PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

दुर्गा तिवारी हत्या प्रकरण : प्रहरीले गर्‍यो १२ जनाको नाम सार्वजनिक, सुटरबारे अझै केही जानकारी छैन



सविन ढकाल

दुर्गा तिवारी हत्या प्रकरण : प्रहरीले गर्‍यो १२ जनाको नाम सार्वजनिक, सुटरबारे अझै केही जानकारी छैन

काठमाडौँ : युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या मनोज पुनले गराएको प्रहरीले दावी गरेको छ। तिवारी हत्याको दुई महिनापछि प्रहरीले पत्रकार सम्मेलन गरेर पुनः पुरानै दावी दोहोर्या एको हो। गएको पुस ४ गते गोली हानेर तिवारीको हत्या भएको थियो।

दुई महिनापछि आइतबार भएको पत्रकार सम्मेलनमा प्रहरीले हत्यामा संलग्न रहेको थप आरोपीको नाम सार्वजनिक गर्‍यो।
 
जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रवक्ता डिएसपी बेलबहादुर पाण्डेका अनुसार ब्यक्तिगत रिसइबीका कारण पुनको योजनामा तिवारीको हत्या भएको हो। पुन नेपाल बाहिर बस्दै आएका छन्। पुनले घटनापछि नै सञ्चार माध्यमलाई फोन गरी जिम्मा लिइसकेका थिए।
 


प्रहरीको दावी अनुसार पुनको योजनामा विकास भनिने सोमबहादुर आले र श्याम गुरुङले नेपालमा बसेर तिवारी हत्याको योजना बनाएका थिए।
हत्यामा बाबु भनिने तुलबहादुर सिंजाली, बसन्तबहादुर चापागाईं, बुद्धिसागर यादव, राजेश यादव, प्रयास भनिने खेमानन्द भट्टराई, सागर थापा, अंगद थारु र ऋषिकुमार कुमाल तिवारीले सघाएको प्रहरीको दावी छ। तिवारीलाई राजुले गोली हानेको प्रहरीको दावी छ। 

तर प्रहरीले राजुको पूरा विवरण भने खुलाउन सकेको छैन। तिवारी चढेको मोटरसाइकललाई दुई जनाले पछ्याएका थिए। 

प्रहरीले नाम सार्वजनिक गरेको मुख्य योजनाकार पुन, योजनाकार आले र गुरुङ, हतियार र गोली राखिदिने सिञ्जाली र सुटर भनिएका राजु फरार छन्।

पक्राउ परेका व्यक्ति र केही प्रमाणका आधारमा पुन कै मुख्य योजनामा हत्या भएको देखिएको डिएसपी पाण्डेले दावी गरे। उनले भने, ‘मनोज पुन नै मुख्य हत्यारा हो। उसको खोजीमा छौँ।‘

मनोज बुढाले दुर्गा तिवारी हत्या गर्नुको मुख्य कारण व्यक्तिगत प्रतिशोध साँध्ने र क्रुर आपराधिक व्यक्ति र समूहको पहिचानमार्फत् उद्योगी, व्यापारी तथा आफूसँग रिसइबी भएका व्यक्तिसँग मोटो रकम असुल्ने नियत रहेको देखिएको उनले बताए।

एमालेको भ्रातृ संस्था युवा संघ रुपन्देहीका अध्यक्ष तिवारीलाई गएको पुस ४ गते रुपन्देही र नवलपरासीको सिमानामा पर्ने खैरहनी भन्ने स्थानमा गोली प्रहार भएको थियो। देब्रे कोखामा गोली लागेका उनको रुपन्देही देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो।

यी हुन् प्रहरीका अनुसार घटनामा संलग्न १२ जना

१) मनोज पुन भन्ने मनोज बुढामगर (फरार), २९ वर्ष 
भूमिकाः घटनाको मुख्य योजनाकार।

२) विकास भन्ने सोमबहादुर आले  (फरार), ४० वर्ष
भूमिकाः घटनाको योजनाकार।

३) श्याम गुरुङ (फरार), ३० वर्ष
भूमिकाः घटनाको योजनाकार।

४) राजु (फरार) 
भूमिकाः गोली हान्ने 

५) बाबु भन्ने तुलबहादुर सिँजाली (फरार), २७।२८ वर्ष
भूमिकाः हातहतियार तथा गोली दिने, राख्ने।
 
६) वसन्तबहादुर चापागाईँ, ३१ वर्ष  
भूमिकाः मनोजको निर्देशन बमोजिम घटनाको दिन दिनभरी दुर्गाप्रसाद तिवारीको गतिविधिको निगरानी गरी जानकारी गराएको। 

७) बुद्धिसागर यादव, २७ वर्ष
भूमिकाः मनोजको निर्देशनमा सागर थापाले ल्याएको बा ५१ प  ८०७३ नम्बरको मोटसाइकल लुकाई छिपाई केही महिना अघिदेखि आफ्नो घरमा राखिदिएको र घटना हुँदाको दिन आफ्नो भाइ राजेश यादवलाई उक्त मोटरसाइकल पठाई दिएको।  

८) राजेश यादव, २४ वर्ष
भूमिकाः दाजु बुद्धिसागर यादवले घरमा ल्याइराखेको बा ५१ प  ८०७३ नम्बरको घटना हुँदाको दिन रोहणी पुलमा लगी सागर थापाको जिम्मा लगाएको।  

९) प्रयास भन्ने खेमानन्द भट्टराई, उमेरः३३ वर्ष 
भूमिकाः मनोजको निर्देशन बमोजिम घटना हुँदाको दिन पुस ४ गते बिहान सुटरलाई आफ्नो लु २८ प २११९ नम्बरको मोटरसाइकलमा राखी रोहणी पुलसम्म पुर्याभएको र घटनापश्चात् सुटर तथा सागर थापालाई सोही मोटरसाइकलमा रोहणी पुलबाट मणिग्रामसम्म पुर्‍याएको। सागर थापाको मोबाइल तथा सिम भाँचेर फालिदिएको। मणिग्रामबाट सुटरलाई पोखरातर्फ र सागर थापालाई पाल्पा हुँदै गुल्मी रिडीतर्फ पठाएको। 

१०) सागर थापा, २३ वर्ष 
भूमिकाः राजेश यादवसँग बा ५१ प  ८०७३ नम्बरको मोटरसाइकल लिएर सुटरलाई मोटरसाइकलको पछाडि राखी देबदह खैरेनीतर्फ आई साइकल पसलबाट पौडेल मिष्ठान्न भण्डार अगाडि रहेका दुर्गाप्रसाद तिवारीलाई वाच गरेको। तिवारी मोटरसाइकलमा जाँदै गरेको अवस्थामा पिछा गरी देवदह ८ स्थित कोलिया मार्गमा पुग्दा आफ्नो मोटरसाइकल दुर्गा तिवारी चलाएको मोटरसाइकलको केही अगाडि लगे पश्चात् सुटरले तिवारीलाई गोली हानेको। त्यसपछि सेमराना हुँदै रोहणी पुलमा पुगी मोटरसाइकल रोहणी पुलमा छाडी खेमानन्द भट्टराईको लु २८ प २११९ नम्बरको मोटरसाइकलमा मणिग्रामतर्फ गई सोही दिन पाल्पा तर्फ लागेको।

११) अंगद थारु, २८ वर्ष
भूमिका : हातहतियार संकलन, ओसारपोसार, फिरौती रकम उठाउने। 

१२) ऋषिश्वर कुमाल, २८ वर्ष
भूमिका : हातहतियार संकलन, ओसारपोसार, फिरौती रकम उठाउने। 

सम्बन्धित समाचार :
दुर्गा तिवारी हत्या प्रकरण : हत्यारा नखुलेपछि छानबिन समितिले लुसुक्क प्रतिवेदन बुझायो
दुर्गा तिवारी हत्याका तीन कन्फ्यूजन
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell