PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​तेजाब आक्रमणकी पीडित संगीता भन्छिन् : प्रहरीको व्यवहारले गर्दा मलाई बाँच्ने मन छैन



​तेजाब आक्रमणकी पीडित संगीता भन्छिन् : प्रहरीको व्यवहारले गर्दा मलाई बाँच्ने मन छैन

  • शुभक महतो ‌-
काठमाडौं : काठमाडौँको झोछेँस्थित ट्युसन सेन्टरमा तीन साताअघि तेजाब प्रहारबाट गम्भीर घाइते भई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार गराइरहेकी संगीता मगरले प्रहरी आफूलाई सोधपूछको नाममा यातना दिइरहेको गुनासो गरेकी छिन्। 

शुक्रबार संगीतालाई भेट्न अस्पतालको शैय्यामा पुग्दा उनले आफूलाई प्रहरीले जबर्जस्ती तिम्रो आफ्नै मानिसहरुले तेजाब प्रहार गरी घाइते बनाएको हो, त्यो मानिस को हो ? त्यसको नाम भन भन्दै दबाब दिइरहेको गुनासो गरिन्। 

आँखाभरी आँसु पार्दै संगीताले भनिन्, 'प्रहरीको यस्तो व्यवहारले मलाई बाँच्ने मन छैन।'

आफूले प्रहरीलाई सबै कुरा बताइसकेको भए पनि अपराधी समात्नुको सट्टा आफूलाई नै पटक-पटक घुमाइफिराई त्यही कुरा गरेको कारणले धेरै तनाव भएको प्रतिक्रिया उनले दिइन्। 

उनले रुँदै दुखेसो पोखिन्, 'जसरी बाहिर मेरो बारेमा कुरा आएको छ, त्यस्तो होइन। मेरो कुनै फेसबुक एकाउन्ट छैन। म मोबाइल बोक्दिनँ र मेरो कुनै केटासँग प्रेम पनि छैन।' 

'म एक सामान्य परिवारको मानिस हुँ, पढेर एउटा सफल डाक्टर बन्ने सपना सजाएकी थिएँ तर आज सबै चकनाचुर भयो तेजाब प्रहारबाट। सरकारले त शैय्यामै बसेर एसएलसी परीक्षा दिनु भनेको छ। तर म आफैले लेख्न सक्ने अवस्थामा छैन। सक्नुहुन्छ भने मेरो लागि एक जना मैले भनेको कुरा सुनेर एसएलसी परीक्षामा लेखिदिने मानिसको व्यवस्था गरिदिनू, उनले याचना गरिन्।
 
'गृहमन्त्रीले पीडितको परिवारले अनुसन्धानका लागि सहयोग गरेको छैन भन्नुभयो रे। त्यस्तो होइन, हामीले प्रहरीलाई सबै कुरा भनिसक्यौँ। तर पनि वास्ता गरेको छैन। मैले प्रहरीलाई आफूलाई पिछा गर्ने मानिसको बारेमा पनि जानकारी गराएको तर प्रहरीले त्यसलाई आजसम्म पक्राउ गरेको छैन। उल्टै मलाई गाली गर्छन् प्रहरीले कि यी सबै कुराको दोषी तिमी नै हो भनेर' संगीताले भनिन्, 'म बस्दै आएको घरको माथिल्लो तल्लाको एक युवकले मलाई पिछा गर्थे तर प्रहरी त्यसको बारेमा अनुसन्धान नै गर्न मान्दैन।'

शुक्रबारमात्रै महानगरीय प्रहरी आयुक्तको कार्यालयले पत्रकार सम्मेलन गरी अढाइ सय जनासँग सोधपूछ गर्दा पनि अहिलेसम्मको अवस्था शून्य भएको जानकारी दिएको थियो। एआइजी विज्ञानराज शर्माले पीडित तीन छात्राले अलग अलग बयान दिएको कारण अन्यौल उत्पन्न भएको बताएका थिए। 

यसअघि संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिमा गृहमन्त्री वामदेव गौतमले पीडितले प्रस्ट बयान नदिँदा अपराधीसम्म पुग्न समस्या भएको बताउँदै परिवारले असहयोग गरेको आरोप लगाएका थिए। 

आक्रमणमा परेकी छात्रामध्ये एक सीमा बस्नेतले प्रधानमन्त्री सुशील कोइरालाका नाममा मार्मिक पत्र लेखेपछि उनले अस्पतालको शैय्याबाटै एसएलसी दिने व्यवस्था मिलाउन तथा उपचार खर्च राज्यले व्यहोर्ने लगायतका निर्देशन दिएका थिए। 

(महतो एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार हुन्)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell