको सम्पर्क जालो, दुबई र नेपालमा रहेको उसको सम्पत्ति र व्यवसाय तथा छोटो समयमा खड्काको बढेको आर्थिक हैसियतको विश्लेषणका आधारमा प्रहरी सुन तस्करीको नाइके ऊ नै भएको निष्कर्षमा पुगेको देखियो। 

ब्युरोले आइतबार सार्वजनिक गरेको अनुसन्धान विवरण अनुसार उनले दुबईमा बसेर दुबई र नेपालमा रहेका २९ जनालाई परिचालन गरेर १७ महिनादेखि सुन तस्करी गराउँदै आएका थिए।

ब्युरोका अनुसार उनी दुबई जाँदा कामदारको रुपमा गएका हुन्। त्यहाँ पुगेको केही समयपछि उनले दुबईमा रहेका नेपाली नागरिकको पैसा संकलन गरी हुण्डीमार्फत् नेपाल पठाउने धन्दा शुरु गरेका थिए।

सुन तस्करीको प्रारम्भिक चरण हुण्डी रहेको प्रहरीको निष्कर्ष देखियो। खड्काले हुण्डीका लागि जम्मा भएको पैसा उनले दुबईमा याक एण्ड यति रेष्टुरेण्टमा लगानी गरे र उनको पार्टनर बने रोशन भुषाल।

रेष्टुरेण्टबाट राम्रै आम्दानी हुन थाल्यो। यहीबीच खड्काको परिचय चुडामणि उप्रेतीसँग भयो। ब्युरोकी प्रवक्ता मीरा चौधरीले पहिलोपोस्टलाई दिएको जानकारी अनुसार उप्रेती पहिल्यैदेखि सुन तस्करीमा संलग्न थिए।

चौधरीको दावी छ- उप्रेतीको प्रस्ताव अनुसार खड्का सुन तस्करीमा संलग्न भए। तस्करी गर्न सहज होस् भनेर उनले दुबईमा सुन पसल खोले। उनको नाममा दुबईमा दुई वटा सुन पसल रहेको प्रहरीको दावी छ।

प्रहरीका अनुसार उनले दुबईमै ट्रेडिङ व्यवसायका लागि बागमति ट्रेडिङ एलएलसी कम्पनी दर्ता गरे। उनले काठमाडौंमा दरबार रोधी क्लब खोले। दुबईमा रहेको सुन पसल, बागमति ट्रेडिङ र दरबार रोधीलाई आवरण बनाएर खड्का डेढ वर्षमा सुन तस्करीको नाइके बनेको प्रहरी अनुसन्धानको निष्कर्ष देखिन्छ।

खड्काको नाममा लाजिम्पाटमा एक घरसमेत रहेको प्रहरीले फेला पारेको छ। ब्युरोका अनुसार खड्काले उतै रहेका उनका सहयोगी, भन्सारका कर्मचारी र प्रहरी तथा नेपालमा रहेका  सहयोगी र सुन व्यापारीको संलग्नतामा १७ महिनादेखि नेपालमा सुन तस्करी गराउँदै आएका थिए।
तस्करीको समयावधि तोके पनि प्रहरीले सार्वजनिक गरेको अनुसन्धान विवरणमा तस्करी भएको सुनको परिमाण भने खुलाइएको छैन।



के-के छ प्रहरी विवरणमा?


त्रिभुवन विमानस्थलको सुरक्षा घेरा पार गरेर काठमाडौं भित्रिएको ३३ किलो सुन फेला परेपछि अनुसन्धानमा जुटेको ब्युरोले मुद्दा प्रकृया अगाडि बढाउने २ महिनाको हदम्याद सकिएपछि जिल्ला न्यायाधिवक्ताको कार्यालयमा अनुसन्धानको राय-सुझाव पठाएर आइतबार पत्रकार सम्मेलन गरेको थियो। 

पक्राउ अभियुक्तहरुलाई संगठित अपराध निवारण ऐन २०७० बमोजिमको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। 

पत्रकार सम्मेलनमा प्रहरीले अनुसन्धानको निष्कर्ष सार्वजनिक गरेको थियो। ब्युरोको कार्यालय महाराजगञ्जमा सार्वजनिक गरिएको अनुसन्धान निष्कर्ष अनुसार खड्काको समूहमा उनीसहित ३० जना संलग्न छन्। त्यसमा नेपाल प्रहरीका एसएसपी श्याम खत्री र भन्सार अधिकृत श्रीनारायण यादव समेत हुन्।

ब्युरोले सुन तस्करीको जालो प्रष्ट्याउन लिंक चार्ट सार्वजनिक गरेको थियो। सो चार्टमा संलग्नको नाम र नम्बर उल्लेख छ। चार्टमा  ‘सूचना संकलनका लागि मात्रै संकलित विवरण भएको’ उल्लेख गर्दै त्यसमा रहेको ‘विवरण पुष्टी गर्नुपर्ने र अदालतमा प्रमाणका लागि पेश गर्न नमिल्ने’ उल्लेख छ।

ब्युरोले सार्वजनिक गरेको लिंक चार्ट अनुसार दुबईमा खड्कासँगै रोशन भुषाल, रञ्जन पन्त, अर्जुनप्रसाद खरेल र ध्रुव (थर उल्लेख छैन) तस्करीमा संलग्न देखिएका छन्। उनीहरु तस्करीको मुख्य योजनाकार र लगानीकर्ता रहेको ब्युरोका डिआइजी नवराज सिलवालले जानकारी दिए।

दुबईमै रहेका सन्तोष काफ्ले तस्करीका सुन संकलन गरेर नेपाल पठाउने मुख्य व्यक्ति हुन्। उनी सिधै खड्काको सम्पर्कमा थिए।
उनले नेपालमा गोपाल शाही र दिलबन्धु थापासँग सम्पर्कमा थिए। ३३ किलो सुनसहित विमानस्थलबाट बाहिरिएपछि पक्राउ पर्नेमा पहिलो ब्यक्ति यिनै शाही हुन्। सुन लिन जाँदा खड्का समातिएका थिए।

शाहीको सम्पर्क दुबईमा रहेका अन्य नाइके अर्जुन र ध्रुवसँग समेत देखिएको छ। खड्काको सम्पर्क भने काफ्लेसँग मात्रै खुलेको छ।
लिंक चार्ट अनुसार दुबईबाट काफ्लेले भोला मगर, माधव सुवेदी, विष्णु सुवेदी र संकेत खतिवडामार्फत् सुन नेपाल पठाउने गरेका थिए।
यसरी आउने सुन सहजै विमानस्थलको सुरक्षा पार गराएर बाहिर ल्याउन भन्सारका तथ्याङ्क अधिकृत श्रीनारायण यादवलाई दिलबन्धुले परिचालन गरेका थिए।

यादवले विमानस्थलको सबै सेटिङ्ग मिलाएका थिए। उनलाई भन्सारका अन्य कर्मचारी एक्सरे मेशिन टेक्निसियन राज ढकाल, रेडियो अपरेटर श्यामकृष्ण श्रेष्ठ, प्रध्युम्नहरी श्रेष्ठ र गंगा भुर्तेलले सघाएका थिए।

विमानस्थलमा त्रिभुवन विमानस्थल सुरक्षा गार्ड अन्तर्गत खटिएका एक सय ५० प्रहरीलाई मिलाउन यादवले एसएसपी श्याम खत्रीसँग सेटिङ्ग मिलाएको र खत्रीले सोही अनुसार काम गरेको ब्युरोको निष्कर्ष छ।

'भन्सार कर्मचारीको संलग्नताको कारण नै केही समयदेखि सुन तस्कर भइरहेको थियो' आइतबार ब्युरोमा आयोजित पत्रकार सम्मेलनमा डिआइजी सिलवालले भने, ‘विमानस्थलका कर्मचारीले विदासम्म सुन तस्करीका नाईकेले भने अनुसार नै बस्ने गरेको देखियो।' 

विमानस्थलका कर्मचारी र प्रहरीको संरक्षणमा तस्करीको सुन बाहिरिएपछि  रामहरी कार्की, रुविन खड्का, सन्देश लोप्चन र प्रकाश खरेलले सो सुन बुझ्ने गरेका थिए।

ब्युरोको विवरण अनुसार उनीहरुले सो सुन दरबार रोधी क्लबमा लगेर माग अनुसार सुन व्यापारीहरुकोमा लैजाने गरेका थिए।

ब्युरोको लिंक चार्ट अनुसार यसरी दुबईबाट तस्करी भएर विमानस्थलको सुरक्षा पार गरी रोधी क्लबमा आइपुगेको सुन बैभव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेसका सञ्चालक राजेन्द्रकुमार शाक्य, सुनिल श्रेष्ठ  र मनोज श्रेष्ठ; सालिमार ज्वेलर्सका रामकृष्ण गोयल, कुसुम गोयल र राहुल गोयल; भारतीय नागरिक विभूति अनमोल बालचन्द्र र रवि राजेश बोगटीले लिएर बजारमा फैलाउने गरेका थिए।

सुरक्षित सम्पर्कका लागि फेसबुकको प्रयोग

ब्युरोको विवरण अनुसार मुख्य तस्कर हरिशरण खड्काले सुन सम्बन्धी कुराकानीका लागि फेसबुकको प्रयोग गर्ने गरेका थिए। उनले सहयोगी राजसँग फेसबुक मेसेन्जरबाट सन्देश पठाउँथे।

सुन बोकेर आएको भरिया विमानस्थलबाट बाहिरिएपछि त्यसको जानकारी दिन यताका सहयोगीले फोटो खिचेर फेसबुकमार्फत् नै खड्कालाई पठाउँथे। 

भन्सारका सहयोगीले पनि सुन आउने जानकारी फेसबुकमार्फत् नै पाउँथे। जुन दिन सुन आउने हो, त्यो दिन श्रीनारायण यादव र एसएसपी खत्रीले आफू अनुकूल कर्मचारी खटाउँथे।

अनुसन्धानको निचोड अनुसार तस्करीमा सघाए वापत विमानस्थलमा कार्यरत कर्मचारी र एसएसपी खत्रीले सुन पास गराउँदा किलोको ५० हजारदेखि ८० हजारसम्म पाउने गरेका थिए। सो अनुसार ३३ किलो सुन बाहिरिँदा यी दुबैले करिब १७ लाख पाएका थिए।

तल्लो तहका कर्मचारीले एक पटकमा १ लाखदेखि २ लाख रुपैयाँ पाउने गरेको खुलेको ब्युरोका डिआइजी सिलवालले जानकारी दिए।

 ‘हिजो ट्याक्सी चलाएर हिँड्नेहरु सुन तस्करीपछि तीन चारवटा घरका मालिक भएका छन्। उनीहरुको रहनसहन नै परिर्वतन भएको देखियो,’ सिलवालले अनुसन्धानको निष्कर्ष सार्वजनिक गर्दै भने।

३० जना संलग्न : १२ पक्राउ, १८ फरार

ब्युरोको अनुसन्धानमा सुन तस्करीमा ३० जना संलग्न रहेको खुले पनि १२ जना मात्र पक्राउ परेका छन्। अन्य १८ जना फरार छन्। ती १८ मध्ये दुबईमा रहेका मुख्य ५ नाइकेलाई नेपाल ल्याउने उपायका लागि प्रहरीले इन्टरपोलमार्फत् रेड कर्नर नोटिस जारी गराउने प्रकृया अगाडि बढाइसकेको छ।

डिआइजी सिलवालका अनुसार हरिशरण खड्का, रोशन भुसाल, रञ्जन पन्त, राजनप्रसाद पन्त र अर्जुनप्रसाद खरेलको नाममा नोटिस जारी गर्ने प्रकृया अगाडि बढेको छ। सिलवालले उनीहरुको पक्राउका लागि दुबई प्रहरीको सहयोग लिइरहेको दावी गरे।


सकियो त अनुसन्धान ?

डिआइजी सिलवालका अनुसार आइतबार जे जति विवरण सार्वजनिक भएका छन्, त्यो पहिलो चरणको अनुसन्धान विवरण मात्रै हुन्। सुन तस्करीको पूरै जालो पहिल्याउन थप अनुसन्धान जारी रहेको उनले बताए। 

'यो पहिलो चरणको अनुसन्धान मात्रै हो, अनुसन्धान सकिएको हैन,' उनले भने' म गएपछि आउने ब्युरोका प्रमुखले यसलाई निरन्तरता दिनुहुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell