PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

लुक्नु र देखिनुको कथा : अच्युत घिमिरे 'बुलबुल'को रेडियो यात्रा



स्वेच्छा राउत

लुक्नु र देखिनुको कथा : अच्युत घिमिरे 'बुलबुल'को रेडियो यात्रा

काठमाडौं : उज्यालो ९० नेटवर्कको रात्रि प्रस्तुति 'बुलबुल' लिएर आज पनि उत्पादन साथी र म प्रस्तोता अच्युत घिमिरे उपस्थित भएका छौं।
 
शुभसन्ध्या, शुभसमय, शुभपल, शुभक्षण, शुभरात्रि। उज्यालो ९० नेटवर्कको रात्रि प्रस्तुति बुलबुलमा...
 
यो आवाजलाई यति धेरैले प्रेम गरे कि अच्युत घिमिरे बुलबुल अहिले एउटा कुरामा विश्वस्त छन्। भन्छन्, 'मलाई एकसरो लुगा मात्र लगाइदिएर नेपाली समुदाय रहेको संसारको कुनै पनि कुनामा लगेर छोडिदिँदा अलपत्र पर्दिनँ।' आफ्ना हजारौं साहित्यप्रेमी शुभचिन्तकहरुको प्रेममा अच्युतलाई यत्ति विश्वास पक्कै छ।
 
यो विश्वास उनको आवाजले जितेको विश्वास हो।
 
कथा, उपन्यास, गजल र कविता वाचन गरेरै हजारौं शुभचिन्तक कमाएका अच्युत सुनाउँछन्, '१८ वर्षको रेडियो यात्रामा मेरो आवाजलाई प्रेम गर्ने स्रोता र सन्तुष्टि बाहेक केही कमाएको छैन मैले।' केही बेर सम्झन्छन् र थप्छन्, 'अँ दुई वटा मोटरसाइकल पनि हो। मैले यति नथप्दा केही कमाएकै छैन भनिनु ठिक सुनिँदैन।'
 
अच्युतले नदेखिएरै प्रेम पाए। उनी मन पराइए। उनलाई हजारौंको भिडले माया गर्‍यो। पछ्यायो। जसको प्रमाण छ, हजारौं फ्यान फलोइङ रहेका उनको फेसबुक र ट्वीटर अकाउन्ट। सायद ती फलोअर्सले पनि उनको अनुहार वा आवरणलाई महत्वपूर्ण ठानेनन्। उनको वाचन मन पराए, प्रस्तुतिलाई केन्द्रमा राखे। त्यसैले पनि उनी बाहिर देखिनु र नदेखिनुले उनको प्रस्तुतिमा धेरै असर गरेन। 
 

किन सार्वजनिक हुन चाहेनन्?

केले जगाइदियो त अच्युतमा लुक्ने हुटहुटी?
 
'प्रस्तोताले आवाजबाट प्रभाव जमाउन सक्नुपर्छ किनकि उसको काम बोल्ने हो। अनुहार नदेखाउँदा केही फरक पर्दैन।' यो कुराले उनको मनमा जरा गाड्न भने केही घटनाले असर गर्‍यो।
 
एउटा प्रतिनिधि घटना जसका कारण उनी देखिन छोडे।
 
सन् २००८ ताका भर्खरभर्खर फेसबुक अकाउन्ट खोल्नेहरुको सङ्ख्या थपिँदै थियो। त्यसैमध्ये एक बने अच्युत पनि। प्रोफाइलमा चिटिक्क फोटो सहित फेसबुक खोले। रेडियोमा साहित्यिक कार्यक्रम प्रस्तोताको छाप बनाइसकेका उनले फेसबुकमा पनि साहित्यिक सर्कलकै साथीहरुसँग जोडिए। जसमा धेरै परिचित थिए केही अपरिचित पनि।
 
अच्युतले पुरानो कुरा सम्झिँदै सुनाए, 'एक अपरिचित महिला मित्रसँग कुरा हुन्थ्यो। हामी प्राय: साहित्यकै कुरालाई गफगाफको विषय बनाउँथ्यौं। केही समयको कुराकानीपछि मैले उहाँसँग आफ्नो फोटो राख्न अनुरोध गरेँ।'
 
उनलाई लागेको थियो सो अनुरोधलाई उनले सामान्य रुपमा लेलिन्। तर त्यसो भएन। उनी रिसाइन् वा उनलाई अच्युतको कुरा मन परेन।
 
घिमिरे सम्झन्छन्, 'भनिन्, तपाईं र मेरो बौद्धिक मित्रता हो। साहित्यका कारण हामी साथी भयौं। अनुहार नदेखेरै साहित्यका थुप्रै कुरा गर्‍यौं। अब यहाँ तपाईंले म कस्तो देखिन्छु जान्न किन आवश्यक छ? तपाईंले मसँग बिहे गर्ने हो र?'
 
अच्युतलाई उनको प्रश्नवाचक जवाफ असामान्य लाग्यो। अनुहार देखाउने होडबाजीमा धेरै थिए। त्यो भिडमा उनी पनि। 'यो घटनाले भने ममा केही हदको असर गर्‍यो। म रेडियोकर्मी जो आवाज र नामले नै परिचित छु। यो अवस्थामा मेरा स्रोताका लागि मेरो आवरण पक्कै प्राथमिकतामा पर्दैन भन्ने भयो', आफूले लुकेर आवाज प्रवाह गर्ने निर्णय गरेको क्षण यसरी सुनाउँछन् उनी।
 
अच्युत बाहिर नदेखिनुको अर्थ सामाजिक सञ्जालमा फोटो नराख्नुमै सीमित थिएन। उनी सार्वजनिक सभासमारोहमा देखिन छोडे। जहाँ पुग्थे त्यहाँ भिडदेखि पर हुन्थे वा आफ्नो परिचय हत्तपत्त खुलाउँदैन थिए। जहाँ परिचय दिन्थे त्यहाँ फोटो खिच्न खिचाउन अघि सरेनन्। उनी यस्तैयस्तै गरी आवाजमै पहिचान स्थापित गराउन लागे। र, अनुहार लुकाएरै नाम बिकाउन सफल भए।
 
'स्रोताले अच्युत घिमिरेको आकृति आआफ्नै कल्पना अनुरुप कोरुन् भन्ने भयो,' आफूबारे स्रोताले धारणा बनाउन् तर त्यहाँ आफ्नो रुपले अनावश्यक ठाउँ नबनाओस् भन्ने थियो उनलाई, 'किनकि मेरो काम रेडियोमा बोल्ने हो र बोल्नेहरुको स्वरले जति ठाउँ अरु कुराले लिनु हुन्न भन्ने लाग्यो।' 


फोन र मेसेजको ओइरो

अच्युतले कमाएको प्रेम, सम्मान, साथ र प्रशंसक कार्यक्रमको लोकप्रियताले छर्लङ्ग पार्छ। उनलाई पत्र र मेसेज, फोन र उपहारहरु आइरहन्छन्।
 
कसैलाई नदेखी/नभेटी प्रेम हुँदैन भन्ने पक्षमा उनी छैनन्। किनकि उनको आवाजलाई मात्र पनि हजारौंको प्रेम मिलेको छ। स्रोता रिझाउन र माया पाउन उनले म यस्तो छु भन्ने प्रस्ट्याउन आवश्यक भएन।
 
प्रेम पत्र पनि आए? भन्ने प्रश्नमा उनी मुस्कुराउँदै एउटा प्रसङ्ग जोड्छन्, 'एचबिसी एफएममै थिएँ। ललितपुरबाट एक महिला मित्रले भाग १, भाग २ यस्तै गरी क्रमैसँग पत्र लेख्नुहुन्थ्यो। उहाँले सिधै आई लभ यु लेख्नु भएन तर म त्यो भाव बुझ्थेँ। उहाँको शब्दहरुले प्रेम व्यक्त गरेका हुन्थे।'
 
अच्युतलाई लाग्छ- त्यो सब उनको आवाजले पाएको प्रेम हो। उनीसँग ती पत्रको केही अंक अझै छन्। भन्छन्, 'स्रोताको यस्तै प्रेम र प्रशंसाको सधैं सम्मान गर्छु।'
 
स्रोता र प्रशंसक कति छन् र तिनको साथ र सहयोगको आवश्यकता कति छ भन्ने कुरा जिल्ला जिल्ला भ्रमणमा जाँदा बुझेको बताउँछन् उनी। 'जुन सम्मान गाउँगाउँ पुग्दा पाएँ, पाउँदै आएको छु त्यसले धेरै पटक मेरो आँखामा आँसु भरिदिएको छ', स्रोता कमाउनुको खुसी उनी आँखामा व्यक्त गर्छन्।
 
उनका कार्यक्रम त सुरुदेखि नै लोकप्रिय बने। किनकि २०५६ सालतिर रेडियोमा कथा वाचन नयाँ प्रयोग थियो। साहित्यप्रेमीको जमात धेरै भएकाले उनको कार्यक्रम रुचाइयो। कार्यक्रम जस्तै लोकप्रिय आफू पनि हुन्छु भन्ने त थिएन। तर उनको आवाजको जादु धेरैमा फैलियो। जसका कारण सुरुसुरुमा नदेखिनका लागि उनलाई धेरै अप्ठेरो भयो।
 
'फोटो नखिच्नु, कार्यक्रमहरुमा सरिक नहुनु यी कुरा नमिठो सुनिए तर नजिककाले बुझिदिए। सहयोग भयो,' उनी भन्छन्।
 
पछि आम स्रोताले पनि बुझे। कुनै ठाउँमा रेडियो सम्बन्धी तालिम वा कार्यक्रमका लागि पुग्दा सयौंले फोटो खिचे। तर सार्वजनिक गरिदिएनन्। किनकि उनको स्वरलाई जति नै माया उनका आग्रहका शब्दलाई गर्ने कैयौं स्रोता थिए। 
 
हजारौं स्रोताको दिमागमा अच्युतको फरकफरक तस्बिर बने होलान्। उनलाई हेर्न चाहनेको पनि छुट्टै भिड रह्यो। जसले सधैं फोटो सार्वजनिक गर्न आग्रह गरे।
 
'आफू सधैं लुक्छु भन्ने त थिएन तर कहिले देखिन्छु पनि निश्चित थिएन,' उनी भन्छन्।
 
आजको ठिक पाँच दिनअघि उनले स्रोताको आफूलाई हेर्ने इच्छा पूरा गरिदिए। आफ्नो तर्फबाट। किनकि गत मङ्सिरमा उनका केही तस्बिर नचाहाँदा नचाहँदै सार्वजनिक भए। बर्दियामा गजल सङ्ग्रह 'अचानोमा दिल' विमोचनमा पुग्दा उनलाई विशिष्ट अतिथि बनाइयो। प्रमुख अतिथि थिए पुष्प अधिकारी। मङ्सिर ४ गतेको सो कार्यक्रम सकेर काठमाडौं फर्केको दिन पुष्प अधिकारीको फेसबुकमा आफ्नो फोटो देख्दा उनी झसङ्ग भए।
 
'सायद पुष्प सरलाई मैले अनुहार लुकाउँछु भन्ने थाहा थिएन। प्रेमपूर्वक राख्नु भएको फोटो हटाउनु भन्न सकिनँ', फोटो सार्वजनिक भएपछिको अर्को घटना सम्झन्छन्, 'उज्यालोकै एक टेक्निसियन भाइले पनि जबरजस्ती फोटो खिचेर फेसबुकमा हालिहाल्नु भयो। मैले नराख्नु भन्न सकिनँ।'
 
बुलबुल प्रकाशनको प्रकाशक समेत रहेका अच्युत रेडियोकर्मको अनुभव सँगालेको किताब तयार गर्दैछन्। उनलाई लागेको थियो आफ्नो किताबसँगै अनुहार सार्वजनिक गर्छु। तर किताब त उनी लेख्ने क्रममै छन्। फोटो भने अब फेसबुक र ट्वीटरमा देख्न सकिन्छ।
 
फोटो सार्वजनिक गर्नुबारे उनको धारणा छ, 'धैरै लामो समयसम्म पनि एउटै अडान लिनु राम्रो हुँदैन भन्ने भयो। फेरि अन्तबाट पनि त फाट्टफुट्ट मेरो फोटो सार्वजनिक भएकै थिए।' अनुहार नदेखाउने अडान आडम्बर बन्नुअघि आफू देखिएको उनी तर्क गर्छन्।
 
'म त दङ्ग छु प्रतिक्रियाहरु पढ्न। कतिले सोचेजस्तो नभएको बताए तर धेरै स्रोता र साथीहरुमा मलाई देख्नुको खुसी छ,' अब भने उनी 'भूमिगत' हुन चाहेनन्।
 

नदेखिएका अच्युतको नदेखिएको रोल

चिन्ने धेरैले अच्युत घिमिरेलाई कार्यक्रम प्रस्तोताको रुपमा मात्र चिन्छन्। तर कार्यक्रम निर्माण र प्रस्तुति उनको रेडियो कर्ममा देखिने एउटा रोल हो।
 
उनको अर्को रोल हो व्यवस्थापन। २०५६ सालमा एचबिसी एफएममा काम सुरु गरे। त्यसको ठिक दुई वर्षपछि नै उनले रेडियो म्यानेजमेन्ट सम्हाल्ने जिम्मा पाए। २४ वर्षको ठिटोलाई स्टेशन सम्हाल्ने जिम्मा सजिलो पक्कै थिएन। 'तर ममा लगन र कुशलतापूर्ण काम लगाउने खुबी थियो।'
 
त्यस समय कार्यक्रम निर्माणदेखि प्रस्तोता नियुक्तिसम्मको जिम्मेवारी सम्झन्छन् उनी।
 
२०६३ सालसम्म उनले एचबिसीमा रेडियो वाचन र बुलबुलाई एउटा उचाइ दिए। सिक्दै काम गर्दै एफएमको व्यवस्थापन पनि सम्हाले।
 
'एचबिसीमा मलाई खारिन प्रेरित गर्ने दुई व्यक्तिलाई म मेरो सफलताको श्रेय दिन्छु,' उनले सम्झिए, 'एक एचबिसीको प्रोजेक्ट म्यानेजर इटालियन नागरिक क्लाउरियो रक्की। जसको जाँगर र व्यवस्थापन कुशलले सधैं प्रभावित गर्‍यो। दोस्रो व्यक्ति हरिशरण लामिछाने, उहाँबाट मैले कार्यक्रम प्रस्तुति र प्रोडक्शनको धैरै काम सिकेँ।'
 
२०६५ देखि उज्यालो रेडियो नेटवर्कमा आबद्ध उनले यहाँ पनि व्यवस्थापनको जिम्मा पाए। सन् २०१४ देखि प्रोगाम तथा न्युज व्यवस्थापकका रुपमा सक्रिय रुपमा काम गरिरहेका उनी उज्यालोका सिइओ गोपाल गुरागाईंबाट पनि आफू प्रभावित भएको बताउँछन्, 'उहाँमा संस्था व्यवस्थापनको यस्तो खुबी छ जसका कारण आज उज्यालो सफल छ। मैले व्यवस्थापन उहाँबाट सिक्ने प्रेरणा लिने मौका पाएँ।'
 
प्रस्तोता र व्यवस्थापक दुई भूमिकालाई एकैपटक सहज ढङ्गमा अगाडि बढाउन गाह्रो हुने सुनाउँछन् उनी। 'तर असम्भव छैन। मैले काम गरेका यिनै संस्थाले दिएको कल्चर र जिम्मेवारीले सिकायो मलाई,' आत्मविश्वासी अच्युतले सुनाए।
 
रेडियोका स्रोताको ढुकढुकी बनेका उनी व्यवस्थित रेडियो सञ्चालनलाई प्रेरित गर्न चाहन्छन्। जनशक्ति र आर्थिक लगानी उचित गर्न सके मात्र रेडियो व्यावसायिक बन्नेमा विश्वास गर्छन्।
 
रेडियो कर्मलाई जीवनसँग जोडेका अच्युत अब नेपालमा रेडियो कल्चरको विकास चाहन्छन्। सरल रहेर पनि राम्रो गर्न सकिन्छ राम्रो गरे धेरैको साथ पाइन्छ भन्ने कुराको उदाहरण हुन्।
 
अच्युत अब आवाज मात्र रहेनन्। तर रेडियोले दिएको ठाउँ र आफ्नो आवाजले दिएको पहिचानमा देखिनु नदेखिनुले फरक नपार्नेमा ढुक्क छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell