PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भानुभक्तसम्बन्धी अनुसन्धानात्मक कृति प्रकाशनमा



पहिलोपोस्ट

भानुभक्तसम्बन्धी अनुसन्धानात्मक कृति प्रकाशनमा

काठमाडौं : संस्कृत तथा नेपाली भाषाका ज्ञाता शिवराज आचार्य कौण्डिन्न्यानद्वारा सम्पादित ‘भानुभक्तकृत भाषारामायण पुस्तक’ प्रकाशित भएको छ। पुस्तकमा भानुभक्तको सातै काण्ड रामायणका साथै उनका अन्य सम्पूर्ण कृति समावेश छन्।
 
सम्पादक कौण्डिन्न्यायनकै भनाइमा झण्डै ५० वर्ष लगाएर खोजी गरिएका सामग्रीलाई पुस्तकाकार दिइएको हो। रामायणका विषयमा अहिलेसम्म भएका सबै कामको समीक्षा गर्दै पाठ समीक्षात्मक संस्करण ६ वर्ष अघि तयार भएको सो पुस्तकको सरलीकृत लोकानुकूल संस्करण हालै प्रकाशित भएको हो।
 
पुस्तकमा भानुभक्त आचार्य (विसं१८७१—१९२५) को संक्षिप्त जीवनीका साथै भक्तमाला, प्रश्नोत्तरमाला, वधूशिक्षा र फुटकर कविता पनि समेटिएका छन्। पुस्तकमा भानुभक्तले प्रयोग गरेका कठिन शब्दहरूको अर्थ र सबै श्लोकहरुका पाउहरूको अकारादि सूची पनि समावेश गरिएको छ।
 
लेखकको लामो भूमिकामा भानुभक्तकृत भाषारामायणको धार्मिक, दार्शनिक, साँस्कृतिक, भाषिक, साहित्यिक महत्त्वको प्रतिपादन गर्नुका साथै नेपाली राष्ट्रियताको रक्षाका लागि रामायणको सार्थक प्रचारको आवश्यकता पनि देखाइएको छ। पुस्तकलाई सांग्रिला पुस्तक प्रालिले प्रकाशनमा ल्याएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell