PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

सिमरा-काठमाडौं रात्रि उडानमा यात्रुको चाप, एकै दिन काम सकेर फर्किनेलार्इ सहज



राधेश्याम पटेल

वीरगन्ज : गत वर्षदेखि सुरु भएको सिमरा–काठमाडौं रात्रि उडानमा यात्रुको चाप बढेको छ। दिनभर राजधानीमा काम सकेर ओहोरदोहर गर्न सकिने भएकोले यो रुटमा यात्रुको चाप बढेको हो।
 
गत मार्च १ देखि सिमरा–काठमाडौं रात्रि उडानको लागि भौतिक पूर्वाधार रनवे लाइट जडान गरी रात्रि उडान सुरु भएको थियो। रात्रि उडान सुरु भएको करिब एक वर्षमा २३ सय उडान भएको सिमरा विमानस्थलका प्रबन्धक हिराजन काफ्लेले बताए।
 
विमानले ३९ हजार ६ सय ३५ जना यात्रुहरुलाई काठमाडौंबाट सिमरा ल्याएको छ भने ३९ हजार १ सय २१ जना यात्रुहरुले सिमराबाट काठमाडौंका लागि हवाइयात्रा गरेका छन्।
 
करिब ८० हजार यात्रुहरुबाट विमानस्थल प्रशासनले १ करोड विमान विकास तथा यात्रु सेवा शुल्क संकलन गरेको छ। मुलुककै ४७ वटा विमानस्थलमध्ये राजधानी काठमाडौं जोड्ने सबैभन्दा कम दूरी र कम समयको हवाइमार्ग काठमाडौं–सिमरा हो।
 
यो मार्गमा जहाजले ११ देखि १३ मिनेटमा यात्रा पूरा गर्छ। सडक यातायातमा समस्या हुँदा सिमरा विमानस्थलमा बढी चाप हुने एयर ट्राफिक कन्ट्रोलर हिरोन शाहले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell