PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​आगलागी पीडितलाई कोरियामा रहेका नेपालीद्धारा आर्थिक सहयोग



पहिलोपोस्ट

पाँचथर : रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका लिम्बू समुदायका नेपाली युवाद्वारा स्थापित याक्थुङ सयङ दक्षिण कोरियाले तेह्रथुमको सक्रान्तिबजारका आगलागीपीडितलाई रु एक लाख ८१ हजार सहयोग प्रदान गरेको छ। 

सयङको अगुवाइमा सङ्कलित राहत रकम सक्रान्तिबजारका आगलागीपीडितको सहयोगार्थ स्थापित ‘सक्रान्तिबजार पुनःनिर्माण तथा पुनःस्थापना कोष’मा जम्मा हुनेगरी शुक्रबार प्रदान गरिएको हो। 

सक्रान्तिबजारस्थित नागेश्वर पञ्चाङ्ग शिवालय मन्दिरमा आयोजित कार्यक्रममा सयङका संस्थापक सल्लाहकार कुविर लिङ्देनले इलाका प्रशासन कार्यालय सक्रान्तिबजारका प्रमुख सफल पोर्तेललाई रकम हस्तान्तरण गरे। 

सयङले ‘पुरानो डुङ्गा’ नामक नेपाली चलचित्र प्रदर्शन गरी करिब रु ७० हजार तथा बाँकी रकम दक्षिण कोरियामा रहेका नेपालीबाट सङ्कलन गरेको हो। 

आगलागीबाट घर तथा व्यवसाय गुमाएका पीडितको तत्कालीन जीविकोपार्जन तथा आगामी दिनमा पेसा व्यवसाय सञ्चालनमा सहयोग पुग्ने विश्वासका साथ सहयोग सङ्कलन गरिएको लिङ्देनले बताए। 

इलाका प्रशासक पोर्तेलले रोजगारीका क्रममा विदेशमा रहेका युवाले आगलागी पीडितको सहयोगार्थ चलाएका सहयोग सङ्कलनका अभियानले आगलागीपीडितको जीविकोपार्जन तथा सक्रान्तिबजारको पुनःनिर्माणमा ठूलो योगदान पुगेको बताए। 

गत पुस १ गते आठराईस्थित सक्रान्तिबजारमा भएको आगलागीमा ३२ घर टहरा जल्दा ७३ परिवार विस्थापित भएका थिए। आगलागीपीडित उद्योग वाणिज्य सङ्घ सक्रान्तिबजारको टहरा, कृषि विकास कार्यालयको भवन, आफ्ना आफन्त तथा डेरा गरी बस्दै आएका छन्। 

आगलागी भएको साढे दुई महिना बिते पनि सक्रान्तिबजारको पुनःनिर्माणको काम सुरु हुन सकेको छैन। आगलागीपीडितका लागि सङ्कलित सहयोग रकममध्ये अधिकांश सक्रान्तिबजार पुनःनिर्माण तथा पुनःस्थापना कोषमा जम्मा हुँदै आएका छ। जिन्सी तथा खाद्यान्न सहयोग भने पीडित स्वयम्ले पाउने गरेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell