PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पोखरामा बर्ड फ्लु भेटियो, संकटग्रस्त क्षेत्र घोषणा गरी पंक्षी नष्ट गरिँदै



पोखरामा बर्ड फ्लु भेटियो, संकटग्रस्त क्षेत्र घोषणा गरी पंक्षी नष्ट गरिँदै

काठमाडौँ : कास्की जिल्लाको पोखरा उपमहानगरपालिका क्षेत्रमा बर्ड फ्लु संक्रमण भेटिएको पुष्टि भएको छ। योसँगै सरकारले पोखराको निश्चित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्दै पंक्षी नष्ट गर्ने अभियान सुरु गरेको छ। 

पोखराको वडा नम्बर १८ मा रहेको खाल्टे मसिनामा पालिएका स्थानीय हाँसमा बर्ड फ्लु देखिएको हो। 

सरकारले रोग देखा परेको स्थानलाई केन्द्रबिन्दु मानी निश्चित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी पंक्षी नष्ट गरी रोग नियन्त्रण अभियान थालेको छ। संकटग्रस्त क्षेत्र भएर कुनै पनि पन्छी, पन्छीको मासु, अण्डा र सुलीको ओसार पसार निषेधित गरिएको छ।

सो ठाउँ बस्ने मिना परियारले पालेका हाँस बिरामी परेपछि केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा परीक्षण गर्दा बर्ड फ्लु रोग देखा परेको जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक एवं सूचना अधिकारी डा ठगेन्द्र प्रसाद अर्यालले जानकारी दिए।
 
कास्कीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीको अध्यक्षतामा आज वसेको जिल्ला दैविक प्रकोप उद्धार प्राविधिक समितिको वैठकले  खाल्टे मसिनाको पूर्वमा खहरे खोला, पश्चिममा भगवती मार्ग, उत्तरमा खाल्टेमसिना पीच रोड र दक्षिणमा त्यस ठाउँको भीर पहरोको ५०० मिटरसम्मको चार किल्ला क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
 
 बर्ड फ्लु रोगलाई अन्यत्र नसरोस् भनेर त्यस चार किल्ला भित्र २४ घरपरिवारले पालेका २५६ कुखुरा, ४१ हाँस, ६७ किलो दाना र ४२ किलो पक्षी तथा पक्षीजन्य पदार्थ नष्ट गरी खाल्टो खनेर व्यवस्थापन गरिएको डा अर्यालले वताए।
 
 समितिले सो क्षेत्रलाई ४२ दिनसम्म संकटग्रस्त क्षेत्र घोषणासंगै पक्षी तथा पक्षीजन्य पदार्थ विक्री वितरणमा रोक लगाएको  र पोखरा नगर क्षेत्रमा रहेर व्यवसाय गरेका कृषकहरुले पनि पक्षीहरु पाल्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

 (फाइल फोटो साभार : इन्डिया टुडे)



के हो बर्ड फ्लु?

मुख्यगरी पंक्षीहरुमा देखिने रुघाखोकी जस्तै यौटा रोग हो। यो रोग इन्फ्लुएन्जा जातिको भाइरसको कारण लाग्दछ । यो रोग कम संक्रामक र उच्च संक्रामक गरी दुई प्रकारको हुन्छ । प्राय हामीले सुन्ने र चर्चा गर्ने बर्ड फ्लु उच्च संक्रामक खालको हो। सन् २०१३ मा काठमाडौँमा पनि पहिलो पटक बर्ड फ्लु संक्रमण भेटिएको थियो। 

पन्छीमा मुख्य लक्षणहरू के देखिन्छन ?

 एकैपटक ठुलो संख्यामा पन्छीहरू मर्ने
 टाउको सुन्निने, सीऊर र लोती सुन्निने र निलो कालो (cyanotic) हुने

तर रानीखेत जस्ता रोगमा समेत यस्तै लक्षण देखिने हुदा बर्ड फ्लु यकिन भने प्रयोगशालामा मात्रै गरिन्छ ।

अझ थाहा पाउनुपर्ने कुरा के छ भने धेरैजसो अवस्थामा हाँसहरुमा भित्र रोग लागेको छ भने पनि लक्षण देखाउँदैन र स्वस्थ नै देखिन्छ । तर दिसामा भाइरस फालिरहन्छ जसले गर्दा यदि कुखुरा त्यो दिसाको सम्पर्कमा आयो भने कुखुरालाई सर्छ र लक्षण देखिन्छ ।

मानिसमा यो रोग कसरी सर्छ ?

मानिसमा मुख्यगरी यो रोग संक्रमित जीउदॊ पन्छी, सुली संगको लसपसबाट सर्छ । मासु खाएर यो रोग सर्ने सम्भावना अत्यन्तै कम हुन्छ । खासमा यो रोग मान्छेमा सजिलै सर्दैन ।

त्यसो हो भने किन डराउने त ?

अहिलेसम्म संसारभरी प्रमाणित रूपमा यो रोगको कारण जम्मा ३७७ जनाको मात्रै मृत्यु भएको छ । यति थोरै मानिस मरेको रोगले यति धेरै प्राथमिकता किन पायो होला भन्ने लाग्न सक्छ । यो रोगको महत्पूर्ण पक्ष भनेको रोग लागेको मध्ये उच्च मृत्युदर (करिब ६० प्रतिशत) हो । अनि अर्को कुरा मानिसमा लाग्ने रुघाखोकीको भाइरस र पन्छीको रुघाखोकीको भाइरस मिसिएर नया भाइरस बन्छ सक्छ र यस्तो भाइरस मानिस बाट मानिस सर्ने खालको बन्यो भने महामारीको रुप लिएर लाखौ मानिस मर्न सक्छ भन्ने बैज्ञानिकहरुको अनुमानको कारण बर्ड फ्लु यति चर्चित भएको हो । अझ बंगुरको रुघाखोकीको भाइरस समेत मिसियो भने त खतरनाक नया भाइरस बन्ने सम्भावना लाई नकार्न सकिदैन । यदि साच्चिकै त्यो स्थिति आयो भने नियन्त्रण गर्न निकै गारो हुने हुदा पन्छी कै लेवेलमा रोग नियन्त्रण गर्नुपर्छ भन्ने बिश्वब्यापी मान्यता छ । त्यहीकारणले रोग देखिएको क्षेत्रमा पन्छी स्वस्थ नै छ भने पनि मार्ने गरिएको हो ।

सबैभन्दा जोखिममा को हुन्छ त ?

 कुखुरा खोरमा काम गर्ने किसान र श्रमिक
 जिउदो पन्छी बजार (live bird market) मा पन्छी बेच्ने ब्यबसायीहरु
 कुखुराको काटमार र बिक्रिबितरनमा संलग्न मानिसहरु
 र अन्त्यमा सर्बसाधारण उपभोक्ताहरु (एकदमै न्यून सम्भावना)

यसबाट बच्न के गर्ने ?

 नगरी नहुने मानिसले बाहेक अन्य मानिसले पन्छीहरु नचलाउने
 बच्चाहरुलाई जिउदो पन्छीहरुसंग खेल्न नदिने
 किसानहरुले पन्छीको खोरभित्र काम गरेर आएपछि व्यक्तिगत सरसफाईमा ध्यान दिने जस्तै साबुन पानी, खरानी पानीले हात खुट्टा धुने
 पन्छीको खोरभित्र नसुत्ने र खोरभित्र काम गर्दा सफा मास्क, पन्जाको प्रयोग गर्ने
 जिउदो पन्छी बेचबिखन गर्दा र मासु काट्ने मानिसले काम गर्दा सफा मास्क, पन्जाको प्रयोग गर्ने
 कुखुरा काटे पछि उत्पन्न हुने भुत्लाहरुको ब्यबस्थापन राम्रोसंग गर्ने जस्तै जलाउने, खाडलमा गाड्ने
 मरेका कुखुराहरु जथाभावी नफाल्ने
 हांश, कुखुरा र बंगुर एकै ठाउमा नपाल्ने र सकभर सम्पर्क हुन नदिने
 उपभोक्ताले बिस्वाशिलो र सफा मासु पसलबाट मात्र मासु किन्ने
 उपभोक्ताले जिउदो कुखुराहरु घरमा लगेर काट्ने बानी हटाउने
 धेरै संख्यामा पन्छीहरु मरेको देखेमा वा थाहा पाएमा तुरुन्तै नजिकको भेटनरीमा खबर गर्दिने



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell