PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विवादित तीन दर्जन क्याम्पसमा निर्धारित मितिमा स्ववियु चुनाव नहुने



सविन ढकाल

विवादित तीन दर्जन क्याम्पसमा निर्धारित मितिमा स्ववियु चुनाव नहुने

काठमाडौं : विवाद रहेका तीन दर्जन क्याम्पसमा फागुन १८ गते निर्वाचन नहुने भएको छ।
 
तेस्रो पटक फेरिएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन कार्यतालिका अनुसार सोमबार बिहानसम्म मनोनयन दर्ता नभएका ती क्याम्परका तोकिएको मितिमा निर्वाचन नहुने भएको हो। विद्यार्थी संगठनको विवादकै कारणले अधिकांश क्याम्पसमा तनाव यथावत् छ।
 
देशभरका ६१ आंगिक क्याम्पसमध्ये २५ वटा क्याम्पसमा मात्र उम्मेदवारी दर्ता गरिएको छ। विद्यार्थीको विवादका कारण फेरि पनि निर्वाचन कार्यतालिका परिर्वतन हुने भएको छ।
 
स्ववियु निर्वाचन समितिकी संयोजक सुधा त्रिपाठीले मनोनय दर्ता नभएका क्याम्पसमा १८ गते निर्वाचन नहुने बताइन्। 'विवाद भएका क्याम्पसमा फागुन १८ गते निर्वाचन हुन सक्दैन,' उनले पहिलोपोस्टसँग भनिन्, 'आजसम्म उम्मेदवारी दर्ता भएको छैन, कहिले मतपत्र छाप्नु अनि कसरी हुन्छ निर्वाचन?’
 
तीन ठूला विद्यार्थी संगठनबीच आइतबार बिहान सहमति भएको थियो।  क्याम्पसमा प्रहरी लगाएर ताला फोरेर भए पनि निर्धारित मितिमा नै निर्वाचन गर्ने सहमति भए पनि आइतबार ताला खुलेन। त्रिभुवन विश्वविद्यालयले क्याम्पस प्रमुखलाई प्रहरी लगाएर निर्वाचन गर्न निर्देशन समेत दिएको थियो। तर क्याम्पस प्रमुखले प्रहरी लगाएर निर्वाचन गर्ने साहस देखाएनन्।
 
अखिल क्रान्तिकारी प्रवत्ता सुरेन्द्र बस्नेतले क्याम्पस प्रमुखले नै प्रहरी लगाएर चुनाव गर्न खुट्टा कमाएकाले अन्योल थपिएको बताए। ‘निर्वाचन कार्यतालिका खुम्च्याएर भए पनि निर्धारित समयमा निर्वाचन गर्ने कोसिसमा छौ,’ उनले भने।
 
निर्वाचन समिति संयोजक त्रिपाठीले भने प्रहरी र बल प्रयोग गरेर निर्वाचन गराउन नसकिने प्रतिक्रिया दिइन्। ‘जसका लागि निर्वाचन हुँदैछ, उनीहरुकै टाउकोमा प्रहरीको लाठ्ठी बजारेर चुनाव गर्न सक्दैनौँ,’ उनले भनिन्।
 
राजधानीका चर्चामा रहेका क्याम्पसहरु सरस्वती बहुमुखी क्याम्पस, पशुपति, रत्न राज्यलक्ष्मी, शंकरदेव, त्रिवि केन्द्रीय क्याम्पस लगायतमा एक दर्जनभन्दा बढी लगाएको ताला खुल्न सकेको छैन।
 
विवाद भएका क्याम्पसमा निर्धारित समयमा निर्वाचन गराउन असम्भव भइसकेको अनेरास्ववियुका महासचिव ऐन महर बताउँछन्। 'कोठाभित्र बस्दा सबै संगठन सहमति गर्छन् तर बाहिर गएपछि सहमति बिर्सिएर आन्दोलनमा उत्रिन्छन्,' उनले प्रश्न गरे, 'अनि कसरी हुन्छ निर्वाचन?' नेविसंघकै कारण निर्वाचनमा अवरोध आएको उनको आरोप छ। नेविसंघको आन्तरिक विवाद र किचलोले गर्दा त्यसको असर स्ववियु निर्वाचनमा परेको उनले तर्क गर्रे।
 
देशभरका २५० भन्दा बढी क्याम्पसमा निर्वाचन प्रक्रिया अघि बढे पनि अधिकांश क्याम्पसमा विवाद यथावत् छ। दिनदिनै बढ्दै गएको विवादले हिंसात्मक घटना बढ्दैछन्।
 
नेविसंघका महामन्त्री सरोज थापा भने पशुपति बहुमुखी क्याम्पस बाहेक अन्य क्याम्पसमा नेविसंघले विवाद नझिकेको र ताला नलागाएको दाबी गरे। विवाद रहेका राजधानीका केही क्याम्पसमा अखिल क्रान्तिकारी र अनेरास्ववियुले अध्यक्षको उम्मेदवारी घोषणा गरे पनि नेविसंघले भने उम्मेदवार घोषणा गर्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell