PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

पाइपमार्फत घरघरमा ग्यास पुर्‍याउने ओलीको 'सपना'मा जापानी कम्पनीको साथ, मन्त्रालयमा योजना पेश



उमेश पौडेल

पाइपमार्फत घरघरमा ग्यास पुर्‍याउने ओलीको 'सपना'मा जापानी कम्पनीको साथ, मन्त्रालयमा योजना पेश

काठमाडौं : केपी ओली प्रधानमन्त्री भएपछि घरको भित्तामा ग्यासको पाइप र चुल्होमा पाइप पुर्‍याउने घोषणा गरे। उनले पार्टी कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै भनेका थिए, 'अब ग्यासका सिलिण्डरमा काँधमा बोकेर, केमा बोकेर,  मोटरसाइकलमा बोकेर, साइकलमा बोकेर हिँड्नु पर्दैन।' 
 
'सिलिण्डरको फेद समाप्त गरिदिन्छु। घरमा चुलो, चुलोमा पाइप पुर्‍याइदिन्छु। पिटिक्क खोल्दाखेरि सिलिण्डरबाट आउँछ नि ग्यास, अब पाइपबाट आउँछ,' भारतको अघोषित नाकाबन्दी भएका बेला प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको एजेण्डा मजाक बन्यो। तर यही घोषणालार्इ पछ्याउँदै जापानको कम्पनी घर/घरमा पाइपमार्फत ग्यास पुर्‍याउने योजनासहित नेपाल आएको छ।
 
ओलीको घोषणा समाचारमा आएपछि यो कम्पनीले ६ महिनाअघि नेपाल आयल निगममा व्यावसायिक योजना समेत प्रस्तुत गरेको थियो। तर यो योजनालार्इ निगमले अघि बढाएन। तर त्यही कम्पनी बिहीबारदेखि राजधानीमा हुने लगानी सम्मेलनमा सहभागी हुन जापानबाट यहाँ आएको र त्यो पनि कार्यान्वयन गर्ने दृढ्ताका साथ। यो कम्पनीले घर/घरमा ग्यास पुर्‍याउने योजना उद्योग मन्त्रालयमा पेश गरिसकेको छ।
 
जापानको कस्मो इन्जिनियरिङ लिमिटेडले उद्योग मन्त्रालयमा नेपालमा ग्यास र पेट्रोलको भण्डारण विकास गर्नका लागि सहकार्य गर्ने प्रस्ताव पेश गरेको छ। बुधवार उद्योग मन्त्रालयमा भएको छलफलमा उद्योगमन्त्री नवीन्द्रराज जोशी र कम्पनीका प्रतिनिधिबीच परियोजनाका बारेमा छलफल समेत भएको छ।
 
कम्पनीले नेपालले प्रस्ताव गरेअनुसारको भण्डारणस्थल बनाइदिनेछ। कम्पनीले सातसय नौ क्युविक मिटरको ट्यांकी र २९ सय ७१ केएन (व्यारल) ग्यास तथा पेट्रोल अट्ने ट्यांकी बनाउने प्रस्ताव पेश गरेको छ।
 
कम्पनीका महाप्रबन्धक टाक नाकाले पूर्वप्रधानमन्त्री ओलीको घोषणा समाचारमार्फत जानकारी पाएपछि नेपालमा लगानी प्रस्ताव लिएर आएको बताए। नेपालको कन्सल्टेन्ट कम्पनी टेक्नोट्रेन्समार्फत आयल निगममा व्यवसायिक योजना पेश गरेको उनले बताए।
 
'हामीले नेपालमा भूकम्प गएको बेला र भारतले नाकाबन्दी लगाएको समयमा नेपालमा इन्धनको चरम अभाव भएको भन्ने खबर सुनेका थियौँ,' नाकाले भने 'फेरि पनि नेपालमा त्यस्ता घटाना हुँदैनन् भन्न सकिँदैन। त्यही भएर हामीले सहकार्यको प्रस्ताव पेश गरेका हौं।' उनले भूकम्प प्रतिरोधी स्टोरेज बनाएर घर/घरमा पाइपमार्फत ग्यास पुर्‍याउने बताए।
 
कम्पनीले थाइल्याण्डको सिटीसीआई कर्पोरेसन, ताइवानको तुङवाओ कर्पोरेसन, युएईको शोआ शेल सिकाउ के के पावर कर्पोरेसन, युएईकै अबुधावी आयल कम्पनी लिमिटेड र अबुधावी सिइसी ब्रान्चमा काम गरिसकेको जनाएको छ। कम्पनीले सम्भाव्यता अध्ययन, डिजाइन, भण्डारणका लागि चाहिने सामग्रीको प्रोक्रुमेन्ट र पेट्रोलियम भण्डारण निर्माण गर्ने जनाएको छ।
 
कम्पनीको संसारभर केमिकल र पेट्रोकेमिकल गरी कुल एक सय ७० वटा प्लान्टमा काम गरिरहेको जनाएको छ। कम्पनीले पेट्रोलियम रिफाइनिङ, ग्यास प्रोसेसिङ प्लान्ट, ग्यास वितरणको सिस्टम टेक्नोलोजी तथा इन्भाइरोमेन्ट टेक्नोलोजीका कामहरु गरिरहेको जनाएको छ।
 
जापानको टोकियोमा केन्द्रीय कार्यालय रहेको कम्पनीको जापानमा पाँच वटा कार्यलय र दक्षिण तथा मध्य एसिया हेर्नका लागि युएईमा अर्को कार्यालय रहेको जनाएको छ। कुल तीन सय ९० मिलियन डलर अधिकृत पुँजी रहेको यो कम्पनीमा चारसय ५४ जना कामदारले काम गर्ने जनाइएको छ।
 
कम्पनीले आफुले प्रस्ताव गरेअनुसारको काम गर्न दिए काठमाडौँ लगायत देशका अन्य स्थानमा घरघरमा ग्यास पाइप पुर्‍याइदिने जनाएको छ। जापानी टोलीले पहिलो चरणमा आयल निगमका प्रतिनिधिहरुसँग छलफल भइसकेको र दोस्रो चरणको छलफलका लागि नेपालमा भोलिदेखि हुने लगानी सम्मेलन सकिएसँगै पुन छलफल गर्ने कम्पनीले जनाएको छ।
 
'हामीसँग प्रविधि तथा विश्वस्तरीय भण्डारण गर्न सक्ने क्षमता  छ,' नाकाले भने, 'विश्वका अरु कम्पनी भन्दा राम्रो गरेर नेपालीको घरघरमा पाइपमार्फत ग्यास पुर्याउन चाहन्छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell