PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

मन लुट्न नसक्ने ​लुट २ : कथा हैन पात्रले धानेको फिल्म



स्वेच्छा राउत

मन लुट्न नसक्ने ​लुट २ : कथा हैन पात्रले धानेको फिल्म

काठमाडौं : सन् २०१२ मा प्रदर्शन भएको फिल्म 'लुट'मा हाकु कालेको मास्टर प्लानले बैंक त लुट्यो नै दर्शकको मन र खल्ती पनि लुट्न बाँकी राखेन। नेपाली फिल्म इन्डस्ट्रीमा लुटको वाहवाहीसँगै निर्देशक निश्चल बस्नेत चर्चामा आए। 

‘लुट’पछि फिल्म निर्माण/निर्देशनमा सक्रिय रहेका निश्चलले हरेक वर्ष सफल फिल्म दिए पनि आम दर्शकको प्रश्न दोहोरिन छोडेन- ‘लुट टू’ चाहिँ कहिले आउँछ? 

पहिलोपोस्टसँगको कुराकानीमा निश्चलले भनेका थिए, 'लुट टूका लागि उपयुक्त कथा भेटेकै थिइनँ। जुन तयार थियो त्यसले दर्शकको अपेक्षा मिट नगर्ने निश्चित थियो।'  

निश्चलले ‘लुट टू'लाई ‘लुट’ले दिएको चुनौती माने। र, सन् २०१५ मा मात्र नयाँ मास्टर प्लान बनाउन थाले। फागुन १३ बाट बहुप्रतीक्षित बनेको फिल्म प्रदर्शनमा आयो। मिट गर्योा त ‘लुट टू'ले दर्शकको अपेक्षा? 

फिल्म प्रचारका क्रममा भनिएको थियो- कथाले निरन्तरता पाउँछ। चार वर्षमा विकसित घटनाले निम्त्याएको परिवर्तन देखाइन्छ। केन्द्रमा रहन्छ, भूकम्पको पात्रमाथि प्रभाव। 

फिल्ममा भूकम्पको असर केन्द्रमा छैन। कथा निरन्तरताका लागि निश्चलले भूकम्पलाई उपयुक्त बहाना भने पक्कै बनाएका छन्। गोफ्ले (दयाहाङ राई) , पाण्डे (सुशीलराज पाण्डे), खत्री (प्रतीकराज), नरे (कर्मा) जेलबाट भाग्छन्। भाग्नु निकै सजिलो बनाइदियो भूकम्पले। जहाँ कारागार भूकम्पकै कारण भत्किएको हुन्छ। थप केही संवादमा पेट्रोलको कालोबजारीलाई र दृश्यमा ग्यास, पेट्रोलको लाइन अटाएको छ। त्यसबाहेक भूकम्पको प्रभाव फिल्मभर देखिँदैन। 

पात्रहरु जहाँ छुटेका थिए त्यहीँबाट चलायमान हुन्छन्। मुख्य पात्र हाकु काले (सौगात मल्ल) सँग बदला लिन लागिपर्छन्। बदला फिल्मको केन्द्र हो। तर फिल्ममा पात्रहरु यताउता गरिराख्दा पनि पहिलो भागभरि कथा अगाडि बढ्दैन। 

त्यही बदलाको भावले पात्रहरुमा निम्त्याउने मानसिक तथा शारीरिक द्वन्द्वले दर्शकलाई बाँधिराख्छ। तर बदला फिल्मको मुख्य द्वन्द्व हुँदाहुँदै पनि पात्रहरु अलमलिन्छन्। पहिलो शृंखलाको मुख्य द्वन्द्व (बैंक लुट्ने प्लान) नै रिपिट भएको भान गराउँछन्। 

सायद पटकथा लेखकले पात्र र प्रस्तुतिलाई ध्यानमा राखे। द्वन्द्वलाई संवादले सम्हाल्छ भन्ने सोचले हाकुको खोजलाई लामो बनायो। 

सुन्दा रमाइलो लाग्ने, दर्शक हँसाउने संवादलाई ठाउँ दिन दृश्य लम्ब्याइएको प्रस्ट लाग्छ। ट्रेलरमै देखिएको पुतली (सिर्जना सुब्बा) र हाकु कालेको (तेरै छ नि खुब मिस नेपालको जस्तो अनुहार) अनावश्यक लाग्ने सिनको उदाहरण हुन सक्छ, जसले फिल्मको कथामा महत्व राख्दैन। 

सस्पेन्स र ट्वीस्ट पटकथाको बलियो पक्ष हो। दुई पात्र कामेश्वर चौरासिया र एलिशा राई (सुन्दरी) को भूमिकालाई महत्वपूर्ण मान्नुपर्छ। बैंकको सेक्युरिटीको रुपमा चौरासिया र जासुसको रुपमा सुन्दरी यी दुईको प्रयोग नै कथाको रोमाञ्चक पक्ष हो। 

मल्टिस्टारर फिल्म ‘लुट टू'मा कलाकारहरु ‘लुट’बाट नै राइज भएकाहरु दोहोरिए। दयाहाङ राई, कर्मा, विपीन कार्की, कामेश्वर चौरासियादेखि ऋचा शर्मा, सिर्जना सुब्बा होस् वा ठूलो पर्दाका लागि एलिशा राई, सबैले अभिनयमा आफ्नो नामलाई पुन: साबित गरे।

डायलग डेलिभरी र हाउभाउलाई माध्यम बनाएर दर्शकको ध्यानाकर्षण गराइराख्नु, संवादलाई नाटकीय हुनबाट जोगाउनु जस्ता ससाना विषयमा कलाकार निक्खर लाग्छन्। 

अपेक्षा अनुसार निश्चलको निर्देशकीय पक्ष औसत लाग्छ। सरल र सामान्य जीवनशैली उतारेको कारण फरक र सफल फिल्मको दाबेदार बन्यो लुट। सिक्वेलसम्म आइपुग्दा ‘लुट टू'मा टेक्नोलोजी बढी हाबी देखिन्छ। सरल जीवनशैलीलाई नै देखाउन खोजिए पनि दृश्यहरु लाउड लाग्छन्। यस मानेमा फिल्मको कथा पहिलो शृंखलाको राम्रो सिक्वेल हो। यहाँ 'लुट'को नाम मात्र बिकाइएको छैन। कथाले निरन्तरता पाएको छ। तर लुटको निर्देशकीय अपेक्षा ‘लुट टू'ले पूरा गरेको छैन।

छायांकनमा पुरुषोत्तम प्रधानले सधैंजस्तै आफूलाई उत्कृष्ट साबित गरेका छन्। फिल्ममा सेटिङ मात्र फेरिँदैन, हरेक सेटिङका दृश्य चलायमान छन्। एक्शनप्रेमी दर्शकलाई द्वन्द्व निर्देशक राजकुमार उप्रेतीले निराश पार्दैनन्। एक्शन, कमेडी, सस्पेन्स सबै मिलाएर फिल्मलाई मसालेदार बनाउने प्रयास गरिएको छ। 

प्रदर्शनअघि फिल्मको गीत 'ठमेल बजार'ले निकै चर्चा पायो। फिल्ममा गीतको प्रयोग महत्वपूर्ण लाग्छ। 

सिक्वेलको नाममा कुनै सफल फिल्मको नाम प्रयोग गरेर फिल्मको नामपछाडि 'टू' झुण्ड्याउने काम फिल्म युनिटले गरेका होइनन्। युनिटले सफल फिल्मको भाग दुई नै पस्किएको हो। केही कोणबाट हेर्दा पहिलो भाग जस्तो दोस्रो नहोला पटकथा अनि निर्देशकीय हिसाबमा।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell