PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दूषित बन्दै गएको विद्यार्थी राजनीति



दूषित बन्दै गएको विद्यार्थी राजनीति

  • भूप देव शाह
अप्रिल ४ सन् १९७९ मा पाकिस्तानका तत्कालीन अपदस्त प्रधानमन्त्री जुल्फीकर अलि भुट्टोलाई फाँसी दिइयो। भुट्टो तिनै थिए, जसले खरानीको थुप्रोबाट पाकिस्तानलाई अन्तर्राष्ट्रिय जगतमा आणविक शक्तिको रुपमा स्थापित गरे। उनी राष्ट्रवादी त थिए नै लोकतन्त्रप्रति असीम आस्था राख्थे।
 
काठमाडौंस्थित पाकिस्तान दूतावास अगाडि उक्त घटनाको विरोध गर्दै विद्यार्थी युनियनहरुले बेजोड प्रदर्शन गरे। विद्यार्थी युनियनहरुको लोकतन्त्रप्रतिको निष्ठा र यथोचित योगदानले २०४६ को परिवर्तन सम्भव भएको हो।
 
०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य भयो तर यसका अवशेषहरु अझै पनि त्रिभुवन विश्वविद्यालयमा छन्। व्यवस्था फेरियो, पात्र बदलिए, सपना पुनर्जीवित भए तर न प्रवृति बद्लियो न संस्कार, न त पात्रको नियत नै। त्रिविले बहुदलमा एकतन्त्रीय शासनको टोपी फुकाल्यो, राजनीतिक हस्तक्षेपको जामालाई निरन्तरता दियो र राजनीतिक भागबण्डाको एकसरो नयाँ जुत्ता जोड्यो। प्राध्यापक, विद्यार्थी र कर्मचारीका हकहित र अधिकार जगेर्नाका निम्ति खोलिएका युनियनले त्रिविलाई  गुट-उपगुटमा धुव्रीकृत गर्दै लग्यो र सुरु भयो त्रिविको धराशायी उन्मुख यात्रा। सो क्रम अझै पनि जारी छ। सक्षम व्यक्ति पाखा लाग्दै गए, पार्टीका झन्डे, पंखे र झोलेहरु पुरस्कृत हुँदै त्रिविको कमान्ड सम्हाल्ने अवसर पाउँदै गए।
 
अर्कोतिर विद्यार्थी युनियनहरुको भूमिका सरकारको प्रतिपक्षीको हुनुपर्नेमा उनीहरु आफू सम्बद्ध पार्टीप्रति बफादार हुँदै गए। पार्टीहरुले दलालीको नाङ्गो नाच देखाउँदा पनि विरोध गर्नुको सट्टा बचाउमा उत्रिने घृणित राजनीतिले स्थान पायो। विद्यार्थी नेताहरुले युनियनलाई पार्टी राजनीतिमा स्थापित हुन उपयोग गर्दै लगे। नेताहरुले पार्टीमा आफ्नो दबदबा कायम राख्न युनियनलाई आफ्नो स्वार्थ अनुरुप प्रयोगमा ल्याए। गुट-उपगुटले वैधानिकता पायो। यी संघहरु गतिशील हुन सकेनन्। धेरैले राजनीतिलाई पेसा बनाए। आयस्रोतको वैकल्पिक माध्यम भएन। हार्नुभन्दा जे गरेर नि जित्नु अनिवार्य सर्त भयो जसले राजनीतिलाई दूषित बनायो।
 
विगत २५-२७ वर्षमा विश्वविद्यालय र विद्यार्थीहरु कुसंस्कारको चक्रमा पिसिए र पिसिने क्रम जारी छ। न विश्वविद्यालय थिङ्क ट्यांकका रुपमा स्थापित हुन सके न विद्यार्थीको नेतृत्व लिने क्षमता बढ्यो। न रचनात्मक कार्यमा समय लगानी गरेर दक्ष नै भए। गौरवान्वित विगत बोकेका विद्यार्थी युनियनहरु विद्यार्थी हकहित, शैक्षिक रुपान्तरण, संविधान कार्यान्वयनदेखि लिएर समृद्धिको गफ फलाकिरहँदा उनीहरुले नै प्रतिनिधित्व गरिरहेका क्याम्पसहरुमा सामान्य शैक्षिक गतिविधिजस्तै नियमित कक्षा सञ्चालन, विद्यार्थी र शिक्षकको अनुशासनका विषय, विद्यार्थीको नेतृत्व विकास गर्ने वादविवाद, नृत्यजस्ता कार्यक्रमहरुको प्रभावकारी संचालन हुन सकेका छैन। जीर्ण बन्दै गएको क्याम्पस भवनहरुको मर्मत र रंगरोगन, फोहोरले दुर्गन्धित बनेका प्रांगणको सरसफाइ, पुस्तकालय स्तरोन्नतिको सामान्य पाटामा पनि चुकेका छन्। पदमै पुगेपछि मात्र गर्न सकिन्छ भन्ने मानसिकता हाबी भएको देखिन्छ।        
 
युनियनहरुको यस्तो सिन्डिकेट लागू छ कुनै पनि विद्यार्थी स्वतन्त्र भएर बस्न सक्ने अवस्था छैन। युनियनको छाताभित्र नभएको विद्यार्थी धेरै अवसरबाट वञ्चित हुनुपर्ने बाध्यकारी अवस्था छ। फलस्वरुप विद्यार्थीहरु अवसरवादी बन्ने नै भए। छोटो बाटोबाट काम फत्ते गर्नु नियति बनिदियो। उत्कृष्टता, पारदर्शिता, विनम्रता, निष्ठा, जवाफदेहीता ओठमा त अटाए तर व्यवहारमा हराए। विकल्प नहुँदा अस्वस्थकर प्रतिस्पर्धाको बाटो अपनाउनुभन्दा अर्को विकल्प छैन। कसैको आशीर्वाद लिने प्रथा स्वीकार गर्नुपर्ने हुन्छ। विद्यार्थीकालमै साम-दाम-दण्ड-भेदको प्रयोग नियमित बन्दछ। जसले गर्दा उनीहरु जीवनको महत्वपूर्ण युवा समयमा जे सिक्नुपर्ने हो सिक्न पाएका छैनन्।
 
विश्वविद्यालय र देशका लागि दलगत आधारमा चयन गरिने स्ववियु गलाको गाँड भएको छ। समस्या स्ववियु वा यसको प्रणालीमा छैन। यसलाई हाँक्ने व्यक्तिहरुमा छ जसले यो संस्थालाई मागी खाने भाँडो र कार्यकर्ता उत्पादनको शिशुगृहमा परिणत गरेका छन्। यो सबको स्वार्थपूर्तिको प्रयोगशाला भएको छ। विडम्बना, कुनै पनि क्षेत्र सिर्जनात्मक काम गर्नै नचाहने फाल्तुहरुको अड्डा बनिदियो। यी युनियनहरु देशका सक्षम तथा होनहार युवाहरुलाई आकर्षण गर्न सकिरहेका छैनन्। दशकौँ कुसंस्कारको अभ्यासमा हुर्किएका युनियनहरु राज्यका सबै अवयवहरुले बेथिति, विसंगति र भ्रष्टाचार ओकलिरहँदा यो समूहमा मुर्दाशान्ति छाएको छ। यो विन्दुमा युवा आऊ देश बचाउका मुद्दा फगत झुठ्ठा साबित भएका छन्।
 
विद्यार्थी राजनीतिको समग्र चित्रले एकै कुरा बताउँछ। चित्र बनाउने क्रममा चरित्रको कैयौंपटक हत्या गर्ने राजनीतिक संस्कार अब बदलिनुपर्दछ।
 
विकल्प : क्याम्पस हितकारी परिषद्‌
विश्वविद्यालयमा दलगत विद्यार्थी युनियनको औचित्यता सकिएको छ। विद्यार्थी युनियनलाई खारेज गरिनुपर्दछ र स्वयियुलाई पुनसंरचना गरिनु आजको आवश्यकता हो। प्राध्यापक संघ र कर्मचारी संघहरु पनि खारेज गरिनुपर्दछ। पुनर्स‌ंरचना गरेर क्याम्पस हितकारी परिषद्‌मा रुपान्तरित गरिनुपर्दछ।
 
विद्यार्थी, शिक्षक, भूतपूर्व विद्यार्थी तथा अभिभावकहरु सदस्यमा चयन हुने व्यवस्थाको प्रावधान हुनुपर्दछ। जसले सामूहिक नेतृत्वद्वारा विश्वविद्यालयको शैक्षिक उन्नति र प्राज्ञिक छलफलको केन्द्रको रुपमा विकास गर्दै विद्यार्थीको प्रज्ञा र चेतना स्तरोन्नतिमा विशेष जोड दिनेछ। परिषद् अन्तर्गत विज्ञान, खेलकुद, सांस्कृतिक, नेतृत्व विकास, समाजिक कार्य, उद्यमशीलताको छुट्टाछुट्टै विभाग हुनेछन। परिषद्‌मा विद्यार्थी एक कार्यकालको लागि मात्र निर्वाचित हुनेछन्।
 
शिक्षा, खेलकुद, विज्ञान र नृत्य क्षेत्रका अवसरमा सबैको समान पहुँच, नियमित अतिरिक्त रचनात्मक गतिविधिहरु सञ्चालनमा जोड दिँदै क्याम्पसलाई निष्पक्ष र स्वतन्त्र बहसको थलो बनाउने वातावरण बनाउन परिषदको भूमिका महत्वपूर्ण रहनेछ। यो वातावरणमा विद्यार्थीले स्वविवेक प्रयोग गरेर उत्कृष्ट निर्णय लिने नै छन्। यस्तो स्कुलिङले जिम्मेवार नागरिक बन्न सदैव प्रेरित गर्दछ। समयको समुचित प्रयोगमा उसको जोड रहनेछ। अध्ययन र अनुसन्धानमा तल्लीन रहनुका साथसाथै व्यवस्थापकीय गुण भर्दै जानेछ। यो परिषदले देशलाई समय सापेक्ष नेतृत्व प्रदान गर्ने सक्ने नेताहरु उत्पादन गर्नेछ। विश्वविद्यालयको समग्र स्कुलिङलाई सही दिशामा डोर्‍याउन भूमिका खेल्नेछ। 
 
दलगत संगठनको खारेजीसँगै पार्टीको आडमा र संगठित रुपमा मौलाएको गुण्डागर्दी, कमिसनखोरी, व्यक्तिवाद जस्ता कुसंस्कारका तत्वहरु धमिराको ढिस्को जस्तै एकैचोटि खस्ने थियो। शिक्षा प्रणालीमा सुधार ल्याउन सकिने अनेकन ढोका खोलिने थिए। शिक्षा प्रणालीलाई जीवन्त राख्न समयानुकुल पाठ्यवस्तु परिमार्जनदेखि लिएर प्रविधिमैत्री र व्यवहारिक अध्यापन सँगसँगै शिक्षकहरुको अध्यापन क्षमता वृद्धि कार्यक्रम पनि ल्याउन सकिने थियो। शिक्षा क्षेत्रमा बढ्दो माफियाकरणका विरुद्ध सशक्त ढंगले उभिन गैर दलगत परिषद्लाई गाह्रो हुने थिएन। इन्धनको भाउ ५० पैसाले कहिले बढ्ला र आन्दोलन गरौंला भनेर बस्ने विद्यार्थी संघहरुको परम्परा पनि तोडिने थियो। सँगसँगै यो परिषद्ले विद्यार्थीको हकहितका लागि लड्ने नेता उत्पादन गर्ने छैन। विश्वविद्यालय तहमा पढ्ने विद्यार्थीको हकहितका लागि कोही अरुले लड्नुपर्ने। आफैँमा कस्तो विरोधाभासपूर्ण!
 
परिषद्ले क्याम्पस स्रोत र साधनको अधिकतम प्रयोगमा न्यायोचित वितरण साथसाथै विद्यार्थी र शिक्षकको अनुशासनको लगायत अरु क्रियाकलापको पनि निरीक्षण गर्ने थियो। यसले गैर विद्यार्थीलाइ निषेध र हाजिर लगाएर निजी क्याम्पसमा पढाउन जाने शिक्षकहरु तह लगाउन सकिने थियो। यसले क्याम्पसको वातावरणलाइ सुधार्ने थियो, विद्यार्थी, शिक्षक र कर्मचारीमा अपनत्वको भावना जागृत गराउन मद्दत गर्थ्यो।
 
कुनै पनि मुलुकको सुदूर भविष्य त्यहाँका विद्यार्थीमा निहित रहन्छ। विद्यार्थी वर्गको भूमिका शैक्षिक क्षेत्रको उन्नतिसँग मात्र जोडेर हेरिनु हुँदैन र हेरियो भने त्यो अर्को ठूलो समस्या हुनेछ।
 
यो विषय किन पनि गम्भीर छ भने अरु क्षेत्र धराशायी भए राष्ट्रले एक दशक या दुई दशकमा पुनरागमन गर्ने सम्भावना रहन्छ। तर शिक्षा क्षेत्र धराशायी भयो भने पुनरागमन गर्न एक पुस्ता पनि कम पर्न सक्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell