PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

​को थिए ती सम्पादक, जो कटवाललाई उक्साउँथे



​को थिए ती सम्पादक, जो कटवाललाई उक्साउँथे

पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवालको आत्मकथामा पत्रकारका प्रसंग धेरै छैनन्। कतिपय प्रसंगमा पत्रकारको भूमिकाप्रति कटवालको आक्रोश प्रष्ट देखिन्छ। अनि प्रधानसेनापति बन्न ‘चाकरी’ गर्न केही पत्रकारका अगुवाले उकासेको पनि उनले उल्लेख गरेका छन्। तर ती ‘पत्रकारका अगुवा’ को थिए भन्ने उनले खुलाएका छैनन्।

आफूलाई प्रधानसेनापति नबनाउन चलखेल भइरहेको बेलाको प्रसंगमा कटवालले भनेका छन्, ‘सेनाको संरचनागत, संस्थागत मुल्यमान्यता र परम्परा ध्वस्त हुने चिन्ताले केही व्यापारी, पत्रकार, कर्मचारी, नागरिक अगुवाहरु मेरो कित्तामा आइपुगेका थिए। केही ठूला दैनिक पत्रिकाका सम्पादक मलाई ‘कोसिस गर्नुपर्‍यो, लाग्नुपर्‍यो, भिड्नुपर्‍यो’ भनेर पटकपटक सुझाव दिइरहन्थे।‘

को थिए त ती ठूला दैनिक पत्रिकाका सम्पादक जो कटवाल नै प्रधानसेनापति हुनुपर्छ भन्ने सदभाव राख्थे? तत्कालिन प्रधानसेनापति प्यारजंग थापाले २०६३ को साउनमा कटवाललाई निमित्त प्रधानसनापतिको जिम्मेवारी दिएर छोडेका थिए।

त्यतिबेला नेपालका ‘ठूला’ दैनिक पत्रिका थिए, गोरखापत्र, कान्तिपुर, अन्नपूर्ण पोस्ट, राजधानी, समाचारपत्र र हिमालय टाइम्स। अंग्रेजी भाषामा निस्किन्थे: राइजिङ नेपाल, काठमाण्डु पोस्ट, दि हिमालयन टाइम्स्।

यी मध्ये एउटा ‘ठूलो’ दैनिक कान्तिपुरका सम्पादक नारायण वाग्ले थिए। अरू ठुला पत्रिका अन्नपूर्ण पोस्टमा श्री आचार्य थिए भने समाचारपत्रमा पुष्करलाल श्रेष्ठ, राजधानीमा जिवेन्द्र सिम्खडा अनि हिमालय टाइम्समा उज्ज्वल शर्मा थिए। अंग्रेजीतिर काठमाण्डु पोस्टका सम्पादक प्रतिक प्रधान थिए जो अहिले नागरिक दैनिकका सम्पादक छन्। दि हिमालयनमा राम प्रधान थिए।

कटवाल आफैले नाम नखोलेको अवस्थामा कटवाललाई ‘चाकरी’का लागि उकास्ने सम्पादक को थिए भनेर पत्ता लगाउन कठिन छ। त्यो समयका चर्चित सम्पादक युवराज घिमिरे थिए तर उनी ‘समय’ साप्ताहिकमा आबद्ध थिए। अर्का चर्चित सम्पादक किशोर नेपाल पनि ‘यो साता’ साप्ताहिकका सम्पादक थिए।

किताबमा सम्पादकसँगको अर्को प्रसंग पनि छ, कटवाल प्रधानसेनापति भैसकेपछि। एक साप्ताहिक म्यागजिनका सम्पादक प्रधानसेनापति र तत्कालिन माओवादी अध्यक्ष प्रचण्डका सम्पर्क सुत्रको रुपमा देखिएका छन्। ती सम्पादक पनि को हुन् भनेर कटवालले खोलेका छैनन्। ‘एक साप्ताहिक म्यागेजिनका सम्पादकले मलाई भने, ‘चिफसाप माओवादी अध्यक्ष प्रचण्डले भेट्ने चाहना गरेका छन्।‘ मैले जवाफ दिन नभ्याउँदै व्याख्या गर्न थाले, ‘मुलुकको तेस्रो शक्तिका नेता हुन्, हजुरसँग व्यक्तिगत सम्पर्क आवश्यक छ।‘

उनले पुस्तकमा ती सम्पादकले गोप्य रुपमा भेट्न आग्रह गरेको तर आफूले अस्विकार गरेको उल्लेख गरेका छन्। केही दिनपछि तिनै सम्पादकले आफ्नै कारमा प्रचण्डलाई लुकाएर प्रधानसेनापति निवास शशिभवन लिएर गएको पुस्तकमा लेखिएको छ।

प्रचण्डलाई आफ्नो कारमा राखेर आफैंले ड्राइभ गरेर प्रधानसेनापतिकहाँ लिएर जाने सम्पादक को थिए पुस्तकमा खुलेको छैन। प्रचण्ड र कटवाल दुबैसँग राम्रो सम्बन्ध भएका साप्ताहिक पत्रिकाका सम्पादक पनि गर्भ मै रहे।

त्योबेलाका चर्चित साप्ताहिक म्यागेजिन समय र नेपाल थिए। समयमा सम्पादक युवराज घिमिरे थिए भने नेपालमा सुधीर शर्मा। घिमिरे अहिले अन्नपूर्ण पोस्टका प्रधान सम्पादक छन् भने शर्मा कान्तिपुरका प्रधान सम्पादक। घिमिरे पहिले नै कान्तिपुरका सम्पादक भैसकेका थिए। कटवालको वर्णनले ती सम्पादक ‘हाइ प्रोफाइल’ थिएनन् भन्ने पुष्टि गर्छ।

उनले भनेका छन्, ‘शशिभवनको भुइँतलाको गोप्य बैठकमा भेट र खानपिन व्यवस्था मिलाएको थिएँ। ती पत्रकारको काम भेट गराउने मात्र थियो। त्यसैले उनको आतिथ्य अर्को कोठामा अलग्गै चल्यो।‘

ठूला राजनीतिक दल र माओवादीबीचमा दिल्लीमा भएको १२ बुँदे सम्झौतापछि नेपालमा ओएचसिएचआरको स्थापना कटवाललाई मन परेको थिएन।

कटवालले ओएचसिएचआरका तत्कालीन प्रमुख इयान मार्टिनका बारेमा कडा टिप्पणि गरेका छन्। उनले लेखेका छन्, ‘मार्टिन आफ्नो कार्यक्षेत्रको परिधिभित्र बाँधिएनन्। उनी तत्कालीन सत्ता/सरकारको इतर बनेर पेस हुन्थे। आफ्नो कार्यक्षेत्र बिर्सेर आन्दोलनकारी बनेर हिँड्थे। सडकमा ढुंगा हान्ने बाहेक उनले सबै काम गरे।‘

पाँचहजारे पत्रकार

यही मेसोमा तत्कालीन समयमा उनलाई नेपाली पत्रकारिता पनि फिटिक्कै मन नपरेको रहेछ। उनले सञ्चार जगतलाई ‘चलनचल्तीको नारामा आकर्षित भइहाल्ने’ चरित्रको रुपमा व्याख्या गरेका छन्।

किताबमा लेखिएको छ, ‘जता हावा चल्यो उतै मच्चिने नागरिक समाज, चलनचल्तीको नाराबाट आकर्षित भइहाल्ने सञ्चार जगत र कतिपय पेसाकर्मीले पनि सेनाको आकार घटाउने तथा सेनाको लोकतान्त्रिकीकरणको गीत खुब गाए।‘

२०६१ सालको माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले ‘कू’ गर्दा रुकमाङ्गद कटवाल नेपाली सेनाका ‘सेकेण्ड म्यान’ थिए। कटवालकै शब्दमा उनले ज्ञानेन्द्रको कदमको खुलेर प्रशंसा मात्र गरेनन्, राजनीतिक, कूटनीतिक, व्यापारिक सबै व्यक्तित्वलाई भेटेका बेला राजालाई समर्थन गर्न ‘कन्भिन्स’ पनि गरे।

तर समय बदलिँदै गयो। राजालाई केही दरबारियाले घेरेर उनकै मन्त्रीहरूबाट अलग्याए। राजा केही दरबारियाको सल्लाहमा देश दौडाहामा निस्किए। यो देश दौडाहाको नौटंकीबाट कटवाल खुसी रहेनछन्। कटवालको आक्रोश बढ्दै गयो। यस प्रसंगमा कटवालले नेपाली पत्रकारिताका केही पाटा उजागर गर्दिएका छन्। उनले भनेका छन्, ‘अरु त अरु काठमाडौंबाट हेलिकप्टर चढाएर ओहोरदोहोर गराएका पत्रकार पनि काम लाग्ने थिएनन्। पाँचसय प्रति नछापिने पत्रिकाका पत्रकार जम्मा गरिएको हुन्थ्यो। तीमध्ये धेरै पाँचहजारे पत्रकार थिए।‘

‘पाँचहजारे पत्रकार’ को परिभाषा उनैले दिएका छन्, ‘पाँचहजारे पत्रकार भनेका दुई-चार हजार रुपैयाँ दिएपछि जसको पनि पक्ष र विपक्षमा लेखिदिने। एक-दुई सय प्रति छापेर जसलाई देखाउनुपर्ने हो उसैको दैलोमा पुर्‍याउने। अनि ‘प्रभु मैले त ठोक्दिएँ नि, गज्जब गर्दिएँ’ भन्दै आफै बढाइचढाइ गर्ने।‘  कटवाल यतिमै रोकिँदैनन्।

‘पाँच हजारे’ पत्रकारका चरित्र खोल्दै भन्छन्, ‘प्रभु जनताले पार्टीहरुलाई पत्याउनै छाडे,’ उनीहरू सदाबहार एउटै बिन्ती गर्थे, ‘सरकारको सक्रियता जनताले खुला दिलले स्वागत गरिरहेका छन्। जनताले रामराज्य मानेका छन्।‘ दरबारका सचिव, चिफसाप, जर्नेलदेखि मेजरसम्मलाई ती पत्रकार ‘प्रभु, प्रभु’ भनरे त्वम् शरणम् गर्थे।‘

‘बी अवेर अफ जर्नालिस्ट’

कटवालको आत्मकथामा समेटिएका पत्रकारका प्रसंग अझै सकिँदैनन्।

धर्मपालवरसिंह थापा प्रधानसेनापति थिए। थापाको कार्यकालमै कटवाल एकतारे जर्नेल (ब्रिगेडियर जेनरल) भए। उनको पोस्टिङ् सेनाको दुई नम्बर बाहिनी धनकुटा भयो। उनले आफू ब्रिगेडियर हुँदा पनि गाउँ गाउँ डुल्ने प्रसंग उल्लेख गरेका छन्।

भ्रमण गरिराख्ने क्रममा एकपटक इलाम पुग्दा उनको कार्यक्रममा सिडिओले सबै कार्यालयका हाकिमलाई कटवालसँग भेटघाट गर्ने कार्यक्रम राखेका थिए। त्यही दिन पत्रकार महासंघ शाखाको महाधिवेशन थियो। पत्रकारको महाधिवेशन र सेनाका जेनरलसँगको कार्यक्रम जुधेपछि सबै हाकिम सेनाको कार्यक्रममा गए।

उता पत्रकारहरु रिसाएर चौपट। उनले लेखेका छन्, ‘धेरैजसो पत्रकार सेनाप्रति असाध्यै ‘नेगेटिभ’ थिए। उनीहरु हामीलाई राजाको चाकरका रुपमा हेर्थे। त्यो साताभरी स्थानीय पत्रिकामा सनसनीपूर्ण समाचार छापियो। शीर्षक यस्ता थिए: ‘न्यायधीश, सिडिओदेखि सबै हाकिमलाई जर्नेलको उर्दी। पूर्वाञ्चल जर्नेललाई विकास निर्माणमा चासो। पत्रकार अधिवेशनमा नआई सिडिओसहित हाकिमहरु जर्नेलकोमा हाजिर।‘
समाचारको प्रभाव केन्द्रसम्मै परेछ। प्रधानसेनापति थापाले मेमो नै लेखेर पठाएछन्, ‘बि अवेर अफ जर्नालिस्ट/रिपोटर्स!’ पत्रकारहरुबाट सावधान!

अर्को प्रसंग छ २०५७ सालको। माओवादीले जिल्ला सदरमुकाम र प्रहरी चौकी आक्रमण तीव्र बनाएका थिए। त्योबेलाको सञ्चार माध्यमको प्रस्तुति पनि कटवाललाई मन परेको रहेनछ। उनले भनेका छन्, ‘सञ्चारमाध्यमले प्रहरीका शवको लस्कर र परिवारको रुवाबासीको तस्बिर जतिसक्दो प्रचार गरे।‘

सञ्चारको प्रभावकारिता

रुकमाङ्गत कटवाल सेना र राजदरबारको बारे सर्वसाधारणलाई अपडेट गराउन एउटा छुट्टै मिडिया सञ्चालन गर्नुपर्छ भन्ने पक्षमा थिए। यसै अनुरुप उनकै सक्रियतामा राजदरबारमा मिडिया सञ्चालनको लागि १६ करोड बजेट प्रस्ताव सहितको योजना बुझाएका थिए। तर दरबारले पैसा छैन भनेर त्यो योजना त्यसै तुहाइदियो।

उनै कटवाल माघ १९ को शाही ‘कू’मा मिडियामाथिको सेन्सरसीपको विपक्षमा उभिएका छन्। उनले भनेका छन्, ‘शाही कदमको पहिलो दिनदेखि नै सञ्चारमाध्यमलाई तारो बनाइयो, जुन अन्तत: राजा ज्ञानेन्द्रकै लागि प्रत्युत्पादक साबित भयो। सञ्चारगृहमा सुरक्षा निकायको सेन्सरसिपले संसारभरि राजा घोर दमनमा लागिरहेका छन् भन्ने सन्देश गयो।‘

राजा ज्ञानेन्द्रले प्रविधिको विकासको गति र सञ्चारमाध्यमको प्रभावकारिता बुझ्न नसकेको उनको ठहर छ। उनले अगाडि भनेका छन्, ‘सूचनाको प्रवाह प्रकाशको बेगजस्तो भइसक्यो। जतिसुकै पावन्दी लगाएपनि कुनै न कुनै छिद्रबाट चुहिहाल्ने। शाही कदमको सबभन्दा ठूलो चुक यहीँनिर भयो। राजालाई टेलिफोन, मोबाइल बन्द गर्नुहुन्न, सञ्चारमाध्यममा सेन्सरसिप लगाउनु हुन्न भनेर कसैले जाहेर गरेका भए पनि त्यतिविधि उपद्रो मच्चिँदैनथ्यो।‘

उनले सञ्चारमाध्यममाथिको सेन्सरसिपको परिणामको व्याख्या गर्दै भनेका छन्, ‘जब सेन्सरसिप हट्यो, उनीहरु पहिलेजस्तै स्वतन्त्र मात्र भएनन्, बाघजस्तै आक्रामक र तिखालु भएर निस्के। नियन्त्रणको असफल प्रयासपछि सञ्चारमाध्यम शाही कदमविरुद्ध झन् उत्तेजक, स्वच्छन्द र आक्रामक भएर आए।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell