PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

लगानीमा बैंकले कडाइ गर्न थालेपछि घरजग्गाको कारोबारमा ब्रेक सुरु



अमर बडुवाल

लगानीमा बैंकले कडाइ गर्न थालेपछि घरजग्गाको कारोबारमा ब्रेक सुरु

काठमाडौं : तरलता अभावसँगै बैंकले लगानीमा कडार्इ गरेपछि उपत्यकाबाहिर समेत घरजग्गा कारोबारमा ‘ब्रेक’ लागेको छ। उपत्यकाबाहिर विभिन्न सहरमा चम्केको जग्गाको व्यापार समेत सुस्त भएको छ।
 
उपत्यकापछि धेरै कारोबार हुने चितवनको जग्गाको कारोबार तीन महिनादेखि लगातार ओरालो लागेको छ। मंसिर महिनामा १६ करोड ८१ लाख रुपैयाँ राजस्व उठाएको चितवन मालपोत कार्यालयले पुस महिनामा १४ करोड ९८ लाख रुपैयाँ मात्र राजस्व उठाएको थियो। माघ महिनामा राजस्व घटेर १२ करोड ८७ लाख रुपैयाँमा खुम्चिएको छ।
 
चितवनपछि धेरै घरजग्गाको कारोबार हुने बुटवल पनि सुस्त भएको छ। मंसिर महिनामा १२ करोड ९८ लाख रुपैयाँ राजस्व उठेको पुस महिनामा १२ करोड ४४ लाख रुपैयाँमा झर्‍यो। माघ महिनामा राजस्व घटेर ९ करोड ८१ लाख रुपैयाँमा खुम्चिएको छ। 
 
चितवन र बुटवलपछि धेरै कारोबार हुने पोखरामा पनि राजस्व लगातार ओरालो लागेको छ। मंसिर महिनामा १२ करोड ३ लाख रुपैयाँ राजस्व उठाएको कास्की मालपोत कार्यलयले पुस महिनामा १० करोड ७७ लाख रुपैयाँ मात्र राजस्व उठाएको थियो। माघ महिनामा आइपुग्दा पोखरामा घरजग्गाको राजस्व ८ करोड १९ लाख रुपैयाँमा खुम्चिएको छ।
 
पछिल्लो समय घरजग्गा कारोबार मौलाएको नवलपरासीमा सामान्य घटेको छ। नवलपरासीमा मंसिर महिनामा ८ करोड ४५ लाख रुपैयाँ राजस्व उठेको थियो। नवलपरासीमा दुर्इ मालपोत कार्यालयमध्ये एउटाले मात्रै पठाएको राजस्वको तथ्यांक अनुसार पुस महिनामा ४ करोड १४ लाख रुपैयाँ राजस्व उठेको थियो। माघ महिनामा पनि नवलपरासीमा ८ करोड ३९ लाख रुपैयाँ राजस्व उठेको छ।
 
विराटनगर क्षेत्रमा पनि घर जग्गा कारोबारमा सुस्तता आएको छ। मंसिर महिनामा ८ करोड ४५ लाख रुपैयाँ राजस्व उठाएको मोरङले पुस महिनामा एउटा मात्र मालपोत कार्यालयले विवरण पठाएको छ। सो मालपोत कार्यालयका अनुसार ४ करोड ६२ लाख रुपैयाँ राजस्व उठाएको विवरण छ। माघ महिनामा भने विराटनगर क्षेत्रमा ७ करोड ७४ लाख रुपैयाँ राजस्व उठेको छ।
 
उपत्यकाका नजिकै रहेको काभ्रेपलाञ्चोकमा मंसिर महिनामा ४ करोड ८६ लाख रुपैयाँ राजस्व उठेको थियो। पुस महिनामा राजस्व घटेर ४ करोड ६ लाख रुपैयाँमा आएको थियो। माघ महिनामा भने राजस्व ३ करोड ५५ लाख रुपैयाँमा खुम्चिएको छ।
 
उपत्यकापछि घरजग्गाको धेरै कारोबार गर्नेमा सुनसरी, मकवानपुर, झापा, धनगढी, दाङ, नेपालगञ्ज, जनकपुर लगायतका ठाउँहरु अगाडि छन्।
 
झापामा पुस महिनामा ४ करोड ७१ लाख रुपैयाँ राजस्व उठेकोमा माघ महिनामा ४ करोड ४९ लाख रुपैयाँ मात्र उठेको छ।
 
दाङ पुसमा ३ करोड ३६ लाख रुपैयाँ राजस्व उठेकोमा माघमा ३ करोड ३१ लाख रुपैयाँ मात्र राजस्व उठेको छ। नेपालगन्जमा पुसमा ३ करोड ११ लाख रुपैयाँ राजस्व उठेकोमा माघमा २ करोड ९४ लाख रुपैयाँ मात्र राजस्व उठेको छ। जनकपुरमा पनि पुसमा ३ करोड ९ लाख रुपैयाँ राजस्व उठेकोमा माघमा २ करोड ७७ लाख रुपैयाँ राजस्व उठेको छ।
 
त्यसैगरी सुनसरीमा पनि मंसिरको ५ करोड १३ लाख रुपैयाँ राजस्व उठेको तुलनामा पुस महिनामा ९१ लाख रुपैयाँ राजस्व बढेर ६ करोड ४ लाख रुपैयाँ उठेको थियो। माघ महिनामा भने फेरी ८७ लाख रुपैयाँ राजस्व घटेर ५ करोड १७ लाख रुपैयाँ मात्र उठेको छ।
 
धनगढी र हेटौँडामा मात्रै कारोबार सामान्य उकालो
सबै ठाउँमा तीन महिनाको तुलना गर्दा राजस्व घटेपनि धनगढी र हेटौँडामा भने सामान्य बढेको छ। मंसिर महिनामा ३ करोड ४३ लाख रुपैयाँ राजस्व उठेको धनगढीमा पुस महिनामा ११ लाख रुपैयाँले घटेर ३ करोड ३२ लाख रुपैयाँ राजस्व उठेको थियो। माघ महिनामा फेरी २९ लाख रुपैयाँले राजस्व बढेर ३ करोड ६१ लाख रुपैयाँ पुगेको छ।
 
मकवानपुरमा मंसिर महिनामा ५ करोड ८ लाख रुपैयाँ राजस्व उठेको थियो। पुस महिनामा ७० लाख रुपैयाँले घटेर ४ करोड ३८ लाख रुपैयाँ मात्र राजस्व उठेको थियो। माघ महिनामा करिव २० लाख रुपैयाँ राजस्व बढेर ४ करोड ५८ लाख रुपैयाँ उठेको छ।
 
पुसको तुलनामा १० करोड रुपैयाँ राजस्व घट्यो
मुलुकभरको मालपोत कार्यालयबाट पुस महिनामा २ अर्ब ६ करोड रुपैयाँ राजस्व उठेको थियो। माघ महिनामा करिब १० करोड रुपैयाँले घटेर १ अर्ब ९६ करोड रुपैयाँ मात्रै राजस्व उठेको छ। चालु आर्थिक वर्षको ७ महिनामा १२ अर्ब ७० करोड ८२ लाख रुपैयाँ राजस्व उठिसकेको छ।
 
सबैभन्दा धेरै राजस्व उठाउने काठमाडौं (डिल्लीबजार) मालपोत कार्यालय हो भने सबै भन्दा थोरै राजस्व उठाउने मनाङ मालपोत कार्यालय हो। काठमाडौं मालपोतले न्यूनतम १५ करोड रुपैयाँ देखि अधिकतम २७ करोड रुपैयाँसम्म मासिक राजस्व उठाउँदै आएको छ। मनाङले भने न्यूनतम ३३ हजार रुपैयाँ देखि एक लाख २० हजार रुपैयाँ सम्म मात्रै राजस्व उठाएको तथ्यांकमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell