PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

स्ववियु निर्वाचन : कुन क्याम्पसमा के छ विवाद ?



सविन ढकाल

स्ववियु निर्वाचन : कुन क्याम्पसमा के छ विवाद ?

काठमाडौँ : स्ववियु निर्वाचन कार्यतालिका अनुसार शनिबार साँझसम्म उम्मेदवार मनोनयन गरिसक्नु पर्ने भएपनि संगठनको विवादको कारणले तीन दर्जनभन्दा बढी क्याम्पसमा मनोनयन दर्ता हुन सकेको छैन। 

देशभरका ६१ आंगिक क्याम्पसहरु मध्ये २१ वटा क्याम्पसमा मात्र उम्मेदवारी दर्ता गरिएको छ। शनिवार उम्मेदवारी दर्ता गरिएका २१ वटा क्याम्पस मध्ये १२ वटामा नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीले निर्विरोध विजय हासिल गरेको छ। 

सिस्ने शिक्षा क्याम्पस रुकुमकोटमा श्रीकुमार बुढाथोकी, स्यार्पु शिक्षा क्याम्पस बाफिकोट रुकुममा नवराज केसी, सिम्रुतु शिक्षा क्याम्पस रुकुममा जीवन पुनमगर, सानोभेरी शिक्षा क्याम्पस सिम्ली रुकुममा रामबहादुर खडका, वनगाड क्याम्पस सल्यानमा ईन्द्रबहादुर बुढाथोकी, फारुला बहुमुखी क्याम्पस सल्यानमा रामप्रसाद शर्मा, शिवजन क्याम्पस सितलपाटी सल्यानमा हरिप्रकाश वली, जनज्योति क्याम्पस पुर्कोटदह गुल्मीमा सिर्जना घिमिरे, त्रिपूरा क्याम्पस नाम्दु दोलखामा सालिकराम उप्रेति, लटिनाथ बहुमुखी क्याम्पस दार्चुलामा नरबहादुर विष्ट, गोकुलेश्वर बहुमुखी क्याम्पस दार्चुलामा भुवन भण्डारी, गुराँस बहुमुखी क्याम्पस सानोश्री ताराताल बर्दियामा धना ढकाल निर्विरोध भएका हुन्। 

त्रिविको कार्यतालिका अनुसार शनिबार सानोठिमी शिक्षा क्याम्पस र भक्तपुर क्याम्पस दुई ठाउँमा मनोनयन दर्ता भएको छ। 

राजधानी लगायत देशभरका अन्य आंगिक क्याम्पसमा भने तालाबन्दी र विवादका कारण निर्वाचन कार्यतालिका नै फेरिएको छ। आइतबार बसेको तीन ठूला विद्यार्थी संगठनको बैठकले क्याम्पसमा लागेका तालबन्दी तोडेर भएपनि बुधबार नै निर्वाचन गर्ने सहमति गरेका छन्। 

सहमति भए अनुसार आइतबार साँझसम्म उम्मेदवारी दर्ताको लागि समय तोकिएको छ। सहमति भए पनि अधिकांश क्याम्पसका ताला नखुलेको अखिल क्रान्तिकारीका अध्यक्ष नरेश न्यौपानेले बताए। उनले भने, ‘प्रहरी परिचालन गरेर ताल्चा खोल्ने सहमति भए पनि खुलेन। अब हामी गृहमन्त्रीसँग नै कुरा गर्छौ।’ 

नेविसंघ अध्यक्ष नैनसिंह महरले सहमति भइसकेको र अब ताला खोलिने बताए। उनले भने, ‘सहमतिमा नै ताल्चा खोलिने छ र निर्धारित मितिमा नै निर्वाचन हुन्छ।’

कुन क्याम्पसमा कसले ताला लगाएका छन्? 

सरस्वति बहुमुखी क्याम्पस
निर्वाचन मिति तोकेदेखि नै सरस्वति बहुमुखी क्याम्पसमा झडप र विवादका श्रृङ्खलाहरु शुरु भएका थिए। त्यहाँ क्रान्तिकारी र अखिल बीच झडप भइसकेको छ। सरस्वति बहुमुखी क्याम्पसमा बिबिए तेस्रो वर्ष र मास्टर्स दोस्रो वर्षका विद्यार्थीले तालाबन्दी गरेका हुन्। बिबिएमका विद्यार्थीले आफ्नो नाम मतदाता सूचीमा छुटाएको विरोधमा पनि तालाबन्दी गरेका छन्।

पशुपति बहुमुखी क्याम्पस 
नेविसंघको बाहुल्य रहेको पशुपति क्याम्पस सबैभन्दा बढी झडप हुने क्याम्पसमा पर्छ। यहाँ नेविसंघ, अखिल क्रान्तिकारी वैद्य, अखिल क्रान्तिकारी विप्लवलगायतका संगठनले तालाबन्दी गरेका छन्। यसअघि भएको स्ववियु चुनावमा नेविसंघका मनोज वैद्यले जितेका थिए  अहिले भने कुन पार्टीले कसलाई उम्मेदवार उठाउने भन्ने निर्णय गरिसकेको छैन। 

त्रिवि केन्द्रीय क्याम्पस
स्ववियु चुनावमा निकै महत्वका साथ हेरिने क्याम्पस हो त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुर। त्रिवि क्याम्पस पनि विवाद र तालाबन्दीबाट अछुतो रहन सकेन। अखिल क्रान्तिकारीले एकलौटी रुपमा नामावली सार्वजनिक गरेको भन्दै मधेशी लगायत विप्लव माओवादीको विद्यार्थी संगठनले तालाबन्दी गरेका छन्। 

रत्नराज्यलक्ष्मी क्याम्पस
उम्मेदवारी दर्ताको विषयलाई नै लिएर शनिबार नेविसंघ र अखिलबीच रत्नराज्यलक्ष्मी क्याम्पसमा झडप भएको थियो। झडपको क्रममा विद्यार्थीले क्याम्पस प्रशासनमा आगजनीसमेत गरे। क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीले अध्यक्षको उम्मेदवारी मनोनयन दर्ता गरेका छन्। त्यस्तै नेक्राविसंघले अध्यक्ष, सचिव र कोषाध्यक्षमा उम्मेदवारी दर्ता गरेको छ। 

शंकरदेव क्याम्पस
बागबजारमा रहेको शंकरदेव क्याम्पसमा पनि केही दिनदेखि तालाबन्दी छ। गैर विद्यार्थीलाई भर्ना गराएको विषयमा अखिल क्रान्तिकारी वैद्य, अखिल क्रान्तिकारी विप्लव लगायतल तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका छन्। 

महेन्द्ररत्न क्याम्पस, विश्वभाषा क्याम्पस, पद्मकन्या क्याम्पस, पुल्चोक इन्जिनियरिङ लगायतका क्याम्पसमा क्याम्पसमा नेविसंघ, अखिल क्रान्तिकारी वैद्य, अखिल क्रान्तिकारी विप्लवलगायतका संगठनले तालाबन्दी गरेका छन्। अमृत साइन्स क्याम्पसमा ताला खुलेपनि विवाद कायम हुँदा उम्मेदवारी दर्ता हुन सकेको छैन। पब्लिक युथ, महेन्द्ररत्न ताहाचलमा यो समाचार तयार पार्दासम्म ताला खुल्न सकेको छैन। 

ठाकुरराम बहुमुखी क्याम्पस
ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जको स्ववियु निर्वाचन अनिश्चित बनेको छ। विद्यार्थी संगठनको विवादका कारण निर्वाचनका लागि संगठन दर्ता कक्षमा बिहीबार मधेशवादी दल आवद्ध विद्यार्थी संगठनले आगजनी गरेका छन्। आगजनीपछि निर्वाचन अधिकृतले समेत राजीनामा दिएका छन्। चुनाव सार्नुपर्ने माग गर्दै मधेसी दल आवद्ध विद्यार्थी संगठन आन्दोलनमा छन् ।  

महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगर
मोफसलका क्याम्पस मध्ये सबैभन्दा बढी नेता उत्पादन गर्ने क्यासपको रुपमा कहलिएको छ महेन्द्र मोरङ क्याम्पस। यहाँ पनि उम्मेदवारी दर्ता प्रकृया प्रभावित बनेको छ। मधेशी मोर्चा आवद्ध विद्यार्थीले केही दिनदेखि गरेको तालाबन्दीको कारण स्ववियु कार्यतालिका अनुसार प्रक्रिया अघि बढ्न सकेको छैन।

महेन्द्र बहुमुखी क्याम्पस
नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा पनि ताला खुल्न नसकेकोले निर्वाचन प्रक्रिया प्रभावित भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell